२१ फागुनमा नयाँ पुस्तालाई छानौँ

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण
  • आगामी चुनावमा शिक्षित, भिजन भएका, इमानदार, संविधान, संसदीय व्यवस्था, आन्तरिक तथा विश्व राजनीति बुझेका नैतिकवान् युवा छानौँ 

भदौको जेन–जी आन्दोलनको बलमा कांग्रेस–एमालेको सरकार ढल्यो । संसद् विघटन भयो । २१ फागुनमा आमचुनाव हुने भयो । कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ युवा नेतृत्व चुनियो । कांग्रेसको नयाँ पुस्ता, जेन–जी, बालेन र रास्वपा चुनावमा उत्रिए । कांग्रेस एमालेसँग मिलेर चुनाव नलड्ने भयो । कांग्रेसले कार्यकर्तालाई ‘दास र लास’ बन्नबाट मुक्त गर्ने दाबी गर्यो । यी सबै महत्वपूर्ण घटना हुन् । अब एमालेमा पनि यस्तै भयो भने अर्को उपलब्धि हुनेछ । 

कांग्रेस–एमाले गठबन्धन देशको हितका लागि नभई पालैपालो प्रधानमन्त्री निश्चित गर्नका लागि थियो । एउटाले अर्काको बुई चढेर सिंहदरबार कब्जा गरिरहनका लागि थियो । सबै निकाय भर्तीकेन्द्र बनाउनका लागि थियो । जेन–जीको आन्दोलनले योजना भत्कियो । दुई दिनको आन्दोलनमा सरकारी सम्पत्ति जलेकामा समाजले दु:ख मनाए पनि नेताहरूको सम्पत्ति जलेकामा दु:ख मनाएनन् । सो सम्पत्ति गैरकानुनी हो भन्ने समाजले बुझेको थियो । अब चुनावमा शिक्षित, भिजन भएको, इमानदार, संविधान, संसदीय व्यवस्था, राजनीति र विश्व राजनीति बुझेका नैतिकवान् युवा छानौँ ।

व्यवस्था फेरियो, संविधान फेरियो तर सिंहदरबार रचनात्मक र सकारात्मक सोच र भिजन भएका युवा पुस्ताको हातमा पुग्न सकेन । जहिले पनि पुरानैको हातमा रह्यो । त्यसैले विकास भएन । राणाकालीन श्री ३ प्राइममिनिस्टरहरू कानुनभन्दा माथि हुन्थे । हाम्रा गणतन्त्रकालीन प्रधानमन्त्रीले आफूलाई कानुनभन्दा माथि राखेर कानुनले नछुने बनाए । रोजगारी सिर्जना गर्ने योजना बनाउन सकेनन् । विकास र सुधारका काम सुरु भएको जनताले महसुस गर्नुपर्छ भन्ने बुझेनन् । प्रचार खुब गरे । पानीचहाज, चुच्चे रेलको कथा सुनाएर कहिल्यै थाकेनन् । विनायोजनाको ‘भ्यु टावर’, पूरा गर्नै नसकिने योजनाको शिलान्यास गरेर समय बिताए । गणतन्त्रको १० वर्ष जनतालाई झुक्याउँदैमा बित्यो । मिडिया र विरोध सरकारका कान र आँखा दुवै हुन् । तर, उनीहरूले मिडिया र विरोधलाई दुस्मन ठाने । गठबन्धनका कारण बहुमत छ, सरकार ढल्दैन भनेर ढुक्क भए । ससंद्मा १३८ को अंकगणितभन्दा सडकमा युवाको विरोध शक्तिशाली हुन्छ भन्ने बुझेनन् । पत्रकारले प्रश्न गर्यो भने ओठे जवाफ दिएर टालटुल र प्रतिप्रश्न गरेर टार्न खोजे । आफ्ना कार्यकर्तालाई ‘दास र लास’ बनाइएकै छ, कांग्रेसभित्र देउवाले तह लगाउँछन् भन्ने भ्रम पालियो । राम्रै भयो, ढिलै भए पनि सरकार ढल्यो । 

०७२ को महाभूकम्प र ०७६ को कोभिडबाहेक देश सामान्य थियो । हातहतियारमा थाम्न नसक्ने गरी खर्च गर्नुपरेको थिएन । जनतालाई निचोरेर प्रशस्त कर लगाइएकै थियो । विदेशी सहायता र रेमिट्यान्स आएकै थियो । भारतका डा. मनमोहन सिंह, मलेसियाका महाथिर र सिंगापुरका ली क्वान यूले जस्तै हाम्रो पनि देश बनाउने प्रधानमन्त्रीले नै हो । हाम्रोमा पनि पञ्चायतकालमा आर्थिक विकास र पूर्वाधार बनेको थियो । तर, किन हामी असफल भयौँ भन्ने कहिल्यै सोच आएन । ध्यानजति भ्रष्टाचारमै केन्द्रित भयो । गठबन्धनले गर्दा सरकार नढल्ने भ्रम भयो । ‘पावर करप्ट्स, एब्सोल्युट पावर करप्ट्स एब्सेल्युट्ली’ ‘सिन्ड्रोम’ले छोयो । हालै स्पेनमा रेल दुर्घटना भएर दर्जनौँ मानिस मरे । प्रधानमन्त्रीले शोक मनाए । म जिम्मा लिन्छु भने । तर, हाम्रोमा ७६ युवाको नरसंहार हुँदा जिम्मा लिन्नँ भने । सो दोष मेटाउन संसदीय व्यवस्थामा हुनै नसक्ने मिडियाबाट डिबेट गर्नुपर्यो भनिरहेका छन् । बालेनले सहभागी नहुने भनेर ठिक गरे । ढिलो या चाँडो ‘डाउन फल’ हुनैपर्ने थियो । 

देशले युवा प्रधानमन्त्री चाहन्छ भन्ने ‘पुराना नेता’ले बुझेनन् । युवासँग म्याराथुन दौडमा भाग लिन हुँदैन भन्ने बुझेनन् । युवा गहना र ऊर्जा दुवै हुन् । युवा सिर्जनशील हुन्छन् । इमानदार हुन्छन् । नैतिकवान् हुन्छन् । सत्यवादी हुन्छन् । तिनले शपथ र संविधान उल्लंघन गर्दैनन् । नैतिकताले निर्देशित हुन्छन् । पद र इमानदारीको दुरुपयोग गर्दैनन् । भ्रष्टाचारीलाई जेल हाल्छन् । राजीनामा खल्तीमा हुन्छ । अक्षमता देखियो, काम गर्न सकिएन, विवादित बनियो भने त्यसको असर जनता र राष्ट्रमा नपरोस्, सरकारी ढुकुटीमा क्षति नपुगोस् भनेर खल्तीबाट झिकेर राजीनामा गर्छन् । नैतिकता तिनको मन र मस्तिष्कमा दृढ रहन्छ । सरकारी गाडी र सुविधा छाडेर राष्ट्रका नाममा सम्बोधन गरेर अफ्नो निवास फर्किन्छन् । फर्केर राजनीति धमिल्याउँदैनन् । पुन: चुनाव लड्दैनन् । हामीले नवयुवासँग प्रतिस्पर्धा गर्न हुँदैन भन्ने बुझ्छन् ।  

युवाले भोट किन्दैनन् । झुटा आश्वासन दिँदैनन् । मलाई जिताऊ भ्युटावर, रंगशाला बनाइदिन्छु भन्दैनन् । समग्र देशलाई नै चुनाव क्षेत्र मान्छन् । पूरा गर्न सकिने कुरा मात्र बोल्छन् । घोषणापत्रमा झुटा कुरा लेख्दैनन् । असम्भव, महत्वाकांक्षी योजना घोषणापत्रमा राख्दैनन् । आफू उम्मेदवार बनेको चुनाव क्षेत्र मात्र होइन, सिंगो देशकै विकास हुनुपर्ने मान्यता राख्छन् । युवामा भिजन हुनाले समग्र नेपालको विकास गर्दा आफ्नो चुनाव क्षेत्र स्वत: विकसित हुन्छ भन्ने बुझाइ हुन्छ । अब सिंहदरबारबाट तलब होइन, वडाबाट वृद्धभत्ता लिनुपर्छ भन्ने सोच पुराना नेतालाई कहिल्यै आएन । 

आगामी चुनावमा पनि हामी मतदाताले बुद्धि पुर्याएनौँ भने दु:ख दोहोरिनेछ । पुराना र नयाँ सफल र असफल, इमानदार भिजन भएका र नभएका, ‘गभरनेन्स’ बुझेका र नबुझेका, झुटा घोषणापत्र तयार गर्नेमध्ये छान्ने अवसर पाँच वर्षमा एक दिन आउँछ । त्यो दिन आगामी २१ फागुन हो । सो दिनको सदुपयोग गरौँ । नेताहरूलाई सिंहदरबार छिराउने हामी १८ वर्ष पुगेका मतदाताले नै हो । बिचैमा चुनाव गर्नुपर्ने अकल्पनीय, असामान्य अवस्था सिर्जना गराउने हामीले नै पठाएका यिनै हुन् । संसद् भताभुंग गरेर २७ अर्ब खर्चेर चुनाव गर्नुपर्र्ने अवस्थाका कारण माग्ने र जान्ने हाम्रो अधिकार हो । तर, न हामीले माग्यौँ ? न तिनलाई दण्डित गर्याैँ ? देश चुनावी ‘मुड’मा गइसक्यो । चुनावले नयाँ ऊर्जा दिन्छ । तर, चुनाव रोक्न सक्दो प्रयास गर्दै छन् । रोक्न चाहनेले सर्वोच्च अदालत गुहारेका छन् । झापाबाट 

‘प्रोभोकेटिभ’ बोलेर चुनाव बिथोल्न खोजेको हो कि जस्तो महसुस हुन्छ । बालेन साह झापाबाट लड्दै छन् । तसर्थ, झापा चुनाव भाँड्ने ‘इपिसेन्टर’ बन्ने प्रबल सम्भावना छ । निर्वाचन आयोगले कञ्जुस्याइँ नगरी झापाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया र मानव अधिकारवादी एनजिओ, आइएनजिओलाई पर्यवेक्षक बोलाएर तैनाथ गर्नुपर्छ ।

तीन वर्षअघिको चुनावदेखि ‘हंग पार्लियामेन्ट’ बन्यो । माओवादी–एमाले, माओवादी–कांग्रेस पुन: माओवादी–एमाले र त्यसपछि कांग्रेस–एमालेको सरकार बन्यो । तर, ती सबै सरकार फेल भए । संसद् प्रधानमन्त्री बन्ने र बनाउने प्रयोगशाला मात्र नभई मन्त्री र प्रधानमन्त्री उत्पादन गर्ने कारखानासमेत बन्यो । देश बनाउने होइन, सत्तामा टिकिरहने षड्यन्त्रमा समय बिताए नेताहरूले ।

त्यसैले, आउँदो चुनावको सदुपयोग गराैँ । भोट सही मानिसमा नपरेकाले देश र जनताले दु:ख पाएका हुन् । पुराना र नयाँको क्षमता र भिजनको फरक बुझौँ र युवालाई छानौँ । तीन वर्षअगाडि युवा उम्मेदवार छानेको भए २१ फागुनसम्ममा खर्च हुने २७ अर्ब हाललाई बच्ने थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढ्थ्यो । सिंगापुर हामीभन्दा धेरै नयाँ र कान्छो देश हो । त्यहाँ नै संसदीय प्रजातन्त्र छ । सिंगापुर बन्नुको कारण निर्वाचनमा सही नेता छान्नाले हो । हामीकहाँ प्रजातन्त्र आएको ३६ वर्ष भयो । ३६ वर्षभित्र तीन आन्दोलन भए । सिंगापुरमा कुनै आन्दोलन भएन । शान्तिपूर्वक चुनाव भयो । ०४६ सालमा प्रजातन्त्र प्राप्त भएदेखि नै युवालाई सिंहदरबार पुर्याएको भए देश आज सम्पन्न हुने बाटोमा बढिसकेको हुने थियो ।

मत ठिक दल र व्यक्तिलाई नपर्नाले ५० डिग्री तापक्रममा हाम्रा छोराछोरी, नातिनातिना, दाजुभाइ दिदीबहिनी विदेशमा काम गर्न बाध्य भइरहेका छन् । तिनले पठाएको रेमिट्यान्सले हामी बाँचेका छौँ । तर, उनीहरूले नै यहाँको निर्वाचनमा मत हाल्न पाउँदैनन् । ५० डिग्रीमा बाध्यतावश काम गर्नुपर्नेलगायत विश्वका जुनसुकै देशमा रहेका नेपालीको चाहना हामी नेपालमा बस्नेले पुरानालाई फालेर नयाँ युवालाई सिंहदरबार पुर्याएको देख्ने चाहना छ । जनमत लिन सम्भव भए तिनले हामीलाई यसरी देशबाहिर काम गर्नुपर्ने अवस्था सिर्जना गर्ने ती पुरानालाई फालेर तिनलाई सिंहदरबारबाट तलब होइन, वडाबाट वृद्धभत्ता खाने बनाऊ, नयाँ युवालाई सिंहदरबारमा पठाऊ भन्ने थिए । त्यसैले, आगामी २१ फागुनको चुनावलाई पुरानालाई तलब होइन, वडाबाट वृद्धभत्ता खुवाएर सम्मान गर्ने गरी मतदान गरौँ ।

२१ फागुनलाई महत्वपूर्ण उत्सव र अवसर बनाऔँ । २१ फागुनलाई दलका कार्यकर्तालाई ‘दास र लास’ बन्नबाट जोगाउने दिन पनि बनाऔँ । कांग्रेसको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवाको हातमा आयो । तिनले कार्यकर्तालाई ‘दास र लास’ बन्नबाट बचाए । बालेन र रवि छामिलछानेको रास्वपा प्रजातान्त्रिक छँदै छ । अब एमालेका कार्यकर्ताले आफूहरू पनि ‘दास र लास’ नबन्न आन्तरिक आन्दोलन छेड्नुपर्यो । एमालेको हालैको महाधिवेशनमा त्यस्तो सम्भावना देखिएन ।

अन्त्यमा, आगामी २१ फागुनमा पुराना र परीक्षित भइसकेका नेतालाई मत पर्यो भने नेपाल कता जान्छ भन्न सकिन्न । युवालाई रोजियो भने समय लाग्ला, तर देश एक न एक दिन ‘सिंगापुर’ बन्न सक्छ । १७ असार ०८१ को मध्यरातमा कंग्रेस र एमालेले गरेको सातबुँदे सहमति र २९ पुस ०८२ मा सार्वजनिक गरिएको कांग्रेस महामन्त्रीद्वयको १४ बुँदे प्रस्ताव पढौँ । पहिलोमा दुई ठुला दलको गठबन्धन प्रधानमन्त्री पद निश्चित गर्न गरिएको थियो । दोस्रोमा दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रावधान पारित गरिएको थियो । त्यसैले अब पुराना होइन, नयाँ युवा रोजौँ ।

(केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्)

सुझावित समाचार