नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेईबिच आज ल्हासास्थित महावाणिज्य दूतावास कार्यालयमा भेटघाट भयो ।
भेटका अवसरमा नेपाल–चीनबिच सदिऔँदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षहरूमा चर्चा भएको थियो ।
भेटमा दुई देशबिच कायम प्राज्ञिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन क्रियाशील रहने, दुई देशका प्राज्ञ, सञ्चारकर्मी र संस्कृतिकर्मीहरूबिचको सम्बन्ध स्थापित गरी निरन्तरता दिने, सीमा क्षेत्रका युवाहरूबिच सहकार्य स्थापित गर्नेजस्ता विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा दुई देशका विश्वविद्यालय र शैक्षिक संस्थाहरूबिच अनुभव आदान–प्रदान गर्ने र एक–अर्काको संस्कृति प्रवर्द्धनका लागि पहल गर्ने कुराकानीसमेत भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।