निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ठुला दलका उम्मेदवारको नाम पनि हटाएको छ। कानुन मिचेर नाम राखिएको खुलेपछि आयोगले हटाएको हो।
नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर महरालाई हटाइएको छ। सहिदनगर नगरपालिका–७, धनुषा घर भएका ४७ वर्षीय महराको नाम प्रदेश सभा सदस्यतर्फ समानुपातिकको सूचीमा नाम भएको खुलेपछि हटाइएको आयोगले जनाएको छ। प्रदेशको समानुपातिक सूचीमा नाम भएकाहरू प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधान छ।
नेकपा एमालेका समानुातिक उम्मेदवार दलबहादुर गुरुङको नाम हटेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका घर भएका ७२ वर्षीय उनको नाम प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको खुलेपछि आयोगले हटाएको हो।
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट दाङको गढवा गाउँपालिका ७ घर भएकी ३९ वर्षिया उर्मिला चौधरीको नाम आयोगले हटाएको छ।
पार्टीबाट नाम हटाउन भएको पत्राचारअनुसार उनलाई हटाइएको आयोगले जनाएको छ। आयोगले उनीसहित ७६ जनाको नाम समानुपातिक सूचीबाट हटाएको छ। कतिपय उम्मेदवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथा केहीलाई हटाउन पार्टीले पत्राचार गरेको आधारमा पनि आयोगले हटाएको छ। केहीको योग्यता नै नपुगेको आधारमा हटाइएको आयोगले जनाएको छ।