साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानमाथिको जितले नेपालको आशा जीवितै

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण
  • भुटानलाई २–१ ले हराएको नेपालले शीर्ष दुई स्थानमा रहँदै फाइनल खेल्ने आशा कायमै राखेको छ । बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतले समान तीन अंक बनाएका छन् । शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ ।

आयोजक नेपालले सोमबार साफ यू–१९ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । पोखरा रंगशालामा नेपाली महिला टोलीले भुटानमाथि २–१ को जित निकालेको हो । नेपालको जितमा संगीता बडुवाल र प्रजिता राईले एक–एक गोल गरेका थिए । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जितसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ ।

बंगलादेशले उपाधि दावेदार भारतलाई सोमबार २–० ले हराएको हो । बंगलादेश यू–१९ साफ महिलामा अपराजित छ । शीर्ष स्थानमा रहेको बंगलादेशको ६ अंक छ । नेपाल र भारतको समान ३ अंक जोडेका छन् । प्रतियोगितामा सहभागी चौथो राष्ट्र भुटान अंकविहीन छ । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल भारत र भुटानबिच खेल हुनेछ । त्यसपछि नेपालले बंगलादेश राउन्ड राबिनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालविरुद्ध भुटानको कडा टक्कर
नेपालले भुटानलाई हराउन निकै मिहिनेत गर्नुपरेको थियो । सहज प्रतिद्वन्द्वीका रूपमा रहेको भुटानले नेपाललाई अन्तिम समयसम्म कडा चुनौती तेहर्याएको थियो । जसका कारण नेपालले पहिलो तथा दोस्रो हाफमा भुटानको गल्तीमा गोल गर्न बाध्य भयो । खेलको ३६औँ मिनेटमा बडुवालले नेपाललाई १–० को अग्रता दिलाइन् । मैदानको मध्यभागमा पाएको बललाई उनले एकल प्रयासमा डिबक्सभित्रसम्म लगिन् । 

भुटानकी गोलरक्षकलाई समेत छेक्न मौका नदिई बडुवालले सहजै गोल गरिन् । खेलको ६९औँ मिनेटमा प्रजिताले नेपाललाई २–० को स्थितिमा पुर्याइन् । डिबक्सनजिकैबाट वर्षा ओलीले दिएको पासमा उनले सदुपयोग गरेकी थिइन् । दुई गोलले पछि परेको भुटानका लागि खेलको ८७औँ मिनेटमा सोनम छोडेनले गोल गरेकी थिइन् । 

प्राविधिक रूपमा नेपाल कमजोर
भुटानलाई हराए पनि नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ त्यति खुसी देखेनन् । उनले खेलाडीहरूले मैदानभित्र योजनाअनुसार प्रतिस्पर्धा गर्न नसकेको बताए । ‘मैले बाहिर जे सिकाएको थिएँ, खेलाडीहरूले मैदानभित्र योजना र रणनीतिअनुसार खेल्न सकेनन्,’ खेलपछि श्रेष्ठले भने, ‘खेलाडीले प्राविधिक रूपमा कमजोर देखियो ।’ भारतका प्रशिक्षक पामेला कोन्टले टोलीको खेल सन्तोषजनक भएको बताइन् । 

यसैगरी, बंगलादेशका प्रशिक्षक पिटरजेम्सले भारतसँगको खेलमा खेलाडीले योजनाअनुरूपै नतिजा निकालेको बताए । भुटानका प्रशिक्षक टंकमाया घलेले गोलका लागि प्रयास गर्दा सफल नभएको बताए । ‘हामीले पनि नेपालविरुद्ध गोल अवसर निकालेका थियौँ, तर खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन्,’ घलेले भने । 

सुझावित समाचार