निर्वाचनको मिति साँघुरिँदै गर्दा दल र उम्मेदवारहरूको प्रचार फैलिँदै छ । सामाजिक सञ्जालतिर भने प्रचारभन्दा धेरै दुष्प्रचार फैलिँदै छ । खासगरी एआईको व्यापक दुरुपयोग गरेर दिनहुँ होइन, मिनेट–मिनेटमा मिथ्या सूचनाको बाढी नै चलाइएको छ । मिथ्या सूचनाको प्रवाह नियन्त्रणबाहिर रहँदा सर्वसाधारण भ्रममा परिरहेका छन् । नियमन र कारबाहीमा सरकार चुकिरहेको छ ।
सर्लाही ४ मा कांग्रेसबाट उम्मेदवार रहेका सभापति गगन थापा भोट माग्न जाँदा जनताले लखेटेको भन्दै ‘मिस पबी ४१’ नामको फेसबुक पेजबाट १३ माघमा फैलाइएको एआई फोटोलाई हजारौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले पत्याए होलान् । ९३ हजार फलोअर्स रहेको यो पेजको उक्त पोस्टमा आइतबारसम्म चार हजार दुई सय लाइक, दुई हजार कमेन्ट र १८२ सेयर छ । त्यसपछि पनि यही पेजबाट कैयौँ उम्मेदवारका नाममा निरन्तर मिथ्या सूचना फैलाउने क्रम जारी छ ।
‘मिस पबी ४१’ जस्तै अर्को फेसबुक आइडी ‘सुमन गाउँले’बाट यस्तै मिथ्या सूचना निरन्तर फैलाइएको छ । एकजना व्यक्ति स्वयं भिडियोमा देखिएर एआईबाट निर्मित फोटो, भिडियोबाट दुष्प्रचार गर्छन् । ९ माघमा उक्त आइडीबाट ‘महेश बस्नेतलाई जनताले लगाइदिए कालोमोसो र जुत्ताको माला’ भन्ने स्टाटससहित भिडियो सेयर भएको थियो । फरक प्रसंग र कार्यक्रममा बस्नेतले बोलेको विषयसमेत भिडियोमा जोडेर एक लाख २४ हजार फलोअर्स रहेको उक्त आइडीबाट प्रचार गरेपछि गलत सूचना फैलिएको थियो ।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता मिथ्या सूचना अहिले सबैभन्दा ठुलो चुनौती बनेका छन् । आइतबारसम्म निर्वाचन आयोगले ३०२ हानिकारक सूचना पहिचान गरेर आवश्यक कारबाहीका लागि विभिन्न निकायमा पठाएको छ । ‘त्यस्ता सूचनामाथि आवश्यक कारबाहीका लागि प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल र आयोगकै केन्द्रीय आचारसंहिता अनुगमन समितिलाई पठाएका छौँ,’ आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
आयोगले आचारसंहितामै व्यवस्था गरेर मिथ्या सूचना रोक्ने प्रयास त गरेको छ । तर, कार्यान्वयन जटिल छ । आचारसंहिताको परिच्छेद २ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत दफा ४ को ‘ञ’, ‘ट’ र ‘ठ’लगायतमा मिथ्या सूचनाबारे व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने व्यवस्था छ । त्यस्तै, निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने पनि छ । सामाजिक सञ्जालमा एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुनेलगायतका व्यवस्था पनि आचारसंहितामा छ ।
डिजिटल पत्रकारिताका विभिन्न सिप तथा मिथ्या सूचनाविरुद्ध अनुसन्धान, तालिम र अभियान सञ्चालन गर्दै आएको सिएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्ज्वल आचार्यका अनुसार अहिले सञ्जालहरूमा एआई निर्मित सामग्रीहरू ठुलो परिमाणमा फैलिएका छन् । ‘यी सामग्रीहरू राजनीतिक बहसलाई प्रभावित पार्ने र मिथ्या भाष्य नै निर्माण गर्ने प्रयासमा उन्मुख देखिन्छन्,’ उनी भन्छन्, ‘आफ्नो प्रचार गर्न र विरोधीलाई तल पार्न राजनीतिक व्यक्तिहरूले नै मिथ्या सूचनाको प्रचार गरिरहेका हुन्छन् । यसले सामान्य मानिसहरू दिग्भ्रमित भइरहेका छन् ।’मिथ्या सूचनाको बाढी सत्य सूचनाका लागि पनि चुनौती हो । मिथ्या सूचनाका कारण सत्य सूचना छायामा पर्ने मात्रै होइन, सत्य सूचनामै विश्वास नगर्ने जोखिमसमेत निम्तिन्छ ।
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल यस्तै जोखिम औँल्याउँछन् । ‘हामीकहाँ राजनीतिक व्यक्तिहरूले नै सत्य सामग्रीलाई पनि यो त एआईले बनाएको, झुटो भनेर दाबी गरेका घटना पनि छन् । जसकारण सत्य र झुटो सराबरी हुने समय आयो कि जस्तो देखिन्छ । छुट्याउन पनि गाह्रो, विश्वास गर्न पनि गाह्रो,’ उनले भने, ‘सत्य र असत्यको सीमा घट्दै गयो ।’
मिथ्या सूचनाको कारखाना : कसले कसरी फैलाइरहेको छ ?
इन्टरनेट र स्मार्टफोनको पहुँच व्यापक विस्तार भएको छ । स्मार्टफोन बोक्नेहरूले सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् । यो अवस्थामा जोसुकैले पनि अनेक उद्देश्यबाट मिथ्या सूचना उत्पादन गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जालको सीमाहीन दुनियाँमा कसले धेरै मिथ्या सूचना उत्पादन गरिरहेको छ भन्ने पहिचान गर्न सहज छैन ।
यद्यपि, अहिलेको चुनावी माहोलमा मिथ्या सूचनाको स्रोत कहाँ छ भन्नेबारे सिएमआर नेपालका निर्देशक उज्ज्वल आचार्य भन्छन्, ‘चुनावको मुखमा मिथ्या सूचनाहरू धेरैजसो राजनीतिक दल र त्यसमा आबद्ध नेता तथा कार्यकर्ताबाटै आइरहेका छन् । अहिलेको मिथ्या सूचना प्रवाहमा कुनै दल वा पक्ष, अर्को दल वा पक्षभन्दा कम देखिँदैन ।’ उनका अनुसार राजनीतिक दल र त्यसका नेता–कार्यकर्ता, पक्षधरता बोकेका सञ्चारमाध्यम तथा फेसबुक पेजहरू, सोसियल इन्फ्लुयन्सर र केही हदमा आमप्रयोगकर्ता पनि मिथ्या सूचनाका उत्पादक हुन् ।
जेन–जी आन्दोलन हुनुभन्दा केही दिनअघि मात्रै फेसबुकले नेपालबाटै मोनिटाइजेसनको सुविधा दियो । त्यसपछि कन्टेन्ट क्रियटरदेखि, फेसबुकका आमप्रयोगकर्तासम्मलाई डलर कमाउने भोक जाग्यो । यही भोकमा भ्युजको पछाडि दौडिनेको भिड बढिरहेको छ । भ्युज मात्रै खोज्नेहरूका लागि चुनावमा गतिलो मसला बनेको छ र उनीहरू मिथ्या सूचना बेचिरहेका छन् ।
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल मिथ्या सूचनाको उत्पादन र प्रवाहलाई फेसबुक ‘मोनिटाइटेसन’सँग जोडेर हेर्छन् । ‘सामाजिक सञ्जालमा इंगेजमेन्टका आधारमा पैसा आउन थाल्यो । मोनिटाइजेसनले सूचना प्रवाहलाई व्यापारसँग पनि जोडिदियो । त्यसले सामाजिक सञ्जाललाई अझ विकृत बनाउन थाल्यो,’ उनी भन्छन्, ‘जेमा बढी इंगेजमेन्ट हुन्छ, त्यस्ता सूचना बढी प्रवाह हुन थाले । यसले गर्दा सूचनामा हुनुपर्ने सत्य, तथ्यभन्दा पनि के बढी चल्छ र भाइरल हुन्छ भन्नेतिर आकर्षित हुन थाले ।’
खासगरी एआईबाट उत्पादन गरिएका फोटो, भिडियो सामग्री वास्तविकजस्तो लाग्छन् । सामान्य प्रयोगकर्तालाई ती सामग्री सत्य हुन् कि झुट भन्ने ज्ञान र परीक्षण गर्ने सीप दुवै हुँदैन । जसका कारण उनीहरू मिथ्या सूचनालाई पनि वास्तविक ठानेर प्रभावित हुने अवस्था छ । चुनाव जति नजिकिँदै छ, यस्तो मिथ्या सूचनाको उत्पादन र प्रवाह उत्तिकै बढ्दै गएको छ । सिएमआर नेपालका निर्देशक आचार्यका अनुसार कसलाई मतदान गर्ने भनेर मतदाताको निर्णयलाई नै प्रभावित पार्ने गरी मिथ्या सूचना फैलाइएका छन् ।
यस्ता छन् मिथ्या सूचना नियमनका चुनौती
मिथ्या सूचनाको बाढी जुन रूपमा फैलिरहेको छ, नियमन गर्न कठिन बन्दै गएको छ । सरोकारवालाहरू यसमा कानुनी, जनशक्ति र समन्वयका पाटामा कमजोरी औँल्याउँछन् । डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सिग्देल नेपालको विद्यमान कानुन सामाजिक सञ्जाल नियमन गर्न स्पष्ट र पर्याप्त नभएको बताउँछन् ।
‘०६३ मा विद्युतीय कारोबार ऐन जारी हुँदा इन्टरनेटमा के प्रकाशन गर्न पाइँदैन भन्ने सन्दर्भमा अलिकति मात्रै छोइयो । अहिलेसम्म इन्टरनेटलाई नियमन गर्ने मूल कानुन नै यही हो जस्तो भइरहेको छ,’ उनले भने, ‘गएको २० वर्षमा धेरै कुरा परिवर्तन भयो । त्यो कानुन बन्दा सामाजिक सञ्जालको यो व्यापकता र डिजिटल इकोसिस्टम पनि थिएन । पछि जुन रूपमा सम्बोधन गर्नुपथ्र्यो, त्यो कहिल्यै पनि सम्बोधनको विषय भएन ।’
अहिलेको समयमा इन्टरनेट र सञ्जाललाई अवज्ञा गरेर जान सक्ने अवस्था छैन । सिग्देल यसमा डिजिटल गभर्नेन्स र इकोनोमीका विषय पनि जोडिने बताउँछन् । यद्यपि, सूचना तथा अभिव्यक्तिको स्वतन्त्रताको विषय निरपेक्ष अधिकार नभई त्यसका पनि सीमा हुने उनको भनाइ छ । ‘ती सीमा के हुन्, कतिसम्म नियमन गर्ने, नियमनका प्रभाव, नियमन गर्ने आधार, केका लागि नियमन गर्दै छौँ भन्नेबारे बहस आवश्यक छ,’ उनी भन्छन् ।
सिग्देलको भनाइमा नेपालमा मिथ्या सूचना रोक्ने र नियमनका सन्दर्भमा डिजिटल डिप्लोमेसीको अभाव छ । त्यसबारे सामाजिक सञ्जालका कम्पनीहरूसँग संवाद र समन्वयको कमी रहेको उनी बताउँछन् । ‘कतिपय देशले चुनाव आउनुभन्दा अगाडि नै सामाजिक प्ल्याटफर्मसँग समन्वय गरेर अलग्गै संयन्त्र बनाएका हुन्छन् । हामीले मिथ्या सूचना रोक्नेबारे कसरी योजना बनाइरहेका छौँ र प्ल्याटफर्मसँग समन्वय कसरी गरिरहेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भने । निर्वाचन आयोगका प्रवक्ता भट्टराई भने मिथ्या सूचना रोक्न र कारबाहीको सजिलोका लागि मेटा र टिकटकसँग समझदारी (एमओयू) गर्ने गरी आयोगले संवाद र समन्वयको प्रयास गरिरहेको बताउँछन् । ‘मिथ्या सूचना रोक्ने विषयलाई आयोगले प्राथमिकतामा राखेको छ,’ उनले भने ।
साइबर ब्युरोका सूचना अधिकारी एसपी दीपकराज अवस्थी अफवाह र मिथ्या सूचना फैलाउनेविरुद्ध विद्युतीय कारोबार ऐन मुलुकी अपराध संहितामा कानुनी व्यवस्था रहेको बताउँछन् । चुनावमा फैलिन सक्ने अफवाह र मिथ्या सूचनालाई लक्षित गरेर त्यसलाई हेर्न ब्युरोमा अलग्गै आन्तरिक डेस्क बनेको पनि उनको भनाइ छ । ‘जसरी मिथ्या सूचना र अफवाह फैलिरहेका छन्, ती सबैलाई हेर्न गाह्रो भए पनि बदमासी गर्नेहरू अन्ततः कानुनी दायरामा आइहाल्छन्,’ उनले भने, ‘ब्युरोले सकेसम्म यस सम्बन्धमा काम गरिरहेको छ ।’
मिथ्या सूचनामा के हुन्छ कारबाही ?
निर्वाचन आयोगले चुनावमा मिथ्या सूचना फैलाउनेमाथि कारबाही गर्ने विषय आचारसंहितामै समटेको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउने आचारसंहितामा उल्लेख छ । त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २२ मा निर्वाचनका वेला उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको नीति तथा कार्यक्रमका सम्बन्धमा प्रचारप्रसार गर्दा–गराउँदा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने काम गरे दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
आयोगले आइतबारसम्म हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्नेलाई कारबाही गर्न सम्बन्धित विभिन्न निकायमा पठाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा १२०, आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा ३४, प्रेस काउन्सिलमा १५ र नेपाल दूरसञ्चार प्राधिकरणमा ६ कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ । आयोगका कानुन महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराई भन्छन्, ‘सामाजिक सञ्जालबाट आएका मिथ्या सूचनासम्बन्धी विषयमा हाम्रो युनिटले स्क्रिनिङ गर्छ,’ उनले भने, ‘त्यसका आधारमा दोषी देखिए जरिवाना गर्न सक्छ ।’
३०२ हानिकारक सूचना पहिचान गरेर कारबाहीका लागि पठाएका छौँ
नारायणप्रसाद भट्टराई, प्रवक्ता, निर्वाचन आयोग
निर्वाचन आयोगले ३०२ हानिकारक सूचना पहिचान गरेर आवश्यक कारबाहीका लागि साइबर ब्युरो, प्रेस काउन्सिल र आयोगकै केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाएको छ । मिथ्या सूचना रोक्न र कारबाहीको सजिलोका लागि मेटा र टिकटकसँग समझदारी (एमओयू) गर्ने गरी आयोगले संवाद र समन्वयको प्रयास पनि गरिरहेको छ । मिथ्या सूचना रोक्ने विषयलाई आयोगले प्राथमिकतामा राखेको छ ।
बदमासी गर्नेहरू अन्ततः कानुनी दायरामा आइहाल्छन्
एसपी दीपकराज अवस्थी, सूचना अधिकारी, साइबर ब्युरो
विद्युतीय कारोबार ऐन मुलुकी अपराध संहितामा यससम्बन्धी कानुनी व्यवस्था छन् । चुनावलक्षित गरेर त्यसलाई हेर्न ब्युरोमा अलग्गै आन्तरिक डेस्क बनेको छ । त्यसले हेरिरहेको छ । निर्वाचन आयोगले पनि हेरिरहेको छ । जसरी मिथ्या सूचना र अफवाह फैलिरहेको छ, ती सबैलाई हेर्न गाह्रो भए पनि बदमासी गर्नेहरू अन्ततः कानुनी दायरामा आइहाल्छन् ।
धेरैजसो मिथ्या सूचना राजनीतिक व्यक्तिबाटै आइरहेका छन्
उज्ज्वल आचार्य, निर्देशक, सिएमआर नेपाल
चुनावको मुखमा मिथ्या सूचनाहरू धेरैजसो राजनीतिक दल र त्यसमा आबद्ध नेता तथा कार्यकर्ताबाटै आइरहेका छन् । कुनै दल वा पक्ष कुनै अर्को दल वा पक्षभन्दा कम देखिँदैन । यी सामग्रीहरू राजनीतिक बहसलाई प्रभावित पार्ने र मिथ्या भाष्य निर्माण गर्ने प्रयासमा उन्मुख देखिन्छन् । यसले सामान्य मानिसहरू दिग्भ्रमित भइरहेका छन् ।
फेसबुक मोनिटाइजेसनपछि भ्युजका लागि पनि मिथ्या सूचना बढे
सन्तोष सिग्देल, कार्यकारी निर्देशक, डिजिटल राइट्स नेपाल
मोनिटाइजेसनपछि सामाजिक सञ्जालमा इंगेजमेन्टका आधारमा पैसा आउन थाल्यो । जेमा बढी इंगेजमेन्ट हुन्छ, त्यस्ता सूचना बढी प्रवाह भए । यसले गर्दा सूचनामा हुनुपर्ने सत्य, तथ्यभन्दा पनि के बढी चल्छ र भाइरल हुन्छ भन्नेतिर मानिसहरू आकर्षित हुन थाले । सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको विषय निरपेक्ष अधिकार होइन । यसका सीमा छन् । कानुन अद्यावधिक गरेर प्रभावकारी नियमन जरुरी छ ।