नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरूको हुर्मत लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भविष्य लामो नभएको दाबी गरेका छन्। नयाँ दलको दाबी गर्ने रास्वपा विचारविहीनहरूको चौतारीजस्तो भएको उनको टिप्पणी छ।
पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पुनले रास्वपा पार्टी नभई स्पष्ट विचार, दर्शन, राजनीति, एजेन्डा र इतिहास नभएकाहरूको समूह भएको बताए ।
‘पार्टी बन्न विचार, दर्शन, राजनीति, एजेन्डा, संगठन र इतिहास चाहिन्छ । विचार के हो थाहा छैन, नीति के हो त्यो पनि थाहा छैन । इतिहास के हो त्यो पनि थाहा छैन । कोही कताबाट, कोही कताबाट आएको छ । चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ । नयाँ पार्टी भनेको छ,’ पुनले भने ।
गत ०७९ को निर्वाचनमा पुराना दलसँग रिसाएका सहरी मतदाताले जिताएका ठाउँमा यसपटक रास्वपाको प्रभाव कमजोर देखिएको दाबी पुनले गरे । यसअघि रास्वपाले जितेका काठमाडाैंका २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको लहर घटेबाट मतदाताले संगठन र विचार भएका राजनीतिक दललाई जिताउनुपर्ने महसुस गरेको बुझ्न सकिने तर्क गरे । ती क्षेत्रमा रास्वपाका उम्मेदवारले हार्ने दाबी पनि पुनको थियो ।
सक्नेले गर्ने भन्ने रास्वपाको आर्थिक नीति पनि मुलुक सुहाउँदो नभएको आरोप उनले लगाए । शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवा सक्नेले किन्ने, नसक्नेले हेरेर बस्ने भन्ने उदारवादी अर्थनीतिको पक्षमा रास्वपा रहेको बताए ।
सक्नेले शिक्षा किन्ने, सक्नेले स्वास्थ्य र सेवा किन्ने वा सबै सक्नेले मात्र गर्ने वा सबै बजारलाई छाडिदिने भन्ने अर्थनीति सही होइन । नसक्नेलाई राज्यले हेर्नुपर्छ । त्यसैले हामीले समाजवादी अर्थनीतिको वकालत गरेका छौँ । राज्यले अभिभावकीय भूमिका खेल्ने अवस्थालाई हामीले समाजवाद भनेका हौँ,’ पुनले भने, ‘नसक्नेलाई राज्यले हेर्नुपर्छ भन्ने समाजवाद हो । गरिब छ, सीमान्तकृत छ, अपांग छ, जसको पहुँच राज्यमा छैन । उनीहरूलाई राज्यले हेर्नुपर्छ ।’ सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरूको हुर्मत लिएर उदाएको रास्वपाको भविष्य लामो नभएको दाबी गरे ।
फरक प्रसंगमा पुनले पाँच दिनमा भ्रष्टाचार निर्मूल गर्छु भन्ने प्रधानमन्त्री सुशीला कार्कीले सरकार बनेको पाँच महिनासम्म पनि केही नगरेको आरोप लगाए ।
आफूसँग दुईतिहाइ रहेको दम्भमा भ्रष्टाचारीको संरक्षण र बिचौलिया पालनपोषण गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको पुनले बताए ।