- गभर्नर विश्वनाथ पौडेलले बुधबार चिनियाँ केन्द्रीय बैंकका गभर्नर फानसँग भेटेर दुई देशबिचको क्रसबोर्डर विद्युतीय भुक्तानीमा सहजीकरण गर्न गरे प्रस्ताव
नेपाल राष्ट्र बैंकले भारतपछि चीनसँग अन्तरदेशीय (क्रसबोर्डर) भुक्तानी सेवा खुलाउन पहल गरेको छ । हाल केन्द्रीय बैंकले भारतसँग क्युआर कोडमार्फत भुक्तानी सेवा खुलाइसकेको छ । चीनसँग पनि क्रसबोर्डर भुक्तानी सेवा खुलाउन गभर्नर प्राडा. विश्वनाथ पौडेलले बुधबार चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी)का गभर्नर फान कोङसङसँग भेटेर छलफल गरेका हुन् । बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआएस)द्वारा चीनको थिआनथिनमा आयोजित २०औँ एसिया प्यासिफिक हाइलेभल मिटिङ अन बैंकिङ सुपरभिजन कार्यक्रममा उनीहरूबिच भेट भएको थियो ।
दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा सहजीकरणका लागि दुई पक्षबिच छलफल भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । साथै भुक्तानी गर्दा पर्ने लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरूबिच छलफल भएको थियो । पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखेका छन् ।
अहिले भारतसँग नेपालको क्युआर कोडमार्फत विद्युतीय भुक्तानी खुला छ । भारतीय नागरिकलाई नेपाल भ्रमणमा आउँदा भुक्तानी खुला भए पनि भारतमा जाने नेपाली नागरिकका लागि भने अझै खुलिसकेको छैन । यसका लागि गत ५ माघमा भारतीय रिजर्भ बैंक (आरबिआई)का गभर्नर सञ्जय मल्होत्रासँग भेटेरै गभर्नर पौडेलले सहजीकरणका लागि पहल गरेका थिए ।
केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले भारतसँग क्रसबोर्डर भुक्तानी कार्यान्वयनमा भइसकेको अवस्था भए पनि अन्य मुलुकमा औपचारिक तयारी नभएको बताए । उनले भने, ‘अरू देशमा क्रसबोर्डर पेमेन्टका लागि तयारी गर्दा शुल्कलगायतका विषय उठ्छन् । दुई देशबिच औपचारिक प्रस्ताव अघि बढ्नुपर्ने हुन्छ ।’