पश्चिममा वर्षा र हिमपात सुरु, प्रणाली पूर्व सर्दै

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

मंगलबार रातिबाट सुदूरपश्चिम क्षेत्रमा वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्लामा अहिले हल्का वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पछिल्लो तीन घण्टामा डडेलधुराको साहुखर्कमा चार मिलिमिटर वर्षा मापन भएको छ।

वर्षा गराउने पश्चिमी न्यूनचापीय प्रणाली क्रमशः पूर्व सर्ने विभागले जनाएको छ। ‘सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा हल्का वर्षाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेश हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ, ‘पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर साधारणतया बादल लागिरहेको छ । आज राति तथा भोलि दिउँसोसम्म पनि सो प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा–हिमपात हुने सम्भावना छ।’

विभागका अनुसार बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीमा मध्यम वर्षा तथा बागमती र कोशीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, मधेशसँगै कोशीका तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
 

सुझावित समाचार