पोखरा रंगशालामा पहिलोपटक आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता फ्लड लाइटमा हुने भएको छ । २७ माघबाट सुरु हुने २५औँ संस्करणमा चार विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार गोल्डकपको फाइनल ९ फागुनमा हुनेछ । गोल्डकपमा ‘ए’ डिभिजन, विभागीय र आयोजक गरी आठ स्वदेशी र चार विदेशी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
गोल्डकपको रजत जयन्ती संस्करणलाई विशेष बनाउन पहिलोपटक प्रतियोगिता रातिको समयमा गराउन लागिएको क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिए । ‘खेलाडीले पहिलो हाफ उज्यालो र दोस्रो हाफ फ्लड लाइटमा प्रतिस्पर्धा गर्नेछन्,’ थकालीले भने, ‘रंगशालाका चार दिशामा ३५ फिट अग्लो पोल गाडिनेछ । एउटा पोलमा १२ देखि १६ वटासम्म बत्ती जडान गरिनेछ ।’ थकालीका अनुसार बत्ती केवल मैदान केन्द्रित हुनेछ । हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले २५ वर्षदेखि क्लबसँग सहकार्य गर्दै आएको बताए । ‘२५औँ संस्करणको गोल्डकप उत्कृष्ट बनाउने प्रयासमा छौँ,’ केसीले भने ।
आयोजकले पुरस्कार राशि वृद्धि गरेको छ । विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए । सर्वोकृष्ट खेलाडीले स्कुटर पाउनेछन् । सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ जित्नेछन् ।
पुलिस र मनाङ सर्वाधिक ६ पटकका विजेता
प्रतियोगिताको २५औँ संस्करणसम्म नेपाल पुलिस र मनाङ मस्याङ्दी क्लब सर्वाधिक विजेता हुन् । अहिलेसम्म दुवैले समान ६ पटक उपाधि हात पारेका छन् । यसैगरी, ललितपुरको थ्री स्टार क्लबले पाँचपटक ट्रफी हात पारेको छ । संकटा क्लबले दुई चोटि उपाधि जितेको छ । त्रिभुवन आर्मी, एपिएफ, सहारा, अफ्रिकन युनाइटेड क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सले समान एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन् ।
यसपटक स्वदेशी क्लबमा चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, मच्छिन्द्र फुटबल, प्लानिङ व्वाइज, मनाङ, नेपाल पुलिस, एपिएफ र आयोजक सहारा रहेका छन् । विदेशी क्लबमा सिक्किमस्थित थन्डरवल्र्ड नर्थ युनाइटेड, हङकङको गोर्खा इन्टरनेसनल र उज्वेकिस्तानको आभा फुटबल क्लबले सहभागी हुने निश्चित गरिसकेका छन् । भारतको एक टोली आउन बाँकी रहेको थापाले जानकारी दिए । गोल्डकपबाट प्राप्त आम्दानी सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनमा प्रयोग हुने अध्यक्ष थापाले बताए । ‘प्रत्येक वर्षको प्रतियोगिताको आम्दानी एकेडेमी सञ्चालनका निमित्त खर्च गर्दै आएका छौँ,’ उनले भने ।