मकवानपुर जिल्लाका ४ हजार ४०३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । नेपाल सरकारको पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियानअन्तर्गत यही माघ २५ गतेदेखि फागुन २२ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार यस वर्षको लक्षित समूहमा जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना किशोरी, विद्यालय बाहिरका १० वर्ष उमेरका १ सय १६ जना बालिका तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरी रहेका छन् ।
माघ २५ देखि २९ गतेसम्म विद्यालयमै पुगेर कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ भने त्यसपछि फागुन २२ गतेसम्म पालिकामार्फत विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकलाई खोप सेवा प्रदान गरिने छ ।
स्वास्थ्य कार्यालय निमित्त प्रमुख घिमिरेका अनुसार भविष्यमा यौन जीवनमा सक्रिय हुनुअघि नै खोप लगाएर महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस विषयमा यसअघि नै नेपाल सरकारले स्पष्ट नीति सार्वजनिक गरिसकेको उनको भनाइ छ ।
नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । तीमध्ये करिब १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ। क्यान्सरका कारण हुने मृत्युहरूमा पाठेघरको मुखको क्यान्सर प्रमुख कारणमध्ये एक रहेको जनाइएको छ ।
ह्युमन प्यापिलोमा भाइरस महिलाको शरीरमा करिब २० वर्षसम्म रहन सक्ने र लामो समयपछि क्यान्सरको रूपमा देखा पर्न सक्ने चिकित्सकहरूको भनाइ छ । खोप लगाउँदा केहीलाई सुई दुख्ने, छाला रातो हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन हानि नहुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६–०७७ मा एचपिभी खोप कार्यक्रम सुरु गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७९–०८० र २०८१–०८२ मा अभियानको रूपमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्षदेखि भने एचपीभी खोप कार्यक्रम नियमित वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।