रामेछापका नेता चुनावमा उठाउँछन् मुद्दा, निर्वाचनपछि ओझेलमा

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

०६४ पछिका हरेक निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका उम्मेदवारहरूले निर्वाचन जित्नकै लागि विभिन्न मुद्दाहरू उठाउने गरे तापनि निर्वाचनपश्चात् ती सबै मुद्दा कार्यान्वयन नगर्दा ओझेलमा पर्दै आएका छन् ।

जिल्लामा ठुला राजनीतिक शक्तिहरूमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादी पार्टीबाट उम्मेदवार बनेका उम्मेदवारहरूले जिल्लामा देखापरेका नागरिकको समस्याहरू समाधान गर्न विभिन्न आश्वासनहरू बाँडेर निर्वाचन जित्दै आएका छन् ।विशेषगरी सबै उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माण र निःशुल्क किसानलाई मल र बिउ–वितरणजस्ता मुद्दा उठाउँदै आएका छन् । त्यस्तै, जिल्लाकै सबैभन्दा ठुलो घ्याप्चेको पहिरो रोकथाम, भूकम्पपछि चिरा परेका बस्ती स्थान्तरण, ग्रामीण भेगका सडक कालोपत्रे गर्नेजस्ता मुद्दा पनि नेताहरूले उठाउँदै आएका छन् । ती उठाएका मुद्दाहरूमध्ये धेरै कार्यान्वयन भएका छैनन् ।

स्थानीय मतदाताले निर्वाचनको समयमा गाउँमा देखापरेका नेता मत दिएर पठाएपछि गाउँ नफर्कँदा आफ्ना समस्या राख्नसमेत समस्या भएको मन्थली नगरपालिका– १ का डिलबहादुर सार्की बताउँछन् । चुनावको वेला मन्थली नगरपालिका– ४ सालु र लिखु तामाकोशी गाउँपालिका– ४, बिजुलीकोटको सिमानामा पर्ने घ्याप्चेको पहिरो रोकथाम गर्ने आश्वासन दिए पनि कार्यान्वयन गरेनन् । उक्त पहिरोबाट मन्थली नगरपालिका– ३ ठुलिमदौ र वडा नम्बर ४ सालुका धेरै नागरिकहरूले अकालमा धेरैले ज्यान गुमाए, पहिरोका कारण चार दर्जनभन्दा बढी घरबारविहीन हुन पुगे भने सोही पहिरोबाट रणजोर खोलामा आउने लेदोले हजारौँ रोपनी खेतीयोग्य जमिन पुर्याे । उक्त खोलाका कारण अहिले पनि धेरै बस्ती जोखिममा रहेका छन् ।

त्यसैगरी जिल्लाको दक्षिणी भेगमा खानेपानीको चरम समस्या रहेको छ । अहिले पनि एक गाग्री पानी लिन उपभोक्ता रातको निद्रा माया मारेर रातभर पँधेरोमा जाग्राम बस्न विवश छन् । सदरमुकाम मन्थलीमा पर्ने मन्थली नगरपालिका– ७, सल्लेनीका नागरिकले खानेपानी पाउन सकेका छैनन् । उक्त गाउँमा मगर र नेवार समुदायको बसोबास रहेको छ । धेरै चुनाव भए, धेरै नेता गाउँमा भोट माग्न आउँदा गाउँमा सडक, खानेपानी ल्याइदिने आश्वासन दिएर चुनाव जितेर गए । तर, गाउँमा अहिलेसम्म पानी ल्याएनन् ।यसपटकको निर्वाचनमा भोट दिने वेला सोच्नुपर्ने अवस्था आएको मन्थली नगरपालिका– ७, सल्लेनीका राजेन्द्र खड्काले बताए ।

त्यस्तै, सदरमुकाम मन्थली– ६, भलुवाजोरमा खानेपानी अभावका कारण करिब दुई सयभन्दा बढी बस्ती नै अन्यत्र सरेका छन् । उक्त गाउँमा चार सय नागरिकको बसोबास रहेको छ । ०७१ तामाकोशी नदीको पानी लिफ्टमार्फत उक्त गाउँमा पुर्याउने योजना अलपत्र परेको छ । गाउँमा खानेपानी नभएकै कारण धेरै नागरिकले गाउँ छाडेको मन्थली नगरपालिका– ६ का रामबाबु थापाले जानकारी दिए । सदरमुकामबाट गाउँसम्म बाह्रै महिना चल्ने गरी सडकको स्तराेन्नति गर्ने, गाउँमा सबै घरघरमा खानेपानी पुर्याउने, गाउँको विद्यालयलाई प्लसटुसम्म पुर्याउने आश्वासन दिएर यसअघिका निर्वाचन जितेका नेताहरू यसपटकको चुनावमा के आश्वासन लिएर मत माग्न आउँदा रहेछन्, त्यो हेर्न बाँकी रहेको थापा बताउँछन् । 

विगतका चुनावमा बनाएका नाराजस्तै धेरै राजनीतिक दलका उम्मेदवारले यस वर्ष पनि उही पुरानै नारा अघि सारेका छन् । ठुला राजनीतिक दलमध्ये नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले बिदेसिएका नागरिकलाई नेपालमै रोजगारी, सडक, जलविद्युत्, खानेपानी र दिगो पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यमा गुणस्तर सुधार र किसानलाई मल, बिउ, अनुदानलगायतका मुद्दा अघि सारेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार माधव ढुंगेलले जिल्लालाई आर्थिक रुपान्तरण गर्ने, एआईको डेटा सेन्टर हबको रूपमा विकास गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम गर्नेलगायतका मुद्दा अघि सारेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले यसअघि जिल्लामा भएका सबै विकास आफ्नो पार्टीले गरेको र बाँकी शिक्षा, स्वास्थ्य, रोजगारीको मुख्य मुद्दा बनाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालका उम्मेदवारहरूले पनि यसपटकको निर्वाचनमा पुरानै राजनीतिक दलका नेताहरूले जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र रोजगारीको मुद्दा अघि सारेका छन् ।
    
    

सुझावित समाचार