एन्फामा बेथिति नराेकिए सडक आन्दोलनको अगुवाइ गर्छु : उपाध्यक्ष खतिवडा

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधानविपरीतका कार्य र बेथितहिरु बढिरहे सडक आन्दोलनको अगुवाई गर्ने चेतावनी दिएका छन्।

सोमबार ललितपुरको लगनखेलमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष खतिवडाले सडक आन्दोनलको अगुवाई गर्ने र एन्फा गेटमा टायर बाल्न समेत तयार भएको बताएका हुन्।

अध्यक्ष पंकजविक्रम नेम्वाङले पछिल्लो समय संस्थागत पद्धति र विधानको मर्मविपरीतका कार्य गर्दै आएको भन्दै खतिवडाले गम्भीर आपत्ति जनाए। ६ असार २०७९ मा भएको निर्वाचनमा नेम्वाङ र खतिवडा एकै प्यानलबाट विजयी भएका थिए।

उपाध्यक्ष खतिवडाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई लामो समयदेखि रचनात्मक सहयोग र सुझाव दिँदै आएको, तर उनीहरुले कार्यसमिति बैठकमा बहुमतको दम्भमा फुटबल विकासको आवरणमा विधानविपरीतका गतिविधि गर्दै चरम बेथितिहरूलाई प्रश्रय दिँदै आएको आरोप लगाएका छन्।

‘मैले पटक–पटक उहाँहरूलाई संस्थाको हितविपरीत नजान र विधानको पालना गर्न सचेत गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आज नेपाली फुटबललाई जोगाउन र सत्यतथ्य बाहिर ल्याउनै पर्छ,’ उनले भने, ‘उहाँहरु नसुध्रिएको अवस्थामा सडक आन्दोलन गर्न तयार छु। आवश्यकता परे एन्फा गेटमा टायर पाल्न पनि तयार छु।’

खतिवडाले नेम्वाङमाथि चार बुँदामा रहेर विभिन्न आरोप लगाएका छन्। नेम्वाङले विधान र निर्वाचन निर्देशिकाविपरीतको ’अर्ली इलेक्सन’ गर्न खोजेको, साधारण सभाको निर्णयको ठाडो उल्लंघन गरेको, अदालत, राखेपको निर्देशनको अवज्ञा र फिफा प्रतिबन्धमा पार्न चलखेल गरेको तथा निर्वाचित पदाधिकारीको आवाज दमन गरेको आरोप लगाएका हुन्।

खतिवडाले अहिलेको अवस्थामा निर्वाचनका सबै प्रक्रिया स्थगित गरेर जिल्ला र प्रदेशको निर्वाचनपछि मात्रै केन्द्रको निर्वाचन गर्न पनि नेम्वाङलाई सुझाव दिएका छन्। यो अवस्थामा मात्रै नेपाल फुटबल पुरानै लयमा आउने उनले बताए।

नेम्वाङले आफ्नो कार्यकाल सकिन पाँच महिनाअघि नै २८ माघमा झापामा अर्ली इलेक्सन गर्ने निर्णय गरेका थिए। तर, यसपछि हाल अदालतमा यही विषयमा चार रिट परेको छ। अदालतले तत्कालन निर्वाचनको सबै प्रक्रिया रोक्न आदेश दिएको थियो। यता, खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि विभिन्न ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।

सुझावित समाचार