बागमती स्कुलमा १०औँ विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

बागमती बोर्डिङ सेकेन्डरी स्कुलमा १०औँ विज्ञान तथा प्रविधि प्रदर्शनी तथा ‘फन कार्निभल’ सम्पन्न भएको छ। सो प्रदर्शनीको उद्घाटन नेसनल कार्डियाक सेन्टरका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले गरेका थिए।

कार्यक्रममा बागमती बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीले तयार पारेका रोबोटिक्स, विज्ञान र प्रविधि, गणित र सामाजिक अध्ययनसँग सम्बन्धित सयभन्दा बढी परियोजना प्रदर्शन गरिएका थिए। प्रदर्शनीमा कक्षा २ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका आकर्षक परियोजना समावेश थिए। 

बागमती बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष डा. सुरेन्द्रकुमार सिटौलाले गमलामा रोपिएको बिरुवामा पानी हालेर, प्रमुख अतिथि डा. ओममूर्ति अनिलले पानसमा बत्ती बालेर र विद्यार्थीले बनाएको ड्रोन उडाएर संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो।

ड्रोनलगायत रोबो रेस, रोबो सकर, रोबो सेन्सर, इन्टरनेट अफ थिङ्स, बायोमेट्रिक स्मार्ट डोर, मेटल डिटेक्टर, हुमन वेट सर्भिस एन्ड मेडिकल रोबोट, फायर फाइटिङ, वाटर लेभल इन्डिकेटर, स्मार्ट डस्टविन, वाटर इरिगेसन सिस्टम, रेन डिटेक्सन, एग्रिकल्चरल बट, थ्रिडी प्रिन्टर, मोसन सेन्सरलगायत विभिन्न परियोजना र विद्यार्थीले नै तयार पारेका मिथिला आर्ट कार्यक्रमका आकर्षक परियोजना थिए।

यीलगायत गणितका इनोभेटिभ परियोजनाका साथै सामाजिक अध्ययनका परम्परागत औजार प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीसँगै फन कार्निभल पनि सञ्चालन गरिएको थियो। कुमाले चक्रमा आफैँले भाँडा बनाउन पाउँदा ससाना बालबालिका उत्साही थिए।

सुझावित समाचार