कपास विकास समितिको करिब दुई करोडबराबरको जग्गा पालिकाले गर्‍यो अतिक्रमण

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

बर्दियामा रहेको कपास विकास समितिको करिब दुई करोड रुपैयाँ बराबरको जग्गा मधुवन नगरपालिकाले बाटो बिस्तारको नाममा अतिक्रमण गरेको छ । मधुवन नगरपालिका, ८ मा सानोश्री बजारमा रहेको कपास विकास समितिको करिब चार कठ्ठा जग्गा, करिब दुई करोड रुपैयाँ बराबरको जग्गा मधुवन नगरपालिकाले बाटो बिस्तारको नाममा अतिक्रमण गरेको हो ।

पालिकाले समितिको जग्गामा बाटो बिस्तार गर्ने भन्दै  जग्गा अतिक्रमण गरेको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडबाट कपास विकास समितिले ३ विद्या जग्गा खरिद गरी २०४६ सालमा कार्यालय स्थापना गरेको थियो । द्वन्द्वमा तत्कालीन माओवादीको त्रासले गर्दा कपास विकास समितिको कार्यालय खजुरा बाँके सरेको थियो । त्यसपछि  समिति कर्मचारी विहिन भएको थियो । जग्गा र भवनको रेखदेख गर्नका लागि समितिले एकजनालाई दैनिक ज्यालादारीमा राखेको थियो । 

२०६४ सालमा शसस्त्र प्रहरी बलले कार्यालय स्थापना भएपछि केही समय समितिको जग्गा सुरक्षित रहेको थियो । करिब ४ वर्ष अगाडि शसस्त्र प्रहरी बलले  कपास विकास समितिलाई जग्गा बुझाएपछि सो जग्गामा  भूमाफियाको नजर पर्दै आएको थियो । केही समयमा पहिला नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको ब्यानर राखेर जग्गा कब्जा गर्ने प्रयास समेत भएको थियो । त्यसबेला नेपाल प्रहरी र शसस्त्र प्रहरी बल जग्गा कब्जा गर्न आउने समूहलाई त्यहाँबाट हटाएको थियो । भूमाफिया, सुकुम्बासी देखि पालिका सम्मको नजर समितिको जग्गामा परेको छ । पालिकाले समितिको  जग्गालाई अतिक्रमण गरी बाटो बिस्तार गर्न खोजेको छ । समितिको जग्गासँग हुलाकी सडक पहिलादेखि जोडिएको छ । 

 पालिकाले समितिको अनुमति बिना जग्गामा रहेको तारबार हटाउने, रूख कटान गर्ने र समितिको जग्गामा डोजर चलाएर बाटो खन्ने काम गर्दै आएको कपास विकास समितिको कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले बताए । उनले भने, ‘ पालिकालाई समितिको जग्गामा बाटो बिस्तार गर्ने भए विधि प्रकृया पुरा गरेर मात्र गर्नु भन्दा पनि पालिकाले जबरजस्ती सडक बिस्तारको काम गर्दै आएका छ । मधुवनमा  समितिको नाममा ३ विद्याको जग्गाको पुर्जा छ ।सरकारी सम्पत्ति संरक्षण गर्ने काम पालिकाको काम पनि हो । त्यसकारण पालिकाले जग्गाको संरक्षण गर्नुपर्छ । तर पालिकाबाट समितिको  जग्गामा रहेको रूख काट्ने, बाटो खन्ने, माटो थुपार्ने काम भएको छ ।’

बाटो बनाउन लागेको विषयमा औपचारिक रुपमा पालिकाले समितिसँगै समन्वय गरेको छैन् । पालिकाले समितिको जग्गामा रहेको रूख कटान गरेपछि जिल्ल प्रशासन कार्यालय जानकारी गराएर बाटो बिस्तार काम रोकेको कार्यकारी निर्देशक पराजुलीले जानकारी दिए । उनले भने, ‘ त्यसबेला प्रमुख जिल्ला अधिकारीले भनेर जग्गामा बाटो बिस्तारको काम रोकिएको थियो । तर अहिले पालिकाबाट एकैपटक होइन तर विभिन्न समयमा जग्गामा बाटो निकाल्ने प्रयास  भइरहेको छ ।’

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले समितिको जग्गामा बाटो बिस्तार गर्नका पालिकाले निर्णय गरेर कपास विकास समितिको कार्यालयले र कृषि मन्त्रालय समेत पत्राचार गरेको बताए । उनले भने, ‘ पहिलाले देखि त्यस बाटो भएर स्थानीयहरु आवतजावत गर्दै आएका थिए ।  समितिको जग्गामा शसस्त्र प्रहरी बस्दा शान्ति सुरक्षाको लागि तारबार गरेर गर्यो । त्यहीँ भएर केही समय त्यो बाटो रोकिएको थियो । तर अहिले पालिकाले बाटो निर्माणको लागि काम गरेको छ । पालिकाले बाटो बनाउन लागेको विषयमा समितिदेखि मन्त्रालयसम्म सबैलाई जानकारी छ । मन्त्रालय पनि बाटो बनाउने विषयमा सकारात्मक छ ।’ मन्त्रालय सकारात्मक भएपनि अहिले मन्त्रालयले कुनै पत्राचार नगरेको समेत नगरप्रमुख भाटले जानकारी दिए । 

पालिकाले समितिको करिब ३ कठ्ठा जति जग्गा अतिक्रमण गरी बाटो बिस्तार गर्न लागेको छ । पालिकाले अतिक्रमण गरेको जग्गाको बजार मूल्य अहिले करिब दुई करोड बराबर पर्छ ।

सुझावित समाचार