छैटौँ टाइगर कप भलिबल : आर्मीको लगातार दोस्रो हार

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली माल्दिभ्स भलिबल एसोसिएसन पोखरामा चलिरहेको छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्नपुगेका छन् ।

शनिबार सम्पन्न महिलातर्फको खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा सुरुवाती अग्रता लिँदै पहिलो सेट १६–२५ ले आफनो पक्षमा पारेको आर्मी त्यसपछिका लगातार तीन सेटमा पछि परेको थियो । एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । यसअघि आफ्नो पहिलो खेलमा डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

पुरुषतर्फको प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सलाई सोझो ३–० को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले गण्डकीले आफ्नो पक्षमा पारेको हो । जितसँगै गण्डकीले पहिलो जित हात पार्दा माल्दिभ्सले भने लगातार दोस्रो हारको सामना गरेको हो । यसअघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा गण्डकी एपिएफसँग १–३ को सेटमा र आर्मीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।

थाइल्यान्डको टिम पराजित
महिलातर्फको अर्काे खेलमा विभागीय एपिएफले पाहुना टोली थाइल्यान्ड क्विन्सलाई ३–२ को सेटको पाखा लगायो । खेलको पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ त्यसपछिका दुई सेटमा पछि परेको थियो । खेलको तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले पाहुना टोलीले आफ्नो पक्षमा पारेको थियो । दुई–दुई सेटको बराबरीमा पुगेको खेलको अन्तिम अर्थात् निर्णायक पाँचौँ सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै एपिएफले जारी प्रतियोगितामा सुखद सुरुवात गरेको हो । प्रतियोगिताको सफल टिम एपिएफले दोस्रो, तेस्रो र चौथो गरी तीन संस्करणको उपाधिसँगै ह्याट्रिक पूरा गरिसकेको छ ।

शनिबार सम्पन्न अन्तिम खेलमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबलाई पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटले पर्वतले जित हात परेको हो । तीन पाकिस्तानी खेलाडीसहितको पर्वतले पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका दुई सेट भने गुमाउन पुगेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै पुलिसले २५–२१ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । 

दुई दुई सेटको बराबरीमा पुगेको खेलको निर्णायक पाँचौँ सेट पर्वतले १५–१३ अंकसहित आफ्नो पक्षमा पार्दा उपाधि दाबेदार पुलिस भने निराश हुन पुगेको थियो । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत आइतबार विभिन्न चार खेल हुने भएका छन् । पहिलो खेल महिलातर्फ एपिएफ र न्यु डायमन्ड र दोस्रो खेल पुलिस र थाइल्यान्डबिच हुनेछ । तेस्रो खेलमा पुरुषतर्फ एपिएफ र पर्वत भिड्दा अर्को खेलमा पुलिस र आर्मी भिड्नेछन् । 

१७ माघसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ ६ गरी ११ टोली सहभागी रहेका छन् । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेताले ६ लाख ६६ हजार ६६६, उपविजेताले तीन लाख ६६ हजार ६६६, तेस्रोले दुई लाख ६ हजार ६६६ नगद पाउनेछन् । 

सुझावित समाचार