प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको निर्वाचन विशेष रहेको भन्दै शान्तिका लागि मतदान गर्न आग्रह गरेकी छिन्।
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्व)को हात्तीखोर पुगेकी प्रधानमन्त्रीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्क्रियामा यस्तो आग्रह गरेकी हुन्।
‘यो चुनाव नियमित चुनाव होइन। यो विशेष चुनाव हो। तपाईंहरूले शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रूपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर संकल्प गर्नुपर्ने वेला हो,’ उनले भनिन्।
दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेकी थिइन्।
उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिएकी छिन्।
सो क्रममा उनले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिइन्।