निर्वाचन प्रहरीको माघ १८ गतेदेखि आधारभूत तालिम सुरु हुने

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनाेट भएका निर्वाचन प्रहरीको माघ १८ गतेदेखि आधारभूत तालिम सुरु हुने भएको छ ।

निर्वाचन प्रहरीका लागि धनकुटामा दोस्रोपटक म्याद थप गरेपछि मात्रै आवश्यक संख्यामा दरखास्त पुगेको थियो । उनीहरूको आज मात्र छनाेट सम्पन्न भएको छ ।

निर्वाचन प्रहरीको छनाेट सम्पन्न भएपछि बाँकी आवश्यक काम पूरा गरी माघ १८ गतेदेखि २७ गतेसम्म आधारभूत तालिम सञ्चालनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताए । 

धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि दुईपटकसम्म आवेदनका लागि म्याद थपिएको थियो । धनकुटामा नेपाल प्रहरीतर्फ ९८९ र सशस्त्र प्रहरीमा ९६ जना गरी एक हजार ८५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीको आधारभूत तालिम सम्पन्न भएपछि उनीहरूलाई कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताए ।

धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता छन्। मतदानका लागि ११९ मतदानस्थल र १६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ मतदानस्थल अतिसंवेदनशील, ४९ संवेदनशील र ५४ मतदानस्थललाई सामान्य मानिएको छ । संवेदनशील मतदान केन्द्रमा न्यूनतम तीनजना प्रहरी र १० निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । 
 

सुझावित समाचार