काठमाडाैं महानगरले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घरमै पुगेर स्वास्थ्य सेवा दिने

पदीय दायित्व मात्र होइन, सेवा भावले काम गर्न कार्यबाहक प्रमुख डंगोलको आग्रह

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत वृद्धवृद्धाको  स्वास्थ्य अवस्था सर्वेक्षणको काम आइतबारबाट सुरु गर्ने भएको छ। सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको महानगरले जनाएको छ। 

सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनीता डंगोलले भनिन्, ‘यो तपाईंहरूको पदीय जिम्मेवारी मात्र होइन। मानवीय सेवाको काम पनि हो। त्यसैले, जिम्मेवारी पूरा गर्न होइन। कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन्। पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला।’  उनले  भनिन्, ‘आपत् टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईंले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ। यसलाई स्वभाविक ठान्नू। उहाँहरूलाई सम्झाउनू बुझाउनू, सहज वातावरण बनाएर काम गर्नू।’

आर्थिक अवस्था कमजोर भएका र सम्पत्ति भएर पनि  सहयोग गर्ने परिवारका सदस्य साथमा नहुने  ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो। शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको काम प्रारम्भ भएको जनाइएको छ। 

सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीहरूलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिसकिएको र  सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिएको जनाइएको छ।  

See More On

सुझावित समाचार