छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपको महिलातर्फ अपराजित रहँदै न्यु डायमन्ड युथ स्पोर्टस क्लबले थाइल्यान्डको क्विन्स क्लबलाई ३–० को सोझो सेटमा हराएको छ ।
पोखरामा चलिरहेको च्याम्पियनसिपमा क्विन्सको हारसँगै नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले आफ्नो खेलमा अर्को विभागीय क्लब एपिएफलाई ३–० ले हरायो । वर्षाका कारण पोखरा रंगशालाको खुला भलिबल कोर्टमा खेल हुन सकेन । आयोजकले बुधबारका खेल बहुउद्देश्यीय कभर्डहलमा गरेको थियो ।
न्यु डायमन्डले क्विन्सलाई २५–२१, २५–२३ र २५–२० ले हरायो । अपराजित न्यु डायमन्ड यसअघि नै अन्तिम दुईमा पुगिसकेको थियो । लिग चरणका चारै खेल जितेकोे न्यु डायमन्डले सर्वाधिक १२ अंक बटुल्यो । पुलिसले ७ र क्विन्सले ६ अंक जोडेको छ ।
पूर्वविजेता एपिएफले ५ अंक जोडदा आर्मी जितविहीन बन्यो । अब शुक्रबार न्यु डायमन्ड र पुलिसबिच उपाधि भिडन्त हुनेछ । बिहीबार क्विन्स र एपिएफबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
महिलातर्फ एपिएफले दोस्रो, तेस्रो र चौथो संस्करणको उपाधि जितेको थियो । पुलिसले पहिलो संस्करणको उपाधि चुमेको थियो । फाइनल स्थान बनाउन पुलिसले एपिएफलाई हराउनुपर्ने थियो ।