नेपाल–भारत वाणिज्य तथा उद्योग परिसंघ (निक्की) ले सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाललाई उपाध्यक्षमा नियुक्त गरेको छ। मंगलबार परिसंघको कार्यकारी समिति बैठकले उक्त निर्णय गरेको हो।
तयालले यसअघि सूर्य नेपालका प्रबन्ध निर्देशक रहेका रवि रयावरमको स्थान लिएको निक्की सचिवालयले जनाएको छ । उनले हालै सूर्य नेपालका प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका छन्।
परिसंघका अध्यक्ष सुनील केसीले तयालको क्षमतामाथि विश्वास व्यक्त गर्दै निक्किीमा अब नयाँ ऊर्जा थपिने तथा यसको पहुँच तथा प्रभाव विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
निक्किीको कार्यकारी समितिले तयाललाई स्वागत गर्दै उनको कार्यकालमा नेपाल र भारतबिचको द्विपक्षीय व्यापार, आर्थिक सहकार्य तथा समग्र आपसी सम्बन्ध प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरेको छ । तयाल दिगो विकास र सीमापार आर्थिक सहकार्य प्रवर्द्धन गर्ने विभिन्न पहलहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको निक्किीले जनाएको छ ।
सूर्य नेपाल निक्कीको स्थापनाकालदेखि नै आबद्ध रहँदै आएको र सक्रिय तथा प्रतिबद्ध सदस्यको रूपमा परिचित रहेको निक्किीले जनाएको छ। निक्कीमा दुईजना उपाध्यक्ष रहने व्यवस्था छ, जसमा एकजना भारतीय संयुक्त लगानी (ज्वाइन्ट भेन्चर)बाट प्रतिनिधित्व हुने व्यवस्था छ भने अर्को नेपाली व्यवसाय समुदायको प्रतिनिधित्व गर्ने व्यवस्था छ। गौरव तयाललाई भारतीय संयुक्त लगानीतर्फबाट उपाध्यक्षमा नियुक्त गरिएको हो भने अर्का उपाध्यक्ष नेपाली उद्यमी व्यवसायी कुनाल कयाल छन्।