- भूराजनीतिक द्वन्द्वपछि आफ्ना खेलाडी र समर्थकको सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न नसक्ने दाबी गर्दै आएको थियो
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २३ माघ बाट सुरु हुने टी–२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको छ । शनिबारको यो निर्णयसँगै समूह ‘सी’मा नेपालले बंगलादेशको सट्टा स्कटल्यान्डसँग खेल्ने पक्का भयो । समूहमा नेपालसहित दुईपटकको च्याम्पियन वेस्ट इन्डिज, एकपटकको च्याम्पियन इंग्ल्यान्ड र इटाली छन् ।
बंगलादेशले शुक्रबारसम्म टिम दर्ता नगरेपछि आइसिसीले वरीयताका आधारमा यसअघि छनोट हुन नसकेको स्कटल्यान्डलाई मौका दिने निर्णय गरेको हो । भारत र बंगलादेशबिचको भूराजनीतिक द्वन्द्वका कारण आफ्ना खेलाडी र समर्थकको सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न नसक्ने दाबी गर्दै आएको थियो । यसअघि आइसिसीले बंगलादेश क्रिकेटलाई इमेल गर्दै भनेको थियो, ‘यदि बंगलादेशले पूर्वनिर्धारित तालिकाअनुसार भारतमा नखेले ठुलो निर्णय लिन सक्छ ।’ आइसिसीको इमेलपछि पनि बंगलादेश क्रिकेट परिषद् (बिसिबी)ले आफ्नो खेलाडी र समर्थकको सुरक्षा नहुने भन्दै श्रीलंकामा खेल सार्न अनुरोध गरेको थियो । तर, आइसिसी सबै खेल पूर्वनिर्धारित तालिकाअनुसार नै भारतमा खेल्नुपर्नेमा अडिक रह्यो ।
बंगलादेशले तालिकाको सुरुका तीन खेल कोलकातामा खेल्दै छ । चौथो खेल भने नेपालसँग मुम्बईमा खेल्ने तालिका थियो । नेपालले भने समूहका आफ्ना सबै खेल मुम्बईमा खेल्ने तालिका छ । अब, स्कटल्यान्डले पहिलो खेल २३ माघमा वेस्ट इन्डिजसँग इडेन गार्डेनमा खेल्नेछ । दोस्रो खेल इटालीसँग तेस्रो खेल इंग्ल्यान्डसँग तथा चौथो खेल वानखेडे मैदानमा नेपालसँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोली सीधै सुपर ८ मा प्रवेश गर्नेछन् ।
यसअघि बंगलादेशका तीव्रगतिका बलर मुस्तफिजुर रहमानलाई आइपिएल टोली कोलकाता नाइट राइडर्सले रिलिज गरेपछि यो विवाद सतहमा आएको थियो । बिसिसिआईको निर्देशनले आफ्ना खेलाडी विश्व चर्चित फ्रेन्चाइज लिग आइपिएल खेल्नबाट वञ्चित भएपछि बंगलादेशमा आइपिएल खेल प्रत्यक्ष प्रसारणमा रोक लगाइएको थियो ।
यसपछि क्रिकेट बंगलादेशले भारतमा आफ्ना समर्थक र खेलाडीको सुरक्षा नहुने ठहर गर्दै श्रीलंकामा खेल सार्न आइसिसीलाई दबाब दिएको थियो । तर, आइसिसीले बोर्ड मिटिङबाटै पूर्वनिर्धारित तालिकाअनुसार नै भारतमा खेल्नुपर्ने अडान कायमै राखेको थियो । तर, अन्तिम समयसम्म बंगलादेश क्रिकेटले पनि अडान कायम राखेपछि आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई अवसर दिएको हो । आइसिसीको यो निर्णयपछि बंगलादेशसँगको यो विवाद अझै लम्बिने देखिन्छ ।