निजी क्षेत्रको मनोबल बढाउन सुझाव

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

निजी क्षेत्रको मनोबल बढाउने काम गर्न अर्थविद्, नागरिक समाजका अगुवा तथा उद्योगी–व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । जेन–जी आन्दोलनका क्रममा उद्योग–व्यवसायमाथि भएको आक्रणबाट निजी क्षेत्र हतोत्साहित भएको भन्दै उनीहरूले आत्मविश्वास बढाउने काम गर्न सरकारलाई सुझाव दिएका हुन् । 

विराटनगरमा शनिबार आयोजित ‘निजी क्षेत्र : प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक बृहत् अन्तक्र्रियामा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय निजी क्षेत्रको मनोबल गिरेको भन्दै त्यसलाई बढाउने गरी सबैले काम गर्नुपर्ने बताए । इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेलले निजी क्षेत्रलाई जति थिचोमिचो गरे पनि हुन्छ भन्ने मनोवृत्ति विकास हँुदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले निजी क्षेत्र कमजोर नभई सशक्त, सक्षम र सबल भएको सन्देश प्रवाह गर्न आवश्यक रहेको औँल्याए । मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले निजी क्षेत्र कमजोर हुँदा रोजगारी, समाज र राष्ट्र नै कमजोर हुने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन् । उनले निजी क्षेत्रप्रतिका गलत धारणालाई चिर्दै राज्य, निजी क्षेत्र र नागरिकबिच आपसी विश्वास पुनस्र्थापित गर्नुपर्ने बताइन् । राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र आजका दिनमा गहिरो पीडा, त्रास र अनिश्चितताको भुमरीमा फसेको उल्लेख गरे । 

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले दिगो, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिको अपेक्षा गर्ने गरेको बताए । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले अबका दिनमा राजनीतिक दलहरूले निजी क्षेत्रलाई निष्पक्ष, सुरक्षित र भरोसायोग्य वातावरण प्रदान गर्न प्रतिबद्धता जनाउन अत्यावश्यक रहेको औँल्याए । युवा उद्यमी तथा एनिटाइम वारका प्रबन्ध निर्देशक सिद्धि अधिकारीले अब बन्ने सरकारले दीर्घकालीन औद्योगिक नीति–निर्माण गरी विद्यमान कानुनहरूको सहज, पारदर्शी र प्रभावकारी कार्यान्वयन हुने वातावरण तयार पारे मात्रै लगानीमैत्री वातावरण सिर्जना हुने बताए । उद्योग संगठन मोरङ र राष्ट्रिय व्यावसायिक पहल तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा अन्तक्र्रिया आयोजना गरिएको थियो ।

सुझावित समाचार