राष्ट्रिय लिग २०८२ : नवयुग चम्किँदा आर्मीको तेस्रो जित

पाँच खेलबाट ११ अंक जोडेको आर्मीले लालीगुराँसलाई पछि पार्दै चौथो स्थान रक्षा ग¥यो

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

स्ट्राइकर नवयुग श्रेष्ठ चम्किएपछि त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले नवप्रवेशी क्लब श्री भगवतीलाई ३–१ ले हराउँदै तेस्रो जित हात पारेको हो । आर्मीका लागि नवयुगले दुई गोल गरेका थिए । कप्तान जिलेस्पीजंग कार्कीले एक गोल थपे । भगवतीका अजित लामाले एक गोल फर्काए । आर्मीले पहिलो खेलमा मनाङ मस्र्याङ्दीलाई ५–० र चित्लाङ एफसीलाई ५–१ ले हराएको थियो । 

प्लानिङ ब्वाइज युनाइटेड र प्रेसिडेन्ट लिगको विजेता लालीगुुराँस एसोसिएसनसँग आर्मीले गोलरहित बराबरी खेलेको थियो । तेस्रो जितपछि आर्मीले पाँच खेलबाट ११ अंक जोडेको छ । आर्मी लालीगुराँसलाई नै पछि पारेर चौथो स्थानमा उक्लिएको छ । श्री भगवतीको भने पाँच खेलपछि ४ अंक मात्रै छ । आर्मीविरुद्ध श्री भगवतीका अजितले १२औँ मिनेटमा अग्रता दिलाएका थिए । आर्मी मध्यान्तरअघि नै बराबरी गोल फर्काउन सफल भयो । खेलको ३४औँ मिनेटमा कप्तान जिलेस्पीले आर्मीलाई १–१ को बराबरीमा ल्याएका हुन् । दोस्रो हाफमा नवयुगको दुई गोलसँगै आर्मीले ३ अंक बटुलेको हो । खेलको ५८औँ मिनेटमा नवयुगले आर्मीलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा उनले विजयी गोल गरे । लिगमा नवयुगको चौथो गोल हो । 

 प्लानिङले काँक्रेबिहारलाई हरायो
लिगमा नवप्रवेशी क्लब प्लानिङ ब्वाइजले पनि तेस्रो जित निकालेको छ । प्लानिङले एन्फा कम्प्लेक्समा पुछारमा रहेको काँक्रेबिहार युवा क्लबलाई ३–० ले पराजित गरेको हो । काँक्रेबिहार र प्लानिङ ब्वाइज राष्ट्रिय लिगमा पहिलोपटक सहभागी क्लब हुन् । प्लानिङको जितमा रविन बोहरा, रोमान भुजेल र हेमन लिम्बूले समान एक गोल गरेका थिए । प्लानिङले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थपेको हो ।

तेस्रो जितपछि प्लानिङ पाँचौँ स्थानमा उक्लिएको छ । पाँचौँ हारपछि काँक्रेबिहार पुछारमा पुगेको छ । सुर्खेतको काँक्रेबिहारले पाँच खेलमा १५ गोल व्यहोरेको छ । खेलको पाँचौँ मिनेटमै रविनले प्लानिङलाई अग्रता दिलाएका थिए । रोमनले १२औँ मिनेटमा दोस्रो गोल गरे । हेमनले खेलको अन्तिम इन्जुरी समयमा तेस्रो गोल गरेका हुन् । 

सुझावित समाचार