छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपटक भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ। भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् ।

यसपालीको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छिन्। उनले विभिन्न कविका भिन्न रसका रचनाहरू छान्दै अभ्यास गरिरहेकी छिन्। नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेस पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन्।

केही वर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन्। अँग्रेजी भाषाका साथै सँस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाण्डौ आइपुगेकी छिन्। नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको बताइएको छ।

यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेस हुने नेपालयले जनाएको छ।

‘आर’ शालामा आएर यस कार्यक्रमको प्रत्यक्ष आनन्द लिन असमर्थ संसारभरका पलेँटी प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ। पलेँटीकै वेबसाइटमार्फत ‘पे पर भ्यु’को अवधारणा अनुरुप सशुल्क यो सेवा प्रयोग गर्न सकिन्छ।

छन्द पलेँटीको प्रस्तुति यही  जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने छ।

सुझावित समाचार