ताप्लेजुङमा प्रशासनिक केन्द्रको नयाँ अध्याय, आफ्नै भवनबाट सेवा सुरु

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

स्थानीय सरकार गठन भएको वर्षौँपछि आठराई त्रिवेणी गाउँपालिकाले आफ्नै स्थायी भवन पाएको छ । गाउँपालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न प्रशासकीय भवनबाट शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु भएको छ । 

६ करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवन ०७९ सालमा शिलान्यास गरिएको थियो । यसअघि अस्थायी र अपुग संरचनाबाट सेवा दिँदै आएको गाउँपालिकाले अब सुविधासम्पन्न भवनबाट सेवा दिन थालेपछि सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ । प्रशासकीय भवनसँगै आठराई त्रिवेणी सामुदायिक हलको पनि एकैसाथ उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन)ले लिम्बू समुदायको मौलिक पहिचान झल्कने केःलाङ (च्याब्रुङ) नृत्य र नौमती बाजाको धुनबिच दुवै संरचनाको उद्घाटन गरे । ८० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न सामुदायिक हल सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिको केन्द्रका रूपमा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । ‘अब गाउँमै सभा, खेलकुद र विभिन्न कार्यक्रम आयोजना गर्न सहज हुनेछ,’ अध्यक्ष पोमुले बताए ।

भवन र हल मात्र होइन, त्यसआसपासको करिब पाँच सय मिटर सडकसमेत कालोपत्रे गरिएको छ । यसले हाङपाङ क्षेत्रलाई प्रशासनिक केन्द्रसँगै व्यवस्थित बस्तीका रूपमा विकास गर्ने आधार तयार भएको स्थानीयको भनाइ छ । उद्घाटन समारोहमा पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङलगायत वडाध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, ३३ वटै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्थानीय तहको सेवा, पहिचान र विकासलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित निर्माण गरिएको यो संरचनाले आठराई त्रिवेणी गाउँपालिकाको प्रशासनिक र सामाजिक जीवनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ ।
 

सुझावित समाचार