भीमफेदी कारागार र बाल सुधारगृहबाट फरार ३ कैदीबन्दी पक्राउ

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

२३ र २३ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार र हेटौँडास्थित बाल सुधारगृहबाट फरार भएका तीनजना कैदीबन्दी पक्राउ परेका छन् । मकवानपुर प्रहरीका अनुसार भीमफेदी कारागारबाट फरार भएका दुईजना कैदी र बाल सुधारगृह हेटौँडाबाट फरार भएका एकजना बालकलाई खोजतलासका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ कैलेडाँडा बस्ने ३० वर्षका मुन्ना स्याङ्तान रहेका छन्। यस्तै, लागुऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौँडा उपमहानगरपालिका–७, हरियाली बस्ने २२ वर्षीय विशाल गोले र बालसुधार गृह हेटौँडाबाट लागुऔषध ब्राउनसुगर मुद्दामा फरार भएका एकजना बालकलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १७ र १८ गते विभिन्न स्थानमा फेला पारी पुनः भीमफेदी कारागार र बालसुधार गृह हेटौँडामा पठाइएको छ। जेन-जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट ४४० जना कैदीबन्दी र बाल सुधारगृह हेटौँडाबाट ५८ जना बालबन्दी भागेका थिए।
 

सुझावित समाचार