आइतबार : १० बजेसम्मका १० मुख्य खबर

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाको १८ सिटमा गठबन्धनको क्लिन स्विप

राष्ट्रिय सभाको १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले क्लिन स्विप गरेको छ।

कोशी प्रदेशमा खस-आर्यतर्फको एउटा सिटमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेकोमा आइतबार बाँकी १७ सिटका लागि मतदान भएको हो। १७ सिटका लागि ४४ जनाले उम्मेदवारी दिएकोमा एमालेले आठ, कांग्रेसले आठ र जसपा नेपालले एक  सिटमा जित निकालेकाे हाे।

कोशीमा नेकपा एमालेकी रोशनी मेचे (महिला) र एमालेकै सोमनाथ पोर्तेल (दलित) निर्वाचित भए। कांग्रेसका सुनील थापा (खस-आर्य) यसअघि नै निर्विरोध निर्वाचित भएका हुन्।

नौ जिल्ला डढेलोको उच्च जोखिम क्षेत्रमा

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ तयार गरेको छ। सुक्खायाम सुरु भएसँगै डढेलाको जोखिम हुने भएकाले कार्ययोजना तयार गरी कार्यान्वयन थालिएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार यो वर्ष नौ जिल्ला डढेलाको उच्च जोखिममा छन्। बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत जिल्लालाई उच्च जोखिममा राखिएको छ। सन् २०१३ यताका डढेला घटनाको विश्लेषणका आधारमा यी जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको हो। त्यस्तै, १३ जिल्लालाई मध्यम जोखिम र बाँकी जिल्लालाई न्यून जोखिममा राखिएको छ। 

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आइतबार भएको मतदानमा मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार महिला कलष्टरतर्फ एमालेकी रेखा झा ७२२२ मतभारसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १९४४ मतभार पाइन्। त्यस्तै, अल्पसंख्यकतर्फ कांग्रेसका रंजित कर्ण ८०९३ मतभारसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादको मतभार १३६१ छ।

७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ : बालेन

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) काे लागि आफू तयार भएको बताइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले त्यसलाई अस्वीकार गरेका छन् । 

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्विकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता–कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतंकवादीचाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

अपडेट : संखुवासभाकाे चैनपुरमा सुमाे दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३ जना घाइते

संखुवासभाकाे चैनपुरमा सुमाे दुर्घटना हुँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।

आज (आइतबार) साँझ करिब साढे ६ बजे जिल्लाकाे चैनपुर नगरपालिका-२ बिहीबारेस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको  प्र १-०१-००१ च ८२४७ नम्बरको सुमाे जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। उनकाे अनुसार मृत्यु हुनेमा चैनपुर-१, मैदाने बस्ने वर्ष ५९ को पदमबहादुर लिम्बू रहेकाे भनी निजको भतिज वीरबहादुर लिम्बूबाट खुल्न आएको छ भने अर्का मृतक अन्दाजी वर्ष ३० को पुरुष मानिसको नाम, थर, वतन खुलेकाे छैन ।

दुवै लासको कानुनी प्रक्रिया पूरा गर्न लास पोस्टमार्टमको लागि आधारभूत अस्पताल चैनपुर  पठाइएको प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भीमबहादुर थाक्लुङलाई थप उपचारका  लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी रेफर गरिएको प्रहरीले जनाएकाे छ ।

सर्लाहीमा पायल्सको उपचारका क्रममा किशोरीको मृत्यु

पायल्सको उपचारको क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा एक किशोरीको मृत्यु भएको छ। आइतबार दिउँसो नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयमा पायल्सको उपचारको क्रममा किशोरीको मृत्यु भएको हो।

लालबन्दी नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षकी हंशु पासवानको औषधालयका रामविनय साहले पायल्सको शल्यक्रिया गरेका थिए। शल्यक्रिया लगत्तै किशोरीको स्वास्थ्य अवस्था गम्भीर बनेको पीडित परिवारको भनाइ छ।

किशोरीको अवस्था बिग्रिएपछि चिकित्सकले उनलाई हरिवनस्थित नमुना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारको भनाइ छ। हरिवनस्थित सरस्वती अस्पताल पुर्याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका थिए। नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाहीपूर्ण ढंगले गलत शल्यक्रिया गर्दा किशोरीको मृत्यु भएको पीडित परिवारको आरोप छ।

रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा थप प्रमाण झिकाउने आदेश

रवि लामिछाने मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेका रिटमा थप प्रमाण झिकाउने आदेश भएको छ। आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले थप प्रमाण कागजात झिकाउने आदेश भएको हो। 

सहकारी ठगी मुद्दामा लामिछाने लगायतविरुद्ध दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले तीन साताअघि सहमति दिएको थियो। कानूनमा थप प्रमाण भेटिएको अवस्थामा यसरी अभियोग संशोधन गर्न सक्ने प्रावधान छ। थप प्रमाण भेटिएको आधारमा महान्यायाधिवक्ता कार्यालयले अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएकी थिइन्। जसमा ‘थप प्रमाण’ हेरेर मात्र यसमा सर्वाेच्चले अन्तरिम आदेश दिने भएको छ। आदेशमा भनिएको छ,‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला ।’

‘फेक रेस्क्यु’ प्रकरणमा सिआइबीले खोल्यो फाइल

नेपाल आउने पर्यटकको उद्धारका नाममा हुने ठगी घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ। विस्तृत अनुसन्धान गरिरहेको सिआइबीले सोमबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रगति सार्वजनिक गर्ने भएको छ। 

सात वर्षअघि पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानबिन समितिले पर्यटकको उद्धारका नाममा ठगी भएको निष्कर्ष निकाल्दै त्यसमा संलग्न ट्राभल एजेन्सी, हेलिकोप्टर कम्पनी, अस्पताललगायतलाई कारबाही सिफारिस गरेको थियो। तर, दबाबका कारण कारबाही हुन सकेको छैन। 

सिआइबीले दुई महिनाअघि यस सम्बन्धमा फेरि अनुसन्धान थालेको थियो। आइतबार अनुसन्धान प्रगति सार्वजनिक गरिने सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

रेशमको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन, कारण देखाऊ आदेश जारी

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकोमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए।

रास्वपाको समानुपातिक सूचीमा परेका ज्ञानेन्द्र मल्ल भन्छन्– मैदान फेरिएको छ, तर लक्ष्य उही छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मैदान फेरिएको, तर आफ्नो लक्ष्य नेपालको गौरव नै रहेको बताएका छन्। खेलाडीलाई विश्वास गरी समानुपातिक सूचीमा राखेकोमा धन्यवाद दिँदै उनले यो खेल जगतकै लागि सम्मान भएको उल्लेख गरे। 

सुझावित समाचार