नक्कली कागजात बनाई पर्यटकको ‘फेक रेस्क्यु’ : बिमाबापत तीन कम्पनीले गरे झन्डै तीन अर्ब ठगी

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

नेपाल घुम्न आएका विदेशी पर्यटक उद्धार गरेको नक्कली कागजात बनाई बिमा रकम दाबी गर्ने तीन कम्पनीका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट इक्स्पेरियन्स एन्ड असिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी छन् । 

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ । उनीहरूले सन् ०२२ यता मात्रै नक्कली कागजातका आधारमा झन्डै दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ रुपैयाँ बिमा दाबी गरेको अनुसन्धानबाट खुलेको छ । सिआइबी प्रमुख एआइजी डा. मनोज केसीले अहिले सन् ०२२ यता भएका रेस्क्युको मात्रै अनुसन्धान भइरहेको र घटनामा तीनवटा रेस्क्यु कम्पनीको गतिविधि शंकास्पद देखिएको बताए । ‘फेक रेस्क्युबारे विगतदेखि नै सुन्दै आएका हौँ । यही सन्दर्भमा सूचना संकलन ग¥यौँ । तीनवटा रेस्क्यु कम्पनीले नक्कली कागजातका आधारमा बिमा रकम दाबी गरेको देखियो । घटनामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । घटनाको अनुसन्धान चलिरहेको छ,’ उनले भने ।

सिआइबीका अनुसार सन् ०२२ यता माउन्टेन रेस्क्युले मात्रै १२ सय ४८ विदेशी पर्यटकको रेस्क्यु गरेको तथ्यांक छ । जसमध्ये १७१ पर्यटकको रेस्क्यु नक्कली रहेको देखिन्छ । सोही आधारमा कम्पनीले एक करोड तीन लाख १० हजार २७६ हजार अमेरिकी डलर अर्थात् एक अर्ब ४९ करोड ४९ लाख ९० हजार २० रुपैयाँ बिमाबापतको रकम इन्स्युरेन्स कम्पनीमा दाबी गरेको थियो । 

सोही अवधिमा अर्को रेस्क्यु कम्पनी नेपाल चार्टरले ४७१ पर्यटकको रेस्क्यु गरेको थियो । जसमध्ये ७५ जनाको रेस्क्यु शंकास्पद देखिएको छ । जसबापत उसले बिमा कम्पनीमा ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर अर्थात् एक अर्ब १९ करोड ३९ लाख ४१ हजार ८९० रुपैयाँ रकम दाबी गरेको थियो । त्यस्तै, एभरेस्ट इक्स्पेरियन्सले त्यस अवधिमा ६०१ विदेशी पर्यटकको रेस्क्यु गरेको थियो । त्यसमध्ये ७१ जनाको रेस्क्यु शंकास्पद देखिएको छ । र, बिमाबापत उसले ११ लाख ५३ हजार ९१९ अमेरिकी डलर अर्थात् १६ करोड ७३ लाख १८ हजार २५५ रुपैयाँ रकम माग गरेको छ । ‘उनीहरूले गरेको ३१७ रेस्क्यु नक्कली कागजातका आधारमा गरेको देखिन्छ । यसबापत उनीहरूले कुल १९.६९ मिलियन अमेरिकी डलर बिमा रकम मागदाबी गरेका छन् । यो घटनामा रेस्क्यु कम्पनीसहित ट्राभल एजेन्सी, टुरिस्ट गाइड, अस्पताल, हेलिकोप्टर कम्पनीसमेत मिलेको देखिन्छ । नेपालको पर्यटन व्यवसायमाथि नै संकट आउन सक्ने स्थिति देखिएपछि यो अप्रेसन गर्न सुरु गरेका हौँ,’ एआइजी केसीले भने ।

यसरी खुल्यो ‘फेक रेस्क्यु’ तथ्य 
सन् ०२२ सेप्टेम्बरमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिले पाँचजना विदेशी पर्यटकलाई फरक–फरक ठाउँबाट रेस्क्यु गरेको भन्दै बिमा कम्पनीमा ३१ हजार एक सय अमेरिकी डलर मागदाबी गरेको थियो । प्रहरीले बिमा रकम मागदाबी गरिएको सबै कागजात अनुसन्धान गर्यो । रेस्क्यु गरिएको पाँचमध्ये चार पर्यटकलाई रेस्क्यु गर्ने हेलिकोप्टर एउटै मात्रै होइन, समयसमेत उही भेटियो । फ्लाइट र मेनिफेस्टोसमेत एउटै देखियो । तर, कम्पनीले उनीहरूलाई फरक–फरक ठाउँबाट रेस्क्यु गरिएको भन्दै चारजना पर्यटकको छुट्टाछुट्टै कगजात तयार गरेर क्रमशः ७८००, ४५००, ९४०० र ९४०० गरी कुल ३१ हजार १०० अमेरिकी डलर अर्थात् ४५ लाख नौ हजार ५०० रुपैयाँ माग दाबी गरिएको थियो । 

सिआइबीले कम्पनीको अन्य रेस्क्यु पनि अध्ययन गर्यो । त्यसमा पनि कैफियत देखियो । सोहीअनुसार रेस्क्युमा संलग्न अर्को दुई नेपाल चार्टर र एभरेस्ट एक्स्पेरियन्स एन्ड असिस्टले पनि नक्कली कागजातका आधारमा रेस्क्यु गरेको भन्दै बिमा रकम माग गरेको सिआइबी प्रमुख एआइजी केसीले बताए । ‘यिनीहरूले एउटै हेलिकोप्टरबाट पाँचजनासम्मका विदेशी पर्यटक उद्धार गर्छन् । उनीहरूलाई अस्पताल भर्ना गर्छन् । तर, कागजात भने फरक–फरक ठाउँबाट उद्धार गरेको बनाउँछन् । कागजातमा आफैँ नक्कली हस्ताक्षर गर्छन् । अनि महँगो शुल्क राखेर बिमा कम्पनीमा रकम माग गर्छन्,’ उनले भने ।

यसरी हुन्छ नक्कली रेस्क्यु 
सिआइबीका अनुसार विदेश पर्यटक नेपाल आउँदा अनिवार्य रूपमा बिमा गराउँछन् । सम्बन्धित मुलुकबाटै नेपालस्थित ट्राभल एजेन्सीसँग सम्पर्क गर्छन् । आवश्यक कागजात पेस गर्छन् । र, उनीहरूले तयार पारेको सेड्युलअनुसार नेपाल घुम्न आउँछन् । ट्राभल एजेन्सीले पर्यटकले गरेको बिमाबापतको रकम कागजात पेस गर्दा नै थाहा पाइसक्छन् । जसको जानकारी उनीहरूले रेस्क्यु कम्पनी र पर्यटकसँगै हिँड्ने गाइडलाई सर्कुलर गर्छन् । पर्यटक जब उचाइमा पुग्छ । र, उनीहरूलाई लेक लाग्न थाल्छ । सँगै रहेको गाइडले मृत्यु हुन सक्ने खतरा भएको भन्दै पर्यटकलाई अत्याउँछन् । पर्यटक डराउँछ । र, रेस्क्युका लागि आग्रह गर्छ । 

गाइडले तत्काल रेस्क्यु कम्पनीमा सम्पर्क गर्छ । कम्पनीले तुरुन्तै हेलिकोप्टर घटनास्थल पठाउँछ । पर्यटक विमानस्थल झर्नासाथ अस्पताल लगिन्छ । सामान्य उपचारपछि उनीहरूलाई घर फर्काइन्छ । तर, रेस्क्यु कम्पनीले अस्पतालको मिलेमतोमा प्रत्येक पर्यटकको नक्कली स्वास्थ्य रिपोर्ट बनाउँछ ।सोहीअनुसार फरक ठाउँबाट फरक मितिमा फरक हेलिकोप्टरबाट उद्धार गरिएको भन्दै कागजात तयार गर्छ । र, बिमा दाबीका लागि सम्बन्धित कम्पनीमा कागजात पठाउँछ । रोचक त के भने घटनामा संलग्न रेस्क्यु गर्ने कम्पनी, हेलिकोप्टर, अस्पताल र ट्राभल एजेन्सीसमेत एउटै समूहको रहेको अनुसन्धानबाट खुलेको छ । सिआइबी प्रमुख एआइजी केसीले भने, ‘घटनामा संलग्न रेस्क्यु गर्ने कम्पनी, हेलिकोप्टर, अस्पताल र ट्राभल एजेन्सीसमेत एउटै समूहको रहेको अनुसन्धानबाट देखिन्छ । सोही आधारमा उनीहरूले नक्कली कागजात तयार गरेका छन् । र, बिमा रकम दाबी गरेका छन् ।’

सिआइबी प्रमुख एआइजी डा. मनोज केसी भन्छन्– फेक रेस्क्युबारे विगतदेखि नै सुन्दै आएका हौँ । यही सन्दर्भमा सूचना संकलन गर्यौँ । तीनवटा रेस्क्यु कम्पनीले नक्कली कागजातका आधारमा बिमा रकम दाबी गरेको देखियो । घटनामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । घटनाको अनुसन्धान चलिरहेको छ ।

सुझावित समाचार