नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेखण्डबाहेक अधिकांश क्षेत्रमा कालोपत्रेको काम सकिएसँगै यहाँ तीव्रगतिका कारण सवारी दुर्घटना हुने क्रम अत्यधिक बढेको छ ।
नारायणगढ–बुटवल सडक कालोपत्रे भएपछि यात्रा सहज हुँदा सवारीचालकले तीव्र गतिमा सवारीसाधन हाँक्ने गर्दा दुर्घटना बढेको हो । जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार पछिल्लो ६ महिनाको अवधlमा ६३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी दुर्घटनाको कारण भनेको तीव्र गति नै देखिन्छ । ६३ वटा दुर्घटनामध्ये ४५ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरको तथ्यांकले देखाएको छ ।
यो ६ महिनाको अवधिमा सबैभन्दा बढी दुर्घटना पुस महिनामा मात्रै भएको छ । पुुस महिनामा मात्रै २६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । ती दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको छ ।
पुस महिनामा भएका २६ वटा सवारी दुर्घटनामध्ये १४ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कुशल कुमार बर्तौलाले सवारी दुर्घटनाको मुख्य कारणमा अहिले तीव्र गतिमा सवारी हाँक्नु नै रहेको जानकारी दिए ।
तीव्र गति नियन्त्रण गर्न कार्यालयबाट निकै पहल भएको उनको भनाइ छ । उनका अनुसार ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न नियमित रूपमा ट्राफिक सचेतनाका कार्यक्रम, राडर गनमार्फत गति मापन गरेर जरिवाना गराउनेलगायतका काम गरिरहेको छ, तैपनि तीव्र गतिमा सवारी सञ्चालन गर्ने क्रम नरोकिएको बर्तौलाले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कालोपत्रे सकिएको ठाउँमा ल्यान्ड मार्किङ, डिभाइडर निर्माण, फुटपाथ निर्माणलगायतका काम बाँकी नै छ । जसले गर्दा ठुला तथा हेभी गाडी, बस, कार, जिप तथा मोटरसाइकलजस्ता साना गाडी, पैदलयात्री र साइकलयात्री हिँड्ने लेन छुट्याउने कार्य बाँकी नै भएका कारण पनि सडक दुर्घटना बढेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले सडक कालोपत्रे सकिएको ठाउँमा पनि अन्य निर्माणाधीन कार्य बाँकी नै रहेकाले ट्राफिक संकेतका बोर्डहरु राख्न नसकिएको बताए ।
ट्राफिक प्रहरीले बजार क्षेत्रमा गति संकेत गर्ने बोर्डहरू भने राखेको छ । वन क्षेत्र र अन्य केही क्षेत्रमा राख्न बाँकी छ । निर्माण पूरा भएपछि संकेत राख्ने काम हुने उनले बताए ।
चालू आर्थिक वर्षको ६ महिनामा जिल्लामा भएको ६३ वटा सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष २६ जना, महिला पाँचजना र एकजना बालिका रहेकी छिन् । दुर्घटनामा ४२ जना गम्भीर र ३५ जना सामान्य घाइते भएको तथ्यांकले देखाएको छ । जसमा पुस महिनामा मात्रै भएको २६ वटा दुर्घटनामा परी आठजनाको ज्यान गएको छ ।