नेपालमा अवैध गतिविधिमा संलग्न चिनियाँ र अमेरिकी नागरिक अध्यागमनको नियन्त्रणमा

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण
नेपालमा अवैध गतिविधिमा संलग्न चिनियाँ र अमेरिकी नागरिक अध्यागमनको नियन्त्रणमा

अमेरिकी नागरिकले अवैध रुपमा ललितपुरमा सञ्चालन गरेको बालगृह

लामो समयदेखि नेपालमा बसेर भिसाको उद्देश्य विपरित शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। एक अमेरिकी र अर्का चिनियाँ नागिकरलाई विभागले पक्राउ गरेको हो।   

 पकनाजोलको फेमिली पिस होटलमा बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको थिए। उनले निजले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेपनि व्यावसायिक भिसा लिने प्रयोजनको लागि मात्र कम्पनी स्थापना गर्ने गरेको  र लगानी र कारोबार भएको नदेखिएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले बताए।  उनले नेपालमा युन सुपिङ होटल, होटल विथ रेष्टुरेन्ट यान, झोङविन इन्टरनेशनल कार्गाे, माओविङ रेष्टुरेन्ट, स्प्रिट मंकी इन्फरमेसन टेक्नोलोजी र शाव जिअसुन होटल दर्ता गरी तिनै कम्पनीका नाममा व्यावसायिक भिसा लिदै आएका थिए। 

उनी पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा अध्यापन लगायतका कार्यहरु गर्दै आएको विभागले जनाएको छ। पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ । विभिन्न समयमा पटक–पटक पर्यटक भिसा र फरक फरक प्रकृतिका कम्पनीहरु दर्ता गराई लामो समय नेपाल बस्ने मात्र प्रयोजनको लागि भिसा आवेदन गर्ने गरेको र भिसाको उद्देश्य विपरित कार्य गर्दै आएकाले उनलाई नियन्त्रणमा लिएर निष्काशनको प्रक्रिया अघि बढाइएको विभागका निर्देशक ढकालले बताए। 

त्यस्तै पक्राउ परेका अमेरिकी नागरिक पहिलोपटक सन् २०१७ मा नेपाल प्रवेश गरेका थिए।  सन् २०२० मा पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै बस्दै आएका छन्।  

सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि  स्थापना गरेको तर कम्पनीको ठेगाना ललितपुर १८ सैंबु उल्लेख गरेको विभागले जनाएको छ। 

उनले गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानूनी रुपमा बालगृह सञ्चालन गर्दै आएको छानविनमा खुलेको छ।  बालगृहसम्बन्धी आधिकारीक बोर्ड समेत राखेका छैनन्। उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखिएको छ। जहाँ क्रिश्चियन धर्मसम्बन्धी गतिबिधिमा संलग्न गराउने गरेको स्थानीयवासीले बताएका छन्। भवनका भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गरिएको छ । ‘उनी नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटक पटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेको देखिन्छ,’ विभागका प्रवक्ता ढकाल भन्छन्,‘अध्यागमनको नियन्त्रणमा परेपछि नेपाल सरकार र प्रशासनको बारेमा उनले हेट स्पिच समेत दिएका थिए।’ 

दुवै जनालाई जरिवाना तिराएर निष्काशन गर्ने विभागको तयारी छ। 

पछिल्लो केही महिनायता अध्यागमनले नेपालमा अवैध रुपमा तथा भिसाको प्रयोजनविपरीत बस्दै आएका विदेशीमाथि निगरानी र कारबाहीलाई तिव्रता दिएको छ। 
 

सुझावित समाचार