पर्साका यी उम्मेदवार जसले आफैँलाई मत हाल्न पाउँदैनन्

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पर्साका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन्। आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरूले कानुनी व्यवस्थाका कारण आफैँलाई मत हाल्न नपाउने भएका हुन्।

फरक जिल्ला तथा निर्वाचन क्षेत्रमा घर र मतदाता नामावली भएका कारण उनीहरूले आफैँलाई मत हाल्न नपाउने भएका हुन्। चारवटा निर्वाचन क्षेत्र रहेको पर्सामा सबै क्षेत्रका केही उम्मेदवार आफैँलाई मत हाल्न नपाउने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा चारजना, क्षेत्र नम्बर २ मा नाैजना, क्षेत्र नम्बर ३ मा चारजना र क्षेत्र नम्बर ४ मा चारजना आफैँलाई मत हाल्न नपाउने उम्मेदवारको रूपमा रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ का चारजना उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन्। अन्य जिल्ला तथा निर्वाचन क्षेत्रमा घर भएका उम्मेदवार भएकाले उनीहरू आफैँलाई पनि मत हाल्न नपाउने उम्मेदवारको रूपमा रहेका हुन्।

रास्वपाका उम्मेदवार ४६ वर्षीय बुद्धिबहादुर पन्त आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। पहिलोपटक संसदीय निर्वाचनमा होमिएका वीरगन्ज महानगरपालिका– ३ निवासी उनी निर्वाचन क्षेत्र नम्बर २ का मतदाता हुन्।

राष्ट्र निर्माण दल नेपालका उम्मेदवार २५ वर्षीय उमर खानले पनि आफैँलाई मत हाल्न पाउने छैनन्। चितवन रत्ननगर नगरपालिका– ४ निवासी उनी पहिलोपटक निर्वाचनमा भिडेका छन्।

जनता समाजवादी पार्टीका उम्मेदवार ५७ वर्षीय रामनरेश यादव आफैँलाई मत हाल्न नपाउने उम्मेदवारका रूपमा रहेका छन्। वीरगन्ज महानगरपालिका– २८, सितुवारनिवासी उनी निर्वाचन क्षेत्र नम्बर २ मा मत हाल्ने गर्छन्।

वीरगन्ज महानगरपालिका– ६ निवासी २८ वर्षीय उम्मेदवार वसिम शेख पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका शेख पहिलोपटक उम्मेदवार बनेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा ३० जना उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका अजयकुमार चौरसिया आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। बिन्दबासिनी गाउँपालिका– ४ निवासी उनी निर्वाचन क्षेत्र नम्बर ३ का मतदाता हुन्।

श्रम संस्कृति पार्टीका उम्मेदवार ४१ वर्षीय पुन्देश्वर राउत अहिरले पनि मत हाल्न नपाउने भएका छन्। वीरगन्ज महानगरपालिका– १५ भिस्वानिवासी उनी निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुन्।

जय मातृभूमि पार्टीका ६२ वर्षीय वीरेन्द्र प्रसाद पनि मत हाल्न नपाउने उम्मेदवार हुन्। बहुदरमाई नगरपालिका– ९ मौजेनिवासी उनी निर्वाचन क्षेत्र नम्बर ३ का मतदाता छन्।

नेपाल मजदुर किसान पार्टीका ४२ वर्षीय उम्मेदवार मुकेश कुसवाह पनि आफैँलाई मत दिन नसक्ने उम्मेदवार हुन्। वीरगन्ज महानगरपालिका– २ छपकैयानिवासी उनी निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालका एकल चुनाव चिह्नका उम्मेदवार ४४ वर्षीय फिरोज मियाँ आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। वीरगन्ज महानगरपालिका– ११ श्रीपुरनिवासी उनी निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुन्।

जनमत पार्टीका उम्मेदवार ४४ वर्षीय श्यामप्रसाद गुप्ता पनि आफैँलाई मत दिन नसक्ने उम्मेदवार हुन्। वीरगन्ज महानगरपालिका– ८, गहवानिवासी उनी निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुन्।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ४० वर्षीय शिववचन ठाकुर लोहार पनि आफैँले मत दिन नपाउने उम्मेदवार हुन्। बिन्दबासिनी गाउँपालिका– ४ निवासी उनी निर्वाचन क्षेत्र नम्बर ३ का मतदाता हुन्।

अर्का स्वतन्त्र उम्मेदवार ४४ वर्षीय रामनरेश चौरसियाले पनि आफूलाई मत दिन पाउँदैनन्। बिन्दबासिनी गाउँपालिका– ४ निवासी उनी निर्वाचन क्षेत्र नम्बर ३ का मतदाता हुन्।

आम जनता पार्टीका एकल चुनाव चिह्नका उम्मेदवार ३९ वर्षीय रञ्जुकुमार साह पनि आफैँलाई मत दिन नपाउने उम्मेदवार हुन्। रौतहटको यमुनामाई गाउँपालिका– ५ निवासी उनी पहिलोपटक उम्मेदवार बनेकी हुन्। निर्वाचन क्षेत्र नम्बर १ मा ३१ जना उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा चारजना उम्मेदवार आफैँलाई मत दिन नपाउने उम्मेदवारका रूपमा रहेका छन्। जय मातृभूमि पार्टीका उम्मेदवार ५८ वर्षीय राजकुमार यादव पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। आदर्शनगरनिवासी उनी निर्वाचन क्षेत्र नम्बर २ का मतदाता हुन्।

यस्तै, उज्यालो पार्टी नेपालका उम्मेदवार रामरूपप्रसाद साह पनि आफैँलाई मत दिन नपाउने उम्मेदवार हुन्। वीरगन्ज महानगरपालिका– १५ लक्ष्मनवानिवासी ३७ वर्षीय साहको निर्वाचन क्षेत्र नम्बर १ मा घर पर्छ।

राप्रपाका ४९ वर्षीय नवीनकुमार सिंह पनि आफैँलाई मत हाल्न नपाउने उम्मेदवार हुन्। वीरगन्ज महानगरपालिका–१२ मुर्ली बगैँचानिवासी उनी पर्साको निर्वाचन क्षेत्र नम्बर १ का मतदाता हुन्।

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ४२ वर्षीय सरोजकुमार साह पनि आफैँलाई मत दिन नपाउने उम्मेदवार हुन्। रौतहटको देवाही गोनाही नगरपालिका– ३ निवासी उनले पहिलोपटक यहाँ उम्मेदवारी दर्ता गराएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा २३ जना उम्मेदवार रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ मा दुईजना उम्मेदवार आफैँले मत हाल्न नपाउने उम्मेदवारका रूपमा रहेका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार वीरगन्ज महानगरपालिका– १९ निवासी ३५ वर्षीय विनोदकुमार यादवले आफैँलाई मत हाल्न नपाउने भएका छन्। उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका उनी पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन्।

यस्तै, जनमत पार्टीबाट उम्मेदवारी बनेकी ५५ वर्षीय सीमादेवी कलवार पनि आफैँले मत हाल्न नपाउने उम्मेदवार हुन्। पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा २३ जना उम्मेदवार रहेका छन्।

सुझावित समाचार