भारतीय अधिकारीले घातक निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार ढिलो गरी एक विज्ञप्ति जारी गर्दै पश्चिम बंगाल राज्यमा दुईजनामा निपा भाइरस केस भेटिएपछि ‘समयमै नियन्त्रण’ गरेकाले भाइरस फैलिन नपाएको बताएको छ ।
भारतले भाइरसको विस्तारसम्बन्धी फैलिएको चिन्तालाई कम गर्ने प्रयास गरे पनि कतिपय एसियाली देशले भने भारतबाट आउने यात्रुको स्क्रिनिङ प्रक्रिया लागू गरेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले आफ्नो विज्ञप्तिमा पुष्टि भएका भाइरसका दुई केससँग सम्पर्कमा आएका १९६ मानिसलाई ‘पहिचान गरी निगरानी र परीक्षण गरिएको बताएको छ । सबैको परीक्षण नकारात्मक रहेको पनि उसले बताएको छ ।
‘यो विज्ञप्ति मिडियामा आएका अनुमानित तथा भ्रामक झुटा तथ्यांकलाई स्पष्ट पार्न जारी गरिएको हो । स्थिति निरन्तर निगरानीमा छ । सबै आवश्यक उपाय अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले निगरानी, प्रयोगशाला परीक्षण र क्षेत्रगत अनुसन्धान सबै बढाइएको छ ।’ सन् १९९० को दशकमा प्रकोप रूप लिएपछि मलेसियामा पहिलोपटक पहिचान गरिएको निपा भाइरस चमेरो, सुँगुर र मानव–मानव सम्पर्कबाट फैलिन्छ । यस भाइरसविरुद्ध हालसम्म कुनै खोप बनेको छैन । यस भाइरसबाट संक्रमितमा तीव्र ज्वरो आउने, जिउ काम्ने र बान्ता आउनेजस्ता लक्षण देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरसबाट संक्रमित भएकामध्ये अनुमानित ४० देखि ७५ प्रतिशतको मृत्यु भएको छ । यही उच्च मृत्युदरका कारण यो रोगको विस्तारको डरले विश्व पहिलेदेखि चिन्तित छ ।
पछिल्लो संक्रमणको समाचारपछि भारतले क्षेत्रीय चिन्तालाई शान्त पार्न खोजिरहे पनि कैयौँ एसियाली देशले विमानस्थल र सिमाना क्षेत्रमा भारतीय नागरिकमाथि निगरानी बढाएका छन् । चीनले सीमावर्ती क्षेत्रमा रोग रोकथाम कदम बढाएको बताएको छ । चिनियाँ सरकारी मिडियाका अनुसार स्वास्थ्य अधिकारीले चिकित्सा कर्मचारीलाई निपा भाइरससम्बन्धी जोखिम मूल्यांकन र विशेष प्रशिक्षण सुरु गरेका छन् ।
इन्डोनेसिया र थाइल्यान्डले पनि विमानस्थलमा भारतबाट आउने व्यक्तिको स्क्रिनिङ बढाएका छन् । म्यानमारको स्वास्थ्य मन्त्रालयले नागरिकलाई पश्चिम बंगालको यात्रा नगर्न सल्लाह दिएको छ भने विमानस्थलमा कोरोना भाइरस महामारीको समयमा जस्तै निगरानी थालिएको छ ।
भियतनामको स्वास्थ्य मन्त्रालयले मंगलबार स्थानीय अधिकारीलाई सीमा नाका, स्वास्थ्य सुविधा र समुदायमा निगरानी बढाउन निर्देशन दिएको सरकारी मिडियाले जनाएको छ ।