राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २७ गतेदेखि सुरु हुँदै छ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सहारा क्लब पोखराको आयोजनामा २५औँ संस्करणको प्रतियोगिता हुन लागेको हो। ९ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ छ।
पोखरा रंगशालास्थित फुटबल स्टेडियममा हुने प्रतियोगितामा नेपालका ए डिभिजन, विभागीय र आयोजक गरी आठ तथा चार विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार व्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, प्लानिङ व्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबसँगै आयोजक सहारा क्लब गरी नेपालका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, भारतको सिक्किमस्थित थन्डरबाेल्ट नर्थ युनाइटेड, हङकङको गोर्खा इन्टरनेसनल फुटबल क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब सहभागी हुने निश्चित हुँदा भारतको एक टिम छिनोफानो गर्न बाँकी रहेको थापाले जानकारी दिए।
पोखरामा पहिलोपटक फ्लडलाइटमा खेल
२५औँ संस्करणको रजतजयन्ती संस्करणलाई विशेष बनाउँदै पोखराको फुटबल इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिए। थकालीका अनुसार पहिलो हाफ उज्यालाेमा र दोस्रो हाफ लाइटमा खेलाउने गरी तयारी गरिएको छ। जसका लागि मैदानको चार दिशामा ३५ फिट अग्लो पोल गाडिने र एउटा पोलमा १२ देखि १६ वटासम्म बत्ती जडान गरिनेछ। अस्थायी रूपमा राखिने लाइटले मैदानलाई मात्रै प्रकाश दिनेछ।
कार्यक्रममा हिमश्री फुड्स प्रालिका प्रबन्ध–निर्देशक प्रकाश केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदको विकासमा विगत २५ वर्षदेखि क्लबसँग सहकार्य गर्दै आएको बताए।
पुरस्कार राशि वृद्धि
आयोजकले २५औँ संस्करणको प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ। उपाधि विजेतालाई १४ लाख एक हजार र उपविजेतालाई सात लाख एक हजार नगद दिइने प्रतियोगिता मूल आयोजक समिति सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए। गत वर्ष सम्पन्न २४औँ संस्करणको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पाएका थिए। यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर, विधागत रूपमा उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
पुलिस र मनाङ समान ६ पटकका उपाधि विजेता
प्रतियोगिताको २५औँ संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब सबैभन्दा धेरै उपाधि जित्ने सूचीमा छन्। २४औँ संस्करण सकिँदा दुवै टोलीले समान ६–६ पटक उपाधि हात पारेका छन्। यसैगरी थ्री स्टार क्लबले पाँच, संकटा क्लबले दुई तथा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, आयोजक सहारा क्लब तथा पाहुना टोली अफ्रिकन युनाइटेड क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सले समान एक–एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन्।
एकेडेमीमा चौथो ब्याचका ३० प्रशिक्षार्थी
विगत २३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालन गरिरहेको छ। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा– १७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० प्रशिक्षार्थी छन्। उनीहरूको आवास, पालनपोषणसँगै शिक्षादीक्षा र फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए। प्रत्येक वर्ष प्रतियोगिता सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ।