गाडी रोक्ने र मजदुरमाथि हातपात गर्ने क्रम बढेपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको काम रोकिएको छ । झापामा विगतदेखि नै गुन्डागर्दीमा संलग्न सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले अनावश्यक दुःख दिने र हातपात गरेको भन्दै सुरक्षाको कारण देखाएर निर्माण कम्पनीले काम रोकेको हो ।
सुरक्षाका कारण काम गर्न नसकिएको भन्दै निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले धम्क्याउने व्यक्तिको नामसहित काँकडभिट्टा–लौकही सडक योजना कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । उनीहरूले निर्माण सामग्री बोकेका गाडी रोक्नदेखि मजदुरसम्मलाई हातपात गरेको उजुरीमा उल्लेख छ।
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने काँकडभिट्टा–लौकहीसडकअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको पूर्वखण्डको काम अवरुद्ध भएको हो । मजदुर र चालकमाथि हातपात र धम्की हुन थालेपछि पूर्वखण्डको ४५ किलोमिटर सडक निर्माणको काम आइतबारदेखि रोकिएको छ। यो राजमार्गलाई एसियन हाइवेमा विस्तार गर्ने योजनाअन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ । तर, करिब २० दिनदेखि झापाको कन्काई नगरपालिका क्षेत्रमा केही व्यक्तिले गुन्डागर्दी शैली देखाएपछि काम रोकिएको निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीका प्रतिनिधि उज्ज्वल प्रसाईंले जानकारी दिए । बिर्तामोडका सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले निर्माणको काममा प्रयोग भएका सवारीचालकलाई हातपात गर्ने, धम्की दिनेलगायतका गतिविधि हुन थालेपछि काम रोकिएको उनको भनाइ छ। सुरेश नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष हुन् भने आङ्देम्बे एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज हुन् । उनीहरू दुवै झापामा विवादमा आइरहने पात्र हुन् । त्यस्तै, एक उप्रेती थरका व्यक्तिले पनि धम्की दिएको निर्माण कम्पनीको उजुरीमा उल्लेख छ।
उनीहरूसहित केही व्यक्तिले मजदुरमाथि दुर्व्यवहार गर्दा मजदुरले काम गर्न नमानेको एभरसकोन–कालिका जेभीका प्रतिनिधि प्रसाईंले जानकारी दिए । ‘हाम्रो सातवटा गाडीलाई अनावश्यक दुःख दिएर रोकेर राखेका छन् । मजदुरलाई धम्क्याउने, कहिले खुकुरी देखाउने काम भएको छ । शनिबार पनि त्यो दोहोरिएपछि म पुगेको थिएँ । ममाथि पनि हातपातको प्रयास भयो । मेरो चालकमाथि कुटपिट भयो,’ उनले भने, ‘यति भएपछि मजदुरले काम गर्न मानेनन् । तसर्थ अहिले काम रोकिएको छ । सडकमा पानी हाल्ने कामसम्म गर्न मजदुरले मानेका छैनन् । सुरक्षाको प्रत्याभूति नभएसम्म काम अघि बढ्दैन ।’
विगतदेखि नै बारम्बार दुःख दिइरहेको र यसपटक भने काम रोक्न बाध्य भएको उनले बताए । कम्पनीले काँकडभिट्टा–लौकही पूर्वी खण्ड दमक आयोजना कार्यालयलाई पत्र लेखेर जानकारी गराइसकेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत निकायलाई मौखिक जानकारी गराइसकेको उनले बताए । तर, कतैबाट सहयोग नभएको उनको भनाइ छ । ‘झापा प्रशासन गुन्डाहरूले चलाएका छन् कि कसले चलाएको छ हामीलाई बुझ्न गाह्रो भयो,’ उनले भने, ‘सबैलाई मौखिक जानकारी गराएको हो । कतैबाट सहयोग भएन । अब जिल्ला प्रशासन र प्रहरीलाई पत्र पठाउने तयारी भइरहेको छ ।’
काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले काम रोकिएकोबारे जानकारी प्राप्त भएको बताए । उनले यसबारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय झापातर्फ हिँडेको जानकारी दिए । ‘काम गर्ने समयमा काम रोकिनु दुःखद हो,’ उनले भने, ‘अवरोध हटाउन हामी समन्वय गरिरहेका छौँ ।’
काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो ।

