ललितपुरमा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण माघ महिनाभर

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

जनस्वास्थ्य कार्यालय ललितपुरले नसर्ने रोगसम्बन्धी स्क्रिनिङ (परीक्षण)लाई तीव्रता दिएको छ। कार्यालयले माघको पहिलो सातादेखि नै निःशुल्क स्वास्थ्य परीक्षण अभियान संचालन गरिरहेको छ।

नियमित तालिका फागुनमा भए पनि यसपटक प्रतिनिधिसभा निर्वाचन हुने भएकोले अभियान छिटो सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षदेखि फागुन महिनाभरिलाई नसर्ने रोग पहिचान गर्ने महिनाको रूपमा मनाउने घोषणा गरेको थियो।

तर, यसपटक फागुन महिनामा चुनाव तोकिएकाले जनस्वास्थय कार्यालय ललितपुरले माघको पहिलो सातादेखि नै निःशुल्क परीक्षण थालेको थियो। यसबाहेक अन्य समयमा पनि पालिकाहरुसँग समन्वय गरी ग्रामीण क्षेत्रलक्षित स्वास्थ्य शिविरहरु सञ्चालन गरेर स्वास्थ्य परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार स्थानीय स्वास्थ्य संस्था तथा पालिकाहरूबाट नागरिकको विभिन्न रोगको परीक्षण भइरहेको छ।

‘हामीले दक्षिण ललितपुरका पालिका लक्षित थुप्रै स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आइरहेका छौं। शिविरबाट थुप्रै रोगहरु पत्ता लागेका छन्,’ उनले भने, ‘रोग पत्ता लागेर नागरिकलाई समयमै उपचार गराउन प्रेरित गरी उहाँहरुको जीवनलाई लामो बनाउने यो अभियान प्रभावकारी बनाएका छौं।’

उनका अनुसार मुख्यतः मुटु तथा रक्तनलीसम्बन्धी, क्यान्सर, फोक्सो तथा स्वासप्रश्वास, उच्च रक्तचाप, मिर्गौला फेल, थाइराइड र मधुमेह प्रमुख नसर्ने रोगहरु हुन्। परीक्षण गर्दा विरामीमा जटिल रोग देखिएमा उपचारको लागि समेत सहजीकरण गरिएको छ। यी रोग लाग्नुको मुख्य कारण धुम्रपान, अस्वस्थ वातावरण र खानपान तथा बिग्रँदो जीवनशैली नै रहेको डा गेलालले बताए। 

सोमबार जनस्वास्थ्य कार्यालय परिसरमै ललितपुरका ४० जना स्थानीय पत्रकारहरूकोसमेत स्वास्थ्य परीक्षण गरिएको छ। गत वर्षदेखि निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियानस्वरूप तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नि:शुल्क स्क्रिनिङ कार्यक्रम घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले १६ मंसिर ०८१ मा यससम्बन्धी निर्देशिका स्वीकृत गरेको थियो। सो निर्देशिकामा हरेक वर्ष १ फागुनदेखि ३० फागुनसम्म नसर्ने रोग पहिचानको लागि स्क्रिनिङ गर्ने तालिकासमेत उल्लेख छ।

सुझावित समाचार