ललितपुरको ठेचोमा माधवनारायणको परम्परागत नगर यात्रा भव्य रूपमा सम्पन्न भएको छ। नगर यात्राका क्रममा एउटा खासीमा सवार एक बालकले शंख बजाउँदै र जल छर्किँदै नगर परिक्रमा गरेका थिए।
स्थानीयका अनुसार खासीलाई गोसाइँकुण्डको प्रतीक र बालकलाई भगवान् शिवको प्रतीकका रूपमा लिइने परम्परा रहेको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो नगर यात्रा माधवनारायण मेलाको प्रमुख आकर्षण मानिन्छ।
माधवनारायण मेला तथा जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी व्रतकथासँग सम्बन्धित छ। यो परम्परा ललितपुरको ठेचोमा मात्र नभई साँखु, भक्तपुरलगायतका विभिन्न स्थानहरूमा पनि श्रद्धा र आस्थाका साथ मनाइन्छ।
नगर यात्राका क्रममा ठेचोका स्थानीयवासीहरूले विभिन्न धार्मिक रूप धारण गर्दै आफ्नो शरीरमा दियो तथा कलश बोकेर नगर परिक्रमा गरेका थिए। यसले स्थानीय संस्कृति, धार्मिक आस्था र सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ।




