शनिबार : १० बजेसम्मका १० मुख्य खबर

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमनले डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ। भारतबाट भाउ बढेर आएकाले बढाउनुपरेको निगमले जनाएको छ । 

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले बढाइएको छ। पेट्रोलको मूल्य भने यथावत् छ।

भारतबाट एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४० पैसा बढेर आए पनि नेपालमा मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

प्रहरी कार्यालयअगाडि नियुक्ति लिने निर्वाचन प्रहरीको भिड

बर्दियाको गुलरियामा निर्वाचन प्रहरीमा छनोट भएर नियुक्ति-पत्र लिनका आउने निर्वाचन प्रहरीको भिड लागेको छ। जिल्ला प्रहरी कार्यालयले आवश्यक कागजातसहित बोलाएपछि नियुक्ति-पत्र लिन आउने निर्वाचन प्रहरीको भिड लागेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी हुन बर्दियामा ४ हजार ४ सयजनाले आवेदन दिएका थिए। प्रहरीले म्यादी हुनका लागि शारीरिक परीक्षण, लिखित मौखिक परीक्षा लिएको थियो। जसमध्ये  २ हजार २५ जनाको नाम निर्वाचन प्रहरीमा निस्किएको छ।

फागुन २१ को निर्वाचनका लागि मतपत्रको नमुना सार्वजनिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक भएको छ। निर्वाचन आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमुनासमेत सार्वजनिक गरेको हो। 

उम्मेदवारको संख्याका आधारमा पनि मतपत्रको नमुना तयार भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ। एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा सानो मतपत्र छापिएको छ।  \\

कांग्रेसले आगामी निर्वाचनको घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ल्याउने घोषणापत्रलाई केवल नारामा सीमित नराखी स्पष्ट कार्ययोजना र स्रोत व्यवस्थापनसहित प्रस्तुत गर्ने भएको छ। पार्टीले यस घोषणापत्रलाई ‘भिजन–१०’ नाम दिँदै मुलुकको वर्तमान अवस्था र आगामी दशकको दिशालाई एकसाथ समेट्ने तयारी गरेको छ।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सुशासन, विकास र व्यावहारिक कार्यान्वयन घोषणापत्रको मूल आधार हुने बताए। उनका अनुसार कांग्रेसको घोषणापत्र आकांक्षा मात्र नभई कार्यान्वयनयोग्य योजनाको दस्ताबेज हुनेछ।

स्वास्थ्य बिमा बोर्डद्वारा अस्पतालहरूलाई अनावश्यक रिफर नगर्न निर्देशन

स्वास्थ्य बिमा बोर्डले बिमामा सूचीकृत सबै स्वास्थ्य संस्थालाई बिरामीलाई आवश्यक नपरी अन्यत्र रिफर नगर्न स्पष्ट निर्देशन जारी गरेको छ।

बोर्डले अस्पतालमै उपलब्ध उपचार सेवा हुँदाहुँदै पनि बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसले बिरामीलाई अनावश्यक दुःख, समयको बर्बादी र अतिरिक्त परीक्षणको भार पर्ने जनाएको छ।

सूचना अधिकारी विकेश मल्लका अनुसार यस्ता अनावश्यक रिफरहरू स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत भएकाले अब यसमा कडाइ गरिनेछ।

बोर्डले  परिपत्र जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आफ्नै अस्पतालमा उपलब्ध सेवा बेवास्ता नगरी सोही स्थानमै उपचार सुनिश्चित गर्न आग्रह गरेको छ।

आयोगले सोध्यो २१ वटा स्पष्टीकरण, तर जवाफ पाँचवटाको मात्र

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लागू गरेको आचारसंहिता नमान्ने विभिन्न राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले शनिबार दिएको जानकारीअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत माघ ४ गते राति १२ बजेदेखि लागू भएको छ। 

तर, आचारसंहिता नमान्ने २१ वटा स्पष्टीकरणमा पाँचवटाको मात्र जवाफ पाएको आयोगले जनाएको छ। आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएकोमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ। 

काठमाडाैं महानगरले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घरमै पुगेर स्वास्थ्य सेवा दिने

काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत वृद्धवृद्धाको  स्वास्थ्य अवस्था सर्वेक्षणको काम आइतबारबाट सुरु गर्ने भएको छ।

सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको महानगरले जनाएको छ। 

देश बदल्नका लागि कांग्रेस बदलियो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्नका लागि कांग्रेस बदलिएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने उल्लेख गरे।

अब बदलिएको कांग्रेस देश बदल्ने संकल्पसहित अगाडि बढेको उनले बताए। सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता आमनागरिकको चाहना भएकाले त्यसलाई कांग्रेसले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेससँग सुधारको एजेन्डा र सबैलाई जोड्ने ताकत रहेको उनको दाबी थियो। उनले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए। 

निष्पक्ष निर्वाचनका लागि सहकार्य र समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। 

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन निर्देशन दिएका हुन्। 

पश्चिम बंगालमा निपाह भाइरसका जम्मा दुई केस मात्र पुष्टि : एनसिडिसी

भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी)ले  गत डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालमा निपाह भाइरस रोगका जम्मा दुईवटा मात्र पुष्टि भएको शनिबार जनाएको छ । पछिल्लो समय सञ्चारमाध्यममा निपाह भाइरस सम्बन्धी अनुमानित र गलत तथ्यांकहरू प्रचार भइरहेको भन्दै एनसीडीसीले शनिबार प्रष्टिकरण दिएको हो। निपाह भाइरस फैलिन सक्ने त्रासका कारण पश्चिम बंगाल जोडिएका पूर्वी नेपालका नाकामा सतर्कता अपनाइएको छ । 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत सरकार अन्तर्गतको एनसीडीसीबाट प्राप्त प्रतिवेदनअनुसार पश्चिम बंगाल बाहेक अन्य कुनै स्थानमा निपाह भाइरसका नयाँ केस पुष्टि भएका छैनन्। दुई वटा केस पुष्टि भएपछि भारत सरकार र पश्चिम बंगाल सरकारबीच समन्वय गर्दै निर्धारित प्रोटोकलअनुसार तत्काल र व्यापक जनस्वास्थ्य उपायहरू अपनाइएको जनाइएको छ।

सुझावित समाचार