- चुनावमा मात्र चर्चामा आउने नेपालकै विशाल बुद्धको मूर्ति
झापाको दमक नगरपालिका– ३ हम्सेदुम्सेमा बनाउने भनिएको नेपालकै विशाल बुद्धको मूर्ति चुनावी चर्चा मात्र बन्ने गरेको छ । १७ अर्ब लागतमा निर्माण गर्ने गरी एक दशक पहिले अघि सारिएको आयोजनामा एक करोड खर्च भइसकेको छ । तर, डिपिआर निर्माणलगायतका आधारभूत काम भए पनि त्यसपछि आयोजना अलपत्र छ ।
सरकारले ०७२/७३ को नीति तथा कार्यक्रममा दमकमा नेपालकै विशाल बुद्धको मूर्ति निर्माण गर्ने योजना अघि सारेको थियो । कांग्रेस नेतृत्वमा रहेको एमालेसहितको गठबन्धन सरकारले एमाले अध्यक्ष केपी ओलीको जोडबलमा उनकै गृहनगरमा देशकै विशाल बुद्धको मूर्ति बनाउने योजना ल्याएपछि सधैँ चुनावी चर्चा बन्दै आएको छ ।
हम्सेदुम्से सामुदायिक वन क्षेत्रको ३६ बिघा क्षेत्रफलमा बुद्धको मूर्ति निर्माण गर्ने तयारी थालियो । जसका लागि स्थानीयबाट सात बिघा जग्गा दमक नगरपालिकाको नाममा समेत आयो । हम्सेदुम्से सामुदायिक वन क्षेत्रको २० बिघा जग्गा भोगाधिकार दिन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति पनि दियो । तर, प्रक्रिया अघि नबढ्दा भोगाधिकार भने आउन सकेन ।
१६५ मिटर अग्लो विराट बुद्ध प्रतिमा बनाउन आर्थिक वर्ष ०७३/७४ मा संघ सरकार र दमक नगरपालिकाको संयुक्त लागतमा ३६ लाख ४५ हजारमा डिपिआरसमेत तयार भयो । बुद्धको मूर्तिसहितको पार्क निर्माणका लागि १७ अर्ब ९५ करोड ९५ लाख ६३ हजार २३७ रुपैयाँ लागत लाग्ने गरी डिपिआर तयार भयो । जग्गा भोगाधिकारको प्रक्रिया नै पूरा नभई आर्थिक वर्ष ०७६/७७ मा संघ सरकारको ६८ लाख ६५ हजार ५०४ रुपैयाँ लागतमा ३१० मिटर घेराबार गर्दै वाल निर्माणको काम पनि भयो । बुद्धको मूर्तिको नाममा हालसम्म डिपिआर र घेराबाराका लागि एक करोड पाँच लाख १० हजार ५०४ रुपैयाँ खर्च भइसकेको दमक नगरपालिकाले जनाएको छ । तर, यो योजना अहिलेसम्म अलपत्र बन्न पुगेको छ ।
०७४ र ०७९ को निर्वाचनमा ओलीले यो योजनालाई नियमित चुनावी नारा बनाएका थिए । यसपटक भने ओलीको घोषणापत्र तयार भएको छैन । तर, निर्वाचन आएसँगै एमाले नेताहरूले फेरि यो बुद्धको मूर्तिलाई चर्चामा ल्याएका छन् । खुला ध्यान केन्द्र, संग्रहालय, पुस्तकालय, सभाकक्ष, उद्यानसहितको नेपालकै विशाल बुद्धको मूर्ति बनाउने योजना अहिले अलपत्र छ । यसअघिका हरेक निर्वाचनमा उम्मेदवारले यो योजना पूरा गर्ने भनेर भोट मागेको बुद्धको मूर्ति बन्न ठाउँअगाडिकी सुकुमवासी कञ्चन सार्कीले बताइन् । तर, एक दशकदेखि चर्चामा रहे पनि काम नहुँदा अलपत्र बनेको उनको भनाइ छ । ‘चुनावका वेला बुद्धको मूर्ति बनेपछि यहाँको ठाउँ नै परिवर्तन हुन्छ, विश्वका मान्छे यहाँ आउँदा स्थानीयले रोजगारी पाउँछन् भनेर नेता आउँछन्,’ उनले भनिन्, ‘यसरी चर्चा भएको पनि दश वर्ष भयो, तर अहिलेसम्म केही भएन । योे वाल लगाएर हात्तीचाहिँ सीधै आउँदैन । बाँकी केही भएन ।’
बुद्धको मूर्ति बनाउने भनिएको स्थाननजिकै ऐलानी जग्गामा बसोबास गर्ने अम्बिका तामाङलाई पनि अब यो योजना बन्ने आशा छैन । बुद्धको मूर्ति बनाउने योजना चुनावी नाराबाहेक केही पनि नभएको उनको भनाइ छ । ‘बुद्धको मूर्ति बनाउँछौँ भनेको त धेरै वर्ष भयो । तर, अहिलेसम्म बनेको छैन । चुनावमा त बनाउँछौँ भन्छन्, त्यसपछि फर्केर आउँदैनन् । जग्गा किनबेच भयो । जग्गा भएकाले केही राम्रो भाउ पाए । त्यहाँभन्दा केही भएन,’ उनले भनिन् ।
दमककी उपमेयर भट्टराई भन्छिन्- स्रोतको सुनिश्चितता नहुँदा आयोजना अघि बढेन
सरकारको नीति तथा कार्यक्रममा परेर योजना अघि बढे पनि स्रोत सुनिश्चितता नहुँदा आयोजना अघि बढाउन नसकिएको दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराईले बताइन् । संघीय सरकारले बजेट विनियोजन नगर्दा योजना अलपत्र बनेको उनको भनाइ छ । यो योजना दमक नगरपालिकाले अघि बढाउन नसक्ने उनी बताउँछिन् ।
‘चुनावी नाराले मात्र र हल्लाखल्ला गरेर मात्र योजना सम्पन्न हुँदैन, त्यसका लागि बजेट आउनुपर्छ । निर्वाचनका वेला चर्चा हुन्छ, तर बजेट आउँदैन । यस्ता योजना चुनावी नारा मात्र हुनुहुँदैन,’ भट्टराईले भनिन्, ‘दमकमा अन्य ठुला आयोजना पनि छन् । तर, निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन सकेको छैन । अब यस्ता पूर्वाधारभन्दा पनि सरकारले मानव संसाधनको विकासमा जोड दिनुपर्छ । शिक्षा–स्वास्थ्यमा जोड दिनुपर्छ । बुद्धको मूर्ति बनाउने योजना स्वास्थ्यमा ल्याउन हो भने झापाका नागरिक बाहिर उपचार गर्न जानुपर्दैन । शिक्षामा लगानी गर्दा चेतनास्तरको विकास हुन्छ ।’