जनवरी १ मा चीनले आफ्नो एक सन्तान नीति खारेज गरेको जनवरी १ मा एक दशक पूरा भयो । त्यसको ठिक दस दिनअघि चीनको परिवार नियोजन नियमको क्रूर कार्यान्वयनको लामो समयदेखि निरीक्षण गर्ने पेङ पेयुनको ९६ वर्षको उमेरमा मृत्यु भयो । उनको कार्यका लागि उनलाई कहिल्यै जवाफदेही बनाइएन । मृत्युपछि उनीबारे लेखिएका लेखहरूले पेङलाई ‘सुधारवादी’ भएकोमा प्रशंसा गरे, यद्यपि व्यवहारमा उनले पूर्णतया अमानवीय नीतिलाई मात्र निरन्तरता दिइन्, जसको परिणाम मुस्किलले साकार हुन थालेको छ ।
उपप्रधानमन्त्री चेन मुहुआले नै १९७९ मा पहिलोपटक एक सन्तान नीतिको प्रस्ताव गरेका थिए, जसमा चीनका तत्कालीन शीर्ष नेताहरू चेन युन र देङ सियाओपिङले अनुमोदन गरेका थिए । अन्न अभावको संकट टार्ने गलत विश्वासका कारण यो नीति लागू गरिएको थियो । तर, अर्को वर्ष मिसाइल वैज्ञानिक सोङ जियान र अर्थशास्त्री तियान सुएयुआनले २०८० सम्ममा चीनको जनसंख्या ४.२६ अर्ब पुग्ने चेतावनी दिएपछि,उनीहरूले यसलाई लागू गर्ने निर्णय गरे ।
प्रस्तावप्रति केही वरिष्ठ नेताहरूको अविश्वासलाई ध्यानमा राख्दै यो घोषणा गरिएको थियो । घोषणा कानुनमार्फत नभई खुलापत्रमार्फत पेस गरिएको थियो । १९८५ देखि धेरै क्षेत्रहरूमा दुई सन्तान नीति पनि परीक्षण गरिएको थियो । १९८९ को तियानमेन स्क्वायर विरोध प्रदर्शनपछि त्यतिवेलासम्म राज्य परिषद्को सदस्यमा पदोन्नति भइसकेका सोङले चीनका नवनियुक्त राष्ट्रपति जियाङ जेमिनलाई एक सन्तान नीतिलाई बलियो बनाउन राजी गराए । दुई वर्षभित्र, प्रजनन दर प्रतिस्थापनस्तर (प्रति महिला २.१ जन्म)भन्दा तल झर्यो । तर, नीति समाप्त गर्नुभन्दा पेङले राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन आयोगको प्रमुखको रूपमा आफ्नो हैसियतमा, ‘एक–भोट भिटो’ प्रणाली विस्तार गरिन्, जसले अधिकारीहरूको करिअरको सम्भावनालाई परिवार नियोजनको परिणामसँग प्रत्यक्ष रूपमा जोड्यो ।
यसले चीनभरका अधिकारीहरूलाई बढ्दो क्रूर रणनीतिहरू अपनाउन प्रेरित गर्यो । जब १९९१ मा सानडोङ प्रान्तले आफ्नो निर्दयी ‘सय सन्तानहीन दिन’ अभियान चलायो, महिलाहरूलाई पक्राउ गर्दै जबर्जस्ती गर्भपतन गरायो । पेङले यसको प्रयासको प्रशंसा गरिन् र अरूलाई पनि त्यसको अनुकरण गर्न आग्रह गरिन् । उनको कार्यकाल (१९८८–९८)भित्र जबर्जस्त रूपमा ११ करोड महिलाहरूले गर्भनिरोधका साधन प्राप्त गरे, चार करोड १० लाख बाँझो पारिए, र ११ करोडजनाको गर्भपतन गराइयो । समग्र प्रजनन क्षमता १९९० मा प्रतिमहिला २.३ जन्मबाट घटेर २००० मा १.२२ मा झर्यो जुन समयमा सानडोङ प्रान्तमा १० वर्षका बालबालिकाजत्तिकै ६ वर्षका बालबालिका मात्र ४० प्रतिशत थिए ।
पेङले निरन्तर पदोन्नतिप्राप्त गरिरहिन् । १९९८ मा, उनी राष्ट्रिय जन कांग्रेसकी उपाध्यक्ष र अखिल चीन महिला महासंघकी अध्यक्ष बनिन् । उनका स्थानीय कार्यकर्ताहरूले परिवार नियोजन कार्यान्वयनमा सहयोग गरे । २००१ मा राष्ट्रिय जन कांग्रेसकी अर्की उपाध्यक्ष जियाङ झेङहुआसँग मिलेर उनले राष्ट्रपति जियाङलाई २००१ मा परिवार नियोजन कानुन पारित गर्न विश्वस्त पारिन, जसले नीतिको ‘अवैध’ स्थिति समाप्त गर्यो । (२००१ भन्दा पहिले एक सन्तान नीति मात्र होइन, बरु १९७० को दशकको दुई सन्तान र तीन सन्तान नीतिसहित सम्पूर्ण परिवार नियोजन नीति ‘अवैध’ थियो ।
महत्वपूर्ण कुरा के छ भने, पेङले १९९४ देखि २००७ सम्म चीन जनसंख्या संघको अध्यक्ष र २००७–१८ मा मानार्थ अध्यक्षको रूपमा पनि काम गरिन् । यो पदले उनलाई चीनको जनसांख्यिकीय अनुसन्धान तथ्यात्मक रूपमा सहीभन्दा पनि वैचारिक रूपमा उचित छ भनी सुनिश्चित गर्यो । उदाहरणका लागि २००० को जनगणनाले प्रजनन दर केवल १.२२ देखाएको भए पनि पछि यो संख्या १.८ मा परिमार्जन गरिएको थियो । आखिर, राष्ट्रिय जनसंख्या तथा परिवार योजना आयोगका प्रवक्ता यु सुएजुनले २००७ मा औँल्याएझैँ, १.२ को प्रजनन दरले परिवार नियोजन नीतिहरूलाई अनावश्यक रहेको देखाउँछ ।
जब पर्यवेक्षकले पेङलाई सुधारकको रूपमा श्रेय दिन्छन्, तिनीहरूले सामान्यतया आधिकारिक जनसांख्यिकीविद्हरूको तर्फबाट २००४ मा पेस गरेको एक सन्तान नीतिलाई खुकुलो पार्ने प्रस्तावलाई उल्लेख गर्छन् । तर, प्रस्तावले परिवार नियोजन नियमहरूको द्रुत फिर्ता होइन, दुई–सन्तान नीतिलाई क्रमश: लागू गर्न आह्वान गरेको थियो । यसले शंकास्पद तथ्यांकका साथ यो अडानलाइ बचायो ।
२०००/०७ मा मैले लेखहरूको शृंखला, रिपोर्ट र एउटा पुस्तक प्रकाशित गरेँ जसमा भविष्यवाणी गरिएको थियो कि यदि परिवार नियोजन नियन्त्रण खारेज गरिए पनि प्रजनन क्षमता प्रतिस्थापनस्तरमा पुग्नेछैन र फेरि घट्न थाल्नेछ । प्रतिवेदनले २०२३ मा प्रति महिला १.४७ जन्म हुने भविष्यवाणी गरेको थियो । यसबाहेक, चीनको जनसंख्या १.४ अर्बभन्दा कम हुने अनुमान गरे । तर, मेरो चेतावनीलाई ध्यान दिनुभन्दा धेरै टाढा गएर निर्णायककर्ताहरूले मेरो पुस्तकमाथि प्रतिबन्ध लगाए ।
अनुमानित रूपमा प्रजननदर घट्दै गयो र अधिकारीहरूले त्यसलाई माथि उठाउँदै संशोधन गर्न जारी राखे । उदाहरणका लागि २०१० को जनगणनाले देखाएको प्रतिमहिला १.१८ जन्मदरपछि १.६३ मा परिमार्जन गरिएको थियो । यसैबिच, यु सुएजुन र झाई झेन्वुजस्ता वरिष्ठ परिवार नियोजन अधिकारीहरूले पोलिटब्युरोलाई ‘कम जन्मदरलाई दृढतापूर्वक कायम राख्न’ सिफारिस गरे ।
तर मेरो अनुमान सत्यसाबित भए, त्यसैले २०१२ मा, सरकारले मलाई ५०,००० शब्दको प्रतिवेदन प्रकाशित गर्न आमन्त्रण गर्यो जुन चीनका शीर्ष नेताहरूमाझ मात्र प्रसारित हुन्थ्यो । यद्यपि, फेरि पनि मेरो अनुमानले आधिकारिक जनसांख्यिकीविद्हरूको बढाइचढाइ गरिएको पूर्वानुमानसँग टकराव गरायो, जसमध्ये १७ जनाले स्पष्ट रूपमा भनेका थिए कि देशभर प्रतिघर दुई जन्मलाई अनुमति दिनाले प्रजननदर प्रतिमहिला ४.४ जन्मभन्दा बढी हुनेछ । सरकारले आफ्नो मूल्यांकनसँगै २०१४ मा दुई सन्तान नीति लागू गर्दै आफ्नो मूल्यांकन पूरा गर्यो ।
त्यो नीति पनि असफल साबित भएपछि चिनियाँ राज्य परिषद्अन्तर्गतको एक प्रकाशकले मेरो पुस्तकको नयाँ संस्करण प्रकाशित गर्ने र मेरो निष्कर्षमा केन्द्रित ‘जनसंख्या नीतिमा विशेष मञ्च’को योजना बनाएको थियो । तर, राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले पुस्तकको विमोचन रोक्न आधिकारिक पत्र पठायो । २०१६ मा जब आधिकारिक पूर्वानुमानले जनसंख्या घट्न थाल्नुअघि २०३० सम्म प्रतिमहिला १.८ जन्ममा प्रजनन क्षमता स्थिर हुने भविष्यवाणी गरेको थियो, त्यतिवेलासम्म देशभर दुई सन्तान नीति लागू गरिएको थियो ।
पेङले आफ्नो पछिल्ला वर्षहरूमा केही आत्मचिन्तनमा संलग्न भएकी थिइन् । उनीसँग भेट्न मलाई निम्तो पनि दिइन् (मैले अस्वीकार गरेँ), तर क्षति भइसकेको थियो । अधिकारीहरू अब स्वीकार गर्छन् कि २०२२ देखि जनसंख्या घट्न थाल्यो र २०२५ को प्रजननदर सम्भवत: प्रतिमहिला ०.९ जन्म मात्र थियो । जनसांख्यिकीय पतन एक स्पष्ट सम्भावना हो ।
यो कथाले चिनियाँ शासनमा रहेको एउटा घातक त्रुटिको उदाहरण पेस गर्छ : उच्च–स्तरीय अधिकारीहरूद्वारा समर्थित नीतिहरूको असफलता धेरै लामो समयसम्म लुकाउन सकिन्छ, कम्तीमा गलत वा हेरफेर गरिएको तथ्यांकमार्फत । यो लोकतान्त्रिक भारतको अनुभवको बिल्कुल विपरीत छ, जहाँ प्रधानमन्त्री इन्दिरा गान्धीले १९७५ मा जबर्जस्ती परिवार नियोजनका उपाय लागू गरेकी थिइन्, तर दुई वर्षपछि नीति खारेज गरिएको थियो ।
(विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक फुक्सियानले चीनको एक सन्तान नीतिविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए)
प्रोजेक्ट सिन्डिकेटबाट