रोल्पामा जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूसँग एचपिभी खोप कार्यक्रमबारे अभिमुखीकरण गरिएको छ । स्वास्थ्य कार्यालयद्वारा रोल्पाको लिबाङमा आयोजित कार्यक्रममा महिलाहरूको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोपका विषयमा जानकारी दिइएको थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख माधव रावतका अनुसार रोल्पामा २ हजार ६४३ जना किशोरीहरूलाई यसपटक खोप लगाउने कार्यक्रम छ। जसमा सामुदायिकतर्फ १६७ विद्यालय र संस्थागततर्फ १० विद्यालय गरी १७७ विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिनेछ। रोल्पामा आगामी माघ २५ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने रावतले जानकारी दिए ।
विद्यालय जानेको हकमा कक्षा ६ मा अध्ययनरत र विद्यालय नजानेको हकमा १० वर्षका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागिएको हो । जसअन्तर्गत सुनछहरी गाउँपालिकामा १८८, थबाङ गाउँपालिकामा ११०, परिवर्तन गाउँपालिकामा २३९, गंगादेव गाउँपालिकामा २९८, माडीमा १८०, त्रिवेणी गाउँपालिकामा २९३ र रोल्पा नगरपालिकामा ३५३ किशोरीलाई खोप लगाइँदै छ। यस्तै, रुन्टिगढी गाउँपालिकामा २५४, सुनील स्मृति गाउँपालिकामा ३५३ र लुङ्ग्री गाउँपालिकामा ३६२ जना किशोरीलाई खोप लगाइनेछ ।
किशोरीहरूका लागि एकपटक अनिवार्य लगाउनुपर्ने भएकाले सबैले यस अभियानलाई सफल बनाउन सहयोग गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले महिलाहरूमा हुने पाठेघर तथा स्तन क्यान्सर रोगविरुद्धको यो खोप अनिवार्य लगाउनुपर्ने बताइन्। ‘हाम्रो अवस्थामा यस्ता खोप थाहै थिएन, अहिलेका किशोरीहरूका लागि यो निकै प्रभावकारी कार्यक्रम हो,’ आचार्यले भनिन्, ‘यसलाई सफल बनाउन सबै किसिमका नकारात्मक भ्रमहरू चिर्दै आ–आफ्नो ठाउँबाट लागि परौँ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका डिल्ली केसीले गरेका थिए ।