डिजिटल संसारको समाजशास्त्र

डिजिटल सोसियोलोजीले प्रविधि, समाज र शक्तिबिचको सम्बन्धलाई आलोचना गर्छ

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

डिजिटल सोसियोलोजीको प्रयोग विश्वमा सन् २०१० देखि नै व्यापक हुन थालेको हो । नेपालमा भने डिजिटल सोसियोलोजीको भर्खर विकास हुँदै छ । प्रविधि मुख्यत: औद्योगिक र पुँजीवादी समाजको उत्पादन हो । निश्चित किसिमको समाजमा निश्चित प्रविधिको विकास हुन्छ । यो स्वचालित रूपमा विकास हुँदै जाने होइन ।

अहिले सहरी क्षेत्रमा डिजिटल प्लाटफर्मको प्रयोग धेरै हुने गरेको छ । तर, केही गाउँमा अझै पनि मोबाइल, इन्टरनेटबाहेक अन्य डिजिटल प्लाटफर्मको प्रयोग हुनसकेको छैन । सहरमै तथ्यांक कसरी उत्पादन भइरहेको छ ? प्रयोग कसरी भइरहेको छ ? कसले प्रयोग गरिरहेको छ ? त्यो डिजिटल डिभाइस वा नेटवर्कले समाजमा कसरी सामाजिक सम्बन्ध निर्माण भइरहेको छ ? विनिर्माण गरिरहेको छ ? पुनर्निर्माण गरिरहेको छ ? यस्ता विषय अझै पनि अध्ययन, अध्यापन हुन सकिरहेको छैन ।

डिजिटल सोसियोलोजी कोर्समै राखेर अध्ययन, अध्यापन भएको धेरै भएको छैन । अनुसन्धान विधि, तथ्यांक संकलनको माध्यमको रूपमा प्रयोग अलि पहिलेदेखि नै हुँदै आएको हो । तर, अझै पनि डिजिटल सोसियोलोजीले सामाजिक सम्बन्धको निर्माण, विनिर्माण, पुनर्निर्माण कसरी गरिरहेको छ ?, सामाजिक आन्दोलनमा प्रविधिको प्रयोग कसरी भइरहेको छ ? भन्नेलगायत विषयमा भर्खर मात्र अध्ययन सुरु भएको देखिन्छ । 

यसपालि मात्र स्नातकोत्तर तहमा एआईको प्रयोग कसरी गर्ने ? भनेर अध्ययन सुरु गरियो । स्नातक तहमा अनुसन्धानमा हामीले प्रविधिको माध्यमबाट कसरी पठन सामग्री खोज्ने ?, कसरी त्यसलाई व्यवस्थापन गर्ने ? भनेर भर्खरै मात्र पढाउन सुरु गरेका छौँ । 

हाम्रो समाजमा भनाइ र गराइमा विरोधाभास देखिन्छ । हामी प्रविधिको दुनियाँमा गयौँ । हामी २१औँ शताब्दीमा गयौँ भने पनि अभ्यासमा प्रयोग गर्न सकेका छैनौँ । हाम्रो प्रविधि सीमित मान्छेको हातमा छ । इन्टरनेटसमेत सबैको पहुँचमा छैन ।

डिजिटल सोसियोलोजिस्टहरूले के भन्ने गरेका छन् भने डिजिटल सोसाइटीको चारवटा आयाम हुन्छन् । हामी अनलाइन माध्यमबाट पढाउँछौँ । अनलाइनमै छलफल गर्छौँ । कोरोनाको वेला जुम मिटिङ हामीले अभ्यास गर्यौँ । पब्लिक सोसियोलोजिस्ट, अभियन्ताहरूले सामाजिक रूपमा बैठक बस्ने, फेसबुकको माध्यमबाट अभियान सञ्चालन गर्ने, भेला गर्ने, जेन–जी आन्दोनलको वेला भएको डिस्कर्डलगायत अभ्यासमा आउँछ । त्यो एउटा आयाम हो । 

अर्को हाँगा डिजिटल तथ्यांक, पद्धति हो । डिजिटल तथ्यांक पहिलेदेखि नै सरकार, निजी संस्थाले पनि उत्पादन गरिरहेकै थिए । त्यो वृहत् रूपमा पुगेको थिएन । सीमित तथ्यांक मात्र जनस्तरमा पुगेको थियो । राष्ट्रिय तथ्यांक विभागले उत्पादन गरेको तथ्यांक मात्र आममानिसमा पुग्थ्यो । हामीले त्यसमा के प्रश्न गर्दैनथ्यौँ भने त्यो तथ्यांक कसको ज्ञानले उत्पादन भइरहेको छ ? त्यो तथ्यांक कसले, केका लागि प्रयोग गरिरहेका छन् ?, त्यो तथ्यांकले कसको ज्ञानलाई प्रवर्द्धन गरिरहेको छ ?, कसको ज्ञानलाई मेटाइरहेको छ ?, को बहिष्कारमा परिरहेको छ ?, को समावेश भइरहेको छ ?, तथ्यांक प्रयोजनको माध्यमबाट भएका यस्ता विषयबारे हामी प्रश्न गर्दैनथ्यौँ । तथ्यांकको माध्यमबाट ज्ञान उत्पादन हुन्छ । ज्ञान उत्पादनले पनि कसलाई प्रवर्द्धन गरिरहेको छ ? कसलाई मेटाइरहेको छ ? भन्ने कुरा अध्ययन गरेकै थिएनौँ । यो डिजिटल सोसियोलोजीको अध्ययनको ठुलो क्षेत्र हो । 

तेस्रो डिजिटल असमानता हो । त्यो भनेको सहर डिजिटल प्लाटफर्ममा प्रवेश गरेको छ । तर, दुर्गम क्षेत्रमा अझै त्यस्तो अवस्था छैन । यसले निश्चित मान्छेको निश्चित समूह, समुदाय, वर्ग डिजिटल पहुँचमा छन् । उनीहरूले तथ्यांक प्रयोग गरिरहेका छन् । उनीहरूले नै ज्ञान उत्पादन पनि गरेका छन् । यसले डिजिटल असमानतालाई प्रवर्द्धन गरेको छ । 

भर्खर–भर्खर मात्रै कुनै टेक्स्ट लेख्दा खस नेपाली भाषामा पनि लेखिन्छ । त्योबाहेक तामाङ, राई, नेवा: भाषा अझै डिजिटल प्लाटफर्ममा गएको छैन । यसको अर्थ निश्चित भाषालाई त्यो प्लाटफर्मले प्रवर्द्धन गर्छ । अरू भाषा मर्छ । यसरी सीमान्तकृतको कुरा जहाँको तहीँ हुन्छ । 

चौथो कुरा, प्रविधि शासकहरूको, ठुला देशको वा प्रभावशालीको भाषा, संस्कृति र मान्यताको रक्षा गर्ने साधन हो । यसले डाटाको उपनिवेश मात्र बनाउँदैन, ज्ञानको पनि उपनिवेश गर्छ । राज्यको निगरानी गर्छ । व्यक्तिको निगरानी गर्छ । यो आयामको पनि अध्ययन भएको छैन । अध्ययन नहुनु, प्रयोग नहुनुको पछाडि नेपाली समाज त्योस्तरमा विकास भइरहेको छैन । 

हामीले भर्खरै मात्र सरकारी कार्यालयमा पेपरलेसको कुरा गरिरहेका छौँ । तर, अहिलेसम्म पेपरलेसको कुरा पूर्ण रूपमा लागू भइसकेको छैन । किनभने, इन्टरनेट, सफ्टवयेर, डिभाइस केही पनि पहुँचमा छैन । त्यसैले पहुँच, प्रयोगका लागि जुन स्तरको अर्थतन्त्र चाहिने हो, जुन स्तरको जनशक्ति चाहिने हो, डिभाइस चाहिने हो हाम्रोजस्तो देशलाई त्यस्तो प्लाटफर्म प्रयोग गर्न त्यति सजिलो छैन ।

अनुसन्धानमा एआईको प्रयोग गर्न थालिएको छ । सूचना संकलनका लागि त्यो भर्खर सुरु भएको छ । त्यो सहयोगी माध्यम हुन सक्छ । किनभने एआईले धेरै सूचना एकै ठाउँमा ल्याइदिन्छ । तर, त्यो सूचना धेरै विश्वसनीय हुँदैन । तर, प्रयोग गर्न सकिन्छ । प्रविधिले मानवीय सम्बन्ध, असमानता सिर्जना गरिरहेको छ । यो कुरा बुझ्न डिजिटल प्लाटफर्म आफैँमा संरचना हो । यसले मान्छेलाई भौतिक सम्पर्कबाट विच्छेद गरिरहेको छ । भौतिक रूपमै भेट्नु नपर्ने, यसले भौतिक रूपमा सम्पर्कविच्छेद गरिरहेको छ । मान्छेहरूमा आफैँले सोच्ने रचनात्मक क्रम बिस्तारै हराउँदै छ । प्रविधिले सामाजिक सम्बन्धलाई डिजिटाइज्ड गरेको छ । जब भौतिक भेटघाट कमजोर हुन्छ, तब मानिसको भावानात्मक सम्बन्ध कमजोर हुन्छ ।

वेलावेला भेट हुने भनिए पनि मान्छेहरूको हिजोको जस्तो भावनात्मक सम्बन्ध छैन । त्यसको एउटा कारण डिजिटल प्लाटफर्मकै कारण हो । दोस्रो मान्छेहरूमा अब ‘सबै इन्टरनेट, गुगलमा पाइहालिन्छ । एआईमा खोज्दा पाइहाल्छ नि’ भन्ने भएको छ । रचनात्मक ढंगले सोच्न छाडेका छन् । लेख्न छाडेका छन् । अहिले मान्छेहरू एकप्रकारको रोबोटिकजस्तो भएको छ । यसले मानवीय सम्बन्ध कमजोर बनाउँदै छ ।

मानिसहरूको गोपनीयतालाई यसले जानिँदो–नजानिँदो तरिकाले सतहमा ल्याइरहेको छ । मान्छेले आफ्नो कुरालाई प्लाटफर्ममा व्यक्त गर्छ । फोटो हाल्छ । भिडियो हाल्छ । भावना व्यक्त गर्छ । यसले मान्छेहरूको व्यक्तिगत, सामुदायिक गोपनीयतालाई सार्वजनिक गरिरहेको हुन्छ । यो माध्यमबाट केही शक्तिशाली व्यक्ति, समूह, देशले तथ्यांक संकलन पनि गरिरहेको छ । डिजिटल प्लाटफर्म सामान्य मानिसका लागि एक्सप्रेसनको माध्यम भयो । तर, उनीहरूका लागि निगरानीको माध्यम भएको छ । त्यसकारण डिजिटल प्लाटफर्म, डिभाइस हामीले सोचेजस्तो सन्तुलित डिभाइस होइन । यो निश्चित समाजको उत्पादन, निश्चित मान्छेहरूको इन्ट्रेस्ट सेभ गर्ने माध्यम हो । राजनीतिक इन्ट्रेस्ट सेभ गर्ने माध्यम हो । निगरानी गर्ने माध्यम हो । असमानता बनाउने माध्यम हो ।

असमानताको खाडल झनै व्यापक 
डिजिटल संसारले असमानताको खाडललाई झनै व्यापक बनाउँछ । यसले सामाजिक सञ्जाल प्रयोग गर्नेलाई भन्दा यसको मालिकलाई धेरै फाइदा दिइरहेको छ । यसले वर्गीय खाडल त बढाउँछ नै । सांस्कृतिक, भाषिक खाडल पनि बढाउँछ । यसले संसारभरको आदिवासीको भाषा मेटाउँदै जान्छ । संसारभरको आदिवासीको ज्ञान प्रणालीलाई पछौटेको नाममा बिस्तारै पाखा लगाउँदै जान्छ । हाम्रा पुराना मिथ, अभ्यासलाई रूढीवादीको नाममा मेटाउँदै लैजान्छ । 

अन्तत: यसले पश्चिमा ज्ञान उत्पादन प्रणाली मात्र ठिक हो । भन्नेतिर लैजान्छ । पश्चिमाको कुरा ठिक भन्नका लागि डिजिटल एल्गोरिदमले बारम्बार प्रवर्द्धन गर्छ । तपाईंले हेर्न नचाहे पनि आइरहन्छ । उसले डिजिटल प्लाटफर्मबाट आफ्ना कुरा थोपरिरहन्छ । यसबाट असमानताको खाडल स्वाभाविक रूपमा बढाउँछ । 

डिजिटल सोसियोलोजीले प्रविधि, समाज र शक्तिबिचको सम्बन्धलाई आलोचना गर्छ । प्रविधि र शक्ति एकआपसमा अन्तरसम्बन्धित छ । जो शक्तिशाली छ, त्यो शक्तिशालीले प्रविधिको प्रयोगबाट आफ्नो शक्ति निर्माण गर्छ । शक्ति प्रयोग गरेर अरूमाथि प्रभुत्व पनि कायम गर्छ । प्रविधिको माध्यमबाट उसले आफ्नो कुरालाई मान्छेहरूबिचमा लैजाने काम गर्छ । प्रविधि र शक्ति एकआपसमा नछुट्टिने कुरा हो । कमजोरको पहुँचमा प्रविधि हुँदैन । कमजोरले त्यो प्रविधि प्रयोग गर्न पनि सक्दैन ।

(कुराकानीमा आधारित)

सुझावित समाचार