- विगतमा नुरी अल–मलिकी आठ वर्ष इराकका प्रधानमन्त्री हुँदा देश भ्रष्टाचार, अतिवाद र परनिर्भरतामा डुबेको थियो
इराकमा एक खतरनाक इतिहास दोहोर्याउने जोखिम बढेको छ । नुरी अल–मलिकी प्रधानमन्त्रीको पदको एकदम नजिक पुगेका छन् । मलिकी यसअघि सन् २००६–२०१४ मा देशको प्रधानमन्त्री हुँदा देश चरम भ्रष्टाचार, अधिनायकवादी प्रवृत्ति, साम्प्रदायिक दमनमा डुबेको थियो । त्यस्तै, त्यतिखेर इराकमाथि इरानको प्रभाव सबैभन्दा चरमचुलीमा पुगेको थियो ।
खासमा अल–मलिकीको विरासत नै विषाक्त छ, जसको शासन अक्षमताले आइएसआइएसको उदयलाई सहज बनाएको थियो । अहिले उनी फेरि प्रधानमन्त्री पदको सबैभन्दा बलियो प्रतिस्पर्धी भइरहँदा इराकले केही वर्षयता हासिल गरेको उपलब्धि गुम्ने जोखिम बढेको छ । भर्खरै इराकको सिया दलहरूको मुख्य गठबन्धनले औपचारिक रूपमा नुरी अल–मलिकीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मनोनीत गरेको छ । कोर्डिनेसन फ्रेमवर्क’ नामको सिया दलहरूको त्यस गठबन्धनको अहिले संसद्मा बहुमत छ । गठबन्धनले यी पूर्वप्रधानमन्त्रको ‘राजनीतिक तथा शासकीय अनुभवलाई हेरेर’ उम्मेदवारका रूपमा अघि सारेको बताएको छ । तर, उनको सम्भावित फिर्तीले इराक र विदेशमा भने चिन्ता बढाएको छ । इराकभित्रको एक अग्रणी सुन्नी गठबन्धनले ‘विगतमा स्थिरता वा सार्वजनिक विश्वास हासिल गर्न असफल’ भएका नेतालाई ‘पुन: प्रयोग’ गर्न नहुने चेतावनी दिएको छ । हुन पनि मलिकीको विगतले साम्प्रदायिक कलहलाई बढावा दिएको र आइएसलाई इराकको ठुलो भागमा कब्जा गर्नबाट रोक्न असफल भएको देखाउँछ ।
मलिकीको आठ वर्षको शासनकालमा इराकका संस्थाहरूमा खोक्रो हुने गरी भ्रष्टाचार र नातावाद फैलिएको थियो । एक अनुमानअनुसार, सन् २००३ पछिका १५ वर्षमा भ्रष्टाचारका कारण इराकको सरकारी कोषले ३२० अर्ब डलरको विशाल रकम गुमायो । मलिकी त्यही अवधिमा आठ वर्ष सत्तामा थिए । उनी नेतृत्वको सरकारले भ्रष्टाचारलाई रोक्नुको साटो संरक्षण प्रदान गरेको थियो । यसै अवधिमा भएको एउटा कुख्यात भ्रष्टाचार काण्डको उदाहरणका रूपमा लिइन्छ– इराकी सेनामा ‘भूत सैनिक’को प्रकरण । त्यस प्रकरणमा उच्च सैन्य अधिकारीले आफ्नो तलब भर्नका लागि हुँदै नभएका ५० हजारभन्दा बढी काल्पनिक सेनालाई तलब खुवाएका थिए । सन् २०१४ सम्ममा, यस र्याकेटले रक्षा बजेटमा प्रतिवर्ष अनुमानित ३८ करोड डलर व्ययभार पुर्याइरहेको थियो ।
यसबिच, मलिकीको भित्री घेरामा रहेकाहरू भने असाधारण रूपमा धनी भइरहेका थिए । तिनले देशमा लुटेको सम्पत्ति सेल कम्पनी तथा अफसोर खातामा स्थानान्तरण गर्दै विदेशमा महँगो सम्पत्ति किन्न प्रयोग गरिरहेका थिए, त्यो पनि शून्य जवाफदेहिताका साथ । मलिकीको शासनकालमा देशको न्यायपालिकाको स्वतन्त्रता लगभग नष्ट भएको थियो । मलिकीको शासनको अर्को विशेषता इरानप्रतिको चरम अनुराग थियो । उनले बग्दादलाई तेहरानको प्रभाव क्षेत्र बनाइदिएका थिए । उनले इरान समर्थित मिलिसियालाई देशको सुरक्षा बलमा समायोजन गर्ने अनुमति दिए । जनरल कासिम सुलेमानीजस्ता इरानी सल्लाहकारको इराकभित्र खुला प्रभाव थियो । तिनले इराकलाई इरानको कुनै प्रान्तजस्तो व्यवहार गर्ने गर्थे । यसरी मलिकीको कार्यकालले इराकलाई इरानको छत्रछायामा राख्दा देशभित्र साम्प्रदायिक ध्रुवीकरण बढ्न थाल्यो । इराक बाँकी अरब विश्वबाट धेरै हदसम्म अलग हुन पुग्यो ।
उनले बहिष्कार नीति र दमनमार्फत देशका सुन्नी अरब जनसंख्यालाई सीमान्तकृत बनाएका थिए । सुन्नी समुदाय मलिकीको यस भेदभावपूर्ण व्यवहारविरुद्ध सन् २०१२–२०१३ मा शान्तिपूर्ण विरोधमा उत्रिए । शान्तिपूर्ण भेलामाथि मलिकीले सेना लगाएर निर्मम बल प्रयोग गरे । एक कुख्यात घटनामा अप्रिल २०१३ इराकी सेनाले हवाइजा भन्ने ठाउँमा धर्नामा बसेका ५० भन्दा बढी सुन्नी प्रदर्शनकारीलाई मारेका थिए । यस नरसंहारले धेरै सुन्नीमा निराशा बढायो । कतिपय युवा सुन्नीबहुल अतिवादी समूह आइएसमा सामेल भए ।
सन् २०१४ को मध्यसम्म पुग्दा आइएस मोसुल कब्जा गर्ने अवस्थामा पुगिसकेका थिए । भ्रष्टाचार र साम्प्रदायिकताको भावनाले खोक्रो बनेको इराकी सेना आइएससामु कमजोर देखियो । त्यतिवेला इराकका प्रमुख सिया आध्यात्मिक नेता अयातोल्लाह अली अल–सिस्तानीले समेत आइएसको वृद्धिका लागि मलिकीको ‘भ्रष्ट र अधिनायकवादी’ शासन मुख्य जिम्मेवार रहेको आरोप लगाएका थिए । त्यसपछि आइएसविरुद्ध सन् २०१४ देखि २०१७ सम्म रक्तपातपूर्ण युद्ध भयो । दसौँ हजारको ज्यान गयो । मोसुलजस्ता सहर ध्वस्त भए । मलिकीको दमनकारी, विभाजनकारी शासन नहुँदो हो त सायद यी दुष्परिणाम देखिने नै थिएनन् ।
मलिकीको इरानप्रतिको निर्लज्ज बफादारीलाई ध्यान दिँदा उनको आगामी शासन इरानी कट्टरपन्थीका लागि सुखद समाचार हुनेछ । यदि अहिले इरानमा भइरहेका आन्दोलनले त्यहाँको धार्मिक शासनलाई ढाल्यो भने मलिकी आफ्ना ती भगुवा अधिकारीका आश्रयदाता बन्न सक्छन् । यसले इराकी माटोमा इरानको अशान्ति आयात हुनेछ । त्यस अवस्थामा इराकमा पनि इस्लामिक गणतन्त्रको निर्वासित सरकार बस्न सक्छ । उल्लेखनीय रूपमा अहिले नै सयौँ मलिकीनजिकका इराकी मिलिसिया इरानको जारी प्रदर्शनमाथि दमन गर्न इरानमा परिचालित छन् । इराक आज एक कमजोर स्थितिमा उभिएको छ । वर्षौंको द्वन्द्वपछि पुनर्निर्माण प्रयास सुरु हुन थालेका छन् । यस्तोमा कुशासन फर्कियो भने सबै सुखद प्रयास भताभुंग हुनेछ । नुरी अल–मलिकीको पुनरागमनले इराकमा फेरि भ्रष्टाचार, साम्प्रदायिकताको भावना र इरानमाथिको परनिर्भरताको दुश्चक्र दोहोरिनेछ ।
नेसनल इन्ट्रेस्टमा प्रकाशित मध्यपूर्वका विश्लेषक अब्दुल्लाह हायकको आलेख ।