भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप उपाधि जितेका छन् । बर्दीबासस्थित पार ७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले समग्रमा ९ अन्डर २०७ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।
उनले उपाधि जित्दा नेपालका नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङ, टंकबहादुर कार्की र भुवनकुमार रोका १० स्ट्रोकले पछि परे । भुवनको यो करिअरकै १२औँ उपाधि हो । उपाधिसँगै उनले एक लाख ७० हजार रुपैयाँ हात पारे । नीरजले इभन पार ७२ को स्कोर गरेका थिए । टंक र भुवनले २ ओभर ७४ स्कोर गरेका थिए ।
समग्रमा उनीहरूले १ ओभर २१७ स्कोर गरी संयुक्त रूपमा दोस्रो स्थान बाँड्दै जनही एक लाख दुई हजार तीन सय रुपैयाँ पाए । यसैगरी, एमेच्योरमा सुन्दर राईले उपाधि जिते । उनले समग्रमा ५ ओभर २२१ स्कोर गरेका थिए । उनले दोस्रो स्थानमा रहेका प्रकृत तामाङलाई १६ स्ट्रोकले हराए । प्रकृत २१ ओभर २३७ स्कोरका साथ दोस्रो भएका छन् । उपाधि विजेता भुवनले फ्रन्ट नाइन र ब्याक नाइनमा समान १ अन्डर ३५ स्कोर गरेका थिए ।
एक नम्बर खेलाडी नीरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन पार ३६ स्कोर गरे । टंकले फ्रन्ट र ब्याक नाइनमा १ ओभर ३७ स्कोर गरे । भुवनकुमार रोकाले पाँचौँ होलको बोगीविरुद्ध आठौँ होलको बर्डीका साथ इभन पार ३६ खेले । उनले ब्याक नाइन २ ओभर ३८ मा सकाए । ५४ होलको प्रतियोगितामा ३० प्रोफेसनल र ६ एमेच्योरले भाग लिएका थिए ।