सोमबार : १० बजेसम्मका १० मुख्य खबर

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

समानुपातिकको बन्दसूचीबाट आयोगले ७६ जनाको नाम हटायो (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि दलहरूले बुझाएका बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ।

उम्मेदवारबारे परेका उजुरी, कानुनबमोजिम तोकिएको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं दलहरूबाट प्राप्त जानकारीका आधारमा ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ।

विप्रेषण ६ महिनामा ३९ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ४.२ प्रतिशतले बढेको थियो।

२०८२ पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ थियो।

६ महिनामा सुनको मूल्य ७२.६ प्रतिशतले बढ्यो

पछिल्लो ६ महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७२.६ प्रतिशतले बढेको छ।

गत वर्षको पुस मसान्तमा प्रतिआउन्स सुनको मूल्य २६६९.५० अमेरिकी डलर रहेकोमा २०८२ पुस मसान्तमा ४६०६.५० अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्यमा भने १६.७ प्रतिशतले गिरावट देखिएको छ। राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा प्रतिब्यारेल ८२.६९ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ पुस मसान्तमा ६८.८७ अमेरिकी डलर कायम भएको हो।

विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तीन कर्मचारीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ। भन्सार कार्यालयको वैदेशिक हुलाक शाखामा कार्यरत शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक सेवा कार्यालयका नासु छविप्रसाद रिजाललाई आइतबार पक्राउ गरेको हो। 

कार्यालय सहयोगी पुडासैनीको टेबलमा रहेको १० हजार, घर्रामा रहेको ४० हजार ३५० तथा उनको साथबाट ९६ हजार गरी एक लाख ४६ हजार ४२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको आयोगले जनाएको छ। अधिकृत न्यौपानेकै मिलेमतोमा उनले घुस लिएको आयोगको दाबी छ। 

त्यस्तै, हुलाक कार्यालयका नासु रिजालको साथबाट घुसबापत लिएको २० हजार र स्रोत नखुलेको रकमसहित दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए।  कुरियर कम्पनीमार्फत घुस लिएको प्रमाण संकलन गरी आयोगले उनीहरूलाई पक्राउ गरेको हो। 

१२ वर्षमा ५० भन्दा धेरैपटक नेपाल आएका अमेरिकी नागरिक पक्राउ

१२ वर्षमा ५० भन्दा धेरैपटक नेपाल आवतजावत गरेका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। 

सन् २०१४ देखि पर्यटन, वर्किङ, व्यावसायिकलगायत विभिन्न भिसामा पटकपटक नेपाल आएका अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

ती व्यक्तिले अन्तर्राष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले ‘नेपाल इन्टरनेसनल कलेज’को नाममा वेबसाइट बनाएर नेपालका राजनीतिक नेतृत्वसमेत टोलीमा रहेको दाबी गर्दै उनीहरूको परिचयको दुरुपयोग गर्दै आएका थिए। उनले केपी ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्णबहादुरलगायत १३ जनाको परिचय दुरुपयोग गरेका छन्।

जेन–जी विद्रोह शासकीय त्रुटि र आचरणगत कमजोरीको परिणाम : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले शासकीय त्रुटि र आचरणगत कमजोरीका कारण जेन–जी विद्रोह भएको बताएकी छिन्।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो विद्रोह यस्तो ऐना हो, जसमा हामीले हाम्रा आफ्नै शासकीय त्रुटिहरू र आचरणगत कमजोरीहरु देखिरहेका छौँ।’

वर्तमान संविधानले परिकल्पना गरेको संघीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र सुशासनलगायतका लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्दा सो आन्दोलन भएको उनले प्रस्ट पारिन्।

ललितपुरमा एमालेका निर्वाचित वडासदस्य कांग्रेसमा प्रवेश

गोदावरी नगरपालिका– २ का वडासदस्य रमेश विष्टसहित तीनजना एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। एमालेका पूर्वजिल्ला सदस्यसमेत रहेका रमेश विष्ट, विसंखुनारायणका वडासदस्य प्रवीणकुमार विष्ट र रञ्जन विष्टलाई कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले पार्टी प्रवेश गराएका छन्। 

कांग्रेस प्रवेश गरेलगत्तै उनीहरूलाई चुनाव परिचालन समितिको सदस्यमा मनोनयन गरिएको कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले जानकारी दिए । 

कार्गोबाट विदेश सामान पठाउँदा भन्सार र हुलाकका कर्मचारीलाई घुस

कुरियरमार्फत विदेशमा सामान पठाउँदा घुस माग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुलाई घुसरकमसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल छन्। 

 कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरुलाई पक्राउ गरेको हो। 

एन्फामा बेथिति नराेकिए सडक आन्दोलनको अगुवाइ गर्छु : उपाध्यक्ष खतिवडा

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधानविपरीतका कार्य र बेथितहिरु बढिरहे सडक आन्दोलनको अगुवाई गर्ने चेतावनी दिएका छन्।

सोमबार ललितपुरको लगनखेलमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष खतिवडाले सडक आन्दोनलको अगुवाई गर्ने र एन्फा गेटमा टायर बाल्न समेत तयार भएको बताएका हुन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङले पछिल्लो समय संस्थागत पद्धति र विधानको मर्मविपरीतका कार्य गर्दै आएको भन्दै खतिवडाले गम्भीर आपत्ति जनाए। ६ असार २०७९ मा भएको निर्वाचनमा नेम्वाङ र खतिवडा एकै प्यानलबाट विजयी भएका थिए।

उपाध्यक्ष खतिवडाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई लामो समयदेखि रचनात्मक सहयोग र सुझाव दिँदै आएको, तर उनीहरुले कार्यसमिति बैठकमा बहुमतको दम्भमा फुटबल विकासको आवरणमा विधानविपरीतका गतिविधि गर्दै चरम बेथितिहरूलाई प्रश्रय दिँदै आएको आरोप लगाएका छन्।

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम आठ अर्बमा सीमित

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.५३ अंकले बढेर दुई हजार ६९५.७३ विन्दुमा कायम भएको हो। यसअघिका दुई दिनमा नेप्से क्रमशः १९ र १७ अंकले घटेको थियो।

गत साता १४ अर्बभन्दामाथि पुगेको कारोबार रकममा भने क्रमशः गिरावट देखिएको छ। आज एक करोड ७५ लाख सात हजार कित्ता सेयर आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो।

नेप्सेका १३ मध्ये पाँच समूहको सूचक वृद्धि हुँदा बाँकी समूह घटेका छन्। होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन एक प्रतिशतभन्दा धेरैले बढ्दा विकास बैंक, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका हुन्। घटेका सबै आठ समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

सोमबार एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सुझावित समाचार