टाइगर कप भलिबल : आर्मी र माल्दिभ्सको लगातार तेस्रो हार

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

महिलातर्फ विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ पाहुना टोली माल्दिभ्स भलिबल एसोसियसन पोखरामा जारी छैटौं संस्करणको टाइगर कपमा लगातार तेस्रो खेलमा पराजित भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको आफ्नो तेस्रो खेलमा पनि दुबै टोली पराजित भए।

महिलातर्फ विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले आर्मीमाथि सहज जित हात पार्यो। ३–० को सोझो सेटमा आर्मीलाई पराजित गरेको एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। जारी प्रतियोगितामा एपिएफले तीनमध्ये दुई खेलमा जित हात पारेको छ। आर्मी यसअघि न्यू डायमण्ड र पुलिससँग पराजित भएको थियो। लगातारको तीन हारपछि आर्मी उपाधि होडबाट बाहिरिएको छ।

यसैगरी, सोमबार नै सम्पन्न पुरुषतर्फको खेलमा एपीएफले माल्दिभ्समाथि सहज जित हात पार्यो। पहुना टोलीलाई  ३–० को सोझो सेटमा पराजित गरेको एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो। एपीएफले पुरुषतर्फ पनि तीनमध्ये दुई खेलमा जित हात पारेको छ। लगातार हारको सामना गरेको माल्दिभ्स यसअघि आर्मी र गण्डकीसँग पराजित भएको थियो।

पुरुषतर्फको अर्को प्रतिष्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले आर्मीलाई ३–१ को सेटमा पाखा लगायो। गण्डकीले खेलको पहिलो सेट ३३–३१ आफ्नो पक्षमा पारेकोमा दोस्रो सेट १५–२५ ले गुमाएको थियो। दुई सेट  सकिँदा एक–एकको बराबरी भएपछि गण्डकीले लगातार दुई सेट आफ्नो पक्षमा पारेको थियो। गण्डकीले तेस्रो सेट ३३–३१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जारी प्रतियोगितामा दोस्रो जित हात पार्दा आमीले दोस्रो हारको सामना गर्यो।

प्रतियोगिताअन्तर्गत मंगलबार चार खेल हुने आयोजक समितिका सहसंयोजक एवं प्रचारप्रसार उपसमितिका संयोजक डोलराज पोखरेलले जानकारी दिए। मंगलबार महिलातर्फ पहिलो खेल आर्मी र थाइल्याण्ड, दोस्रो खेल न्यू डायमण्ड र पुलिसबिच हुनेछ। यसैगरी पुरुषतर्फ पहिलो खेल पर्वत र माल्दिभ्स तथा दोस्रो खेल गण्डकी र पुलिसबिच हुने छ।

सुझावित समाचार