दक्षिण एसियाली फुटबल महासंघले थाइल्यान्डको बैंककमा आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फ गोलअन्तरमा पछि परेपछि नेपाल तेस्रो स्थानमा सीमित भएको छ ।
भारतसँग गोलअन्तरमा पछि परेका कारण नेपाली पुरुष टोली तेस्रो हुँदै घर फर्कियो । प्रतियोगिताको सोमबार नेपालले आफ्नो अन्तिम खेलमा भुटानलाई ४–१ ले हराएको थियो ।
यस नतिजापछि नेपाल दोस्रो स्थानमा उक्लिएको थियो । तर, अर्को खेलमा भारतले पाकिस्तानलाई ४–१ ले हराउँदै नेपाल तेस्रो स्थानमा झर्यो । गोलअन्तरमा राम्रो बनाएको भारतले रजत पदक जित्यो ।
अघिल्लो खेलमा नेपालले भारतविरुद्ध अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा ३–३ को नाटकीय बराबरी खेलेको थियो । नेपाल र भारत दुवैले ६ खेलमा ११ अंक बटुले । भारतले नेपालविरुद्ध तीन गोलको भिन्नता राखेको हो । अपराजित रहँदै माल्दिभ्सले उपाधि जितेको छ । महिलातर्फ भने नेपाली टोली चौथो भएको छ ।