- रास्वपाबाट ९, राप्रपा ३, एमाले र नेकपाका १–१ जेन–जी उम्मेदवार
- कांग्रेस र जसपा नेपालबाट छैनन् जेन–जी उम्मेदवार
- ३,४०६ मध्ये सबैभन्दा पाका नेकपाबाट सर्लाही २ का उम्मेदवार ८८ वर्षीय महिन्द्र राय यादव
२३–२४ भदौको जेन–जी विद्रोेहपछि २१ फागुनमा हुन लागेको पहिलो आमनिर्वाचनमा उक्त उमेर समूहका उम्मेदवार अत्यन्त न्यून देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार जेन–जी उमेर समूहका उम्मेदवार जम्मा १५३ जना मात्र छन्, जुन कुल उम्मेदवारको करिब ४.५ प्रतिशत हो ।
दाबी–विरोध, उम्मेदवारी फिर्ता र खारेज प्रक्रियापछि निर्वाचन आयोगले शुक्रबार ३,४०६ जना उम्मेदवारको नामावली तय गरेको छ । प्रारम्भमा ३,४८७ जनाले उम्मेदवारी दर्ता गराएकामा ७२ जनाले नाम फिर्ता लिएका छन् भने नौजनाको उम्मेदवारी खारेज भएको छ ।
संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि न्यूनतम उमेर २५ वर्ष पूरा भएको हुनुपर्छ । यसअनुसार २५ देखि २८ वर्ष उमेरका १५३ जना उम्मेदवार छन् । बहुसंख्यक जेन–जी उमेर समूहका उम्मेदवार स्वतन्त्र छन् । ठुला पार्टी एमाले र नेकपाका एक–एकजना जेन–जी उमेर समूहको उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसले भने कसैलाई उम्मेदवार बनाएको छैन ।
एमालेबाट सर्लाही ४ मा २७ वर्षीय अमनिशकुमार यादव र नेकपाबाट बारा ४ मा जेन–जी उमेर समूहका २७ वर्षकै अजय कुसवाह छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले नौजना जेन–जीलाई उम्मेदवार बनाएको छ । जसअनुसार मकवानपुर २ मा २५ वर्षीय प्रशान्त उप्रेती, मुगुमा २५ वर्षीय भुवन टमटा, नवलपरासी २ मा २६ वर्षीय मनीष खनाल, हुम्लामा २६ वर्षीया टासी ल्हान्जोम, कैलाली २ मा २६ वर्षीय केपी खनाल, अछाम १ मा २७ वर्षीय ओमप्रकाश रावल, तेह्रथुममा २८ वर्षीय सुरेन्द्र कार्की, सिराहा १ मा बब्लु गुप्ता र रुपन्देही २ मा २८ वर्षीय सुलभ खरेल छन् ।
राप्रपाले मोरङ ६ मा २७ वर्षीय सविन निरौला, सप्तरी २ मा २७ वर्षीय अजयकुमार दास र सुर्खेतमा २८ वर्षीय रवि हमाल ठकुरीसहित तीनजनालाई उम्मेदवार बनाएको छ । नेमकिपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, मंगोल अर्गनाइजेसन, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनमत पार्टीलगायतबाट पनि जेन–जी उमेरका उम्मेदवार प्रतिस्पर्धामा छन् । स्वतन्त्र ८२ उम्मेद्वार जेनजी उमेर समूहका छन् । तीमध्ये महिला १५ जना रहेका छन् ।
१,०५७ युवा उम्मेदवार : कांग्रेस नौ, एमाले १२, नेकपा १९, रास्वपा ६१, राप्रपाका तीस युवा उम्मेदवार
२९ देखि ४० वर्ष उमेर समूहका ९०४ जना र जेन–जी उमेर समूहका १५३ सहित ४० वर्षमुनिका १,०५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेसले १६५ मध्ये नौ निर्वाचन क्षेत्रमा युवा उम्मेदवार उठाएको छ । जसअनुसार मुस्ताङमा उम्मेदवारी दिएका ३२ वर्षीय योगेश गौचन थकाली नै कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार हुन् । सबै युवा पुरुष छन् ।
एमालेले १२ निर्वाचन क्षेत्रमा युवा उम्मेदवार उठाएको छ । सर्लाही ४ मा उम्मेदवारी दिएका २७ वर्षीय अमनिशकुमार यादव नै एमालेबाट सबैभन्दा कान्छा तथा जेन–जी उम्मेदवार हुन् । एमालेबाट ओखलढुंगामा ३० वर्षीया अस्मिता थापासहित तीनजना युवा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । सोलुखम्बुमा ३२ वर्षीया कल्पना राई र बर्दिया २ मा ४० वर्षीया विमला विक उम्मेदवार छन् ।
नेकपाले १९ क्षेत्रमा युवा उम्मेदवार उठाएको छ । बारा ४ का २७ वर्षीय अजय कुसवाह नेकपाबाट कान्छा तथा जेन–जी उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपाबाट पनि काठमाडौं १ मा ३८ वर्षीया मेनुका भण्डारी, रौतहट ३ मा ३९ वर्षीया पुनम देवी र सुनसरी २ मा ४० वर्षीया रामकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।
रास्वपाबाट ६१ जना उम्मेदवार युवा उमेर समूहका छन् । मकवानपुर २ का २५ वर्षीय प्रशान्त उप्रेती र मुगुका २५ वर्षकै भुवन टमटा रास्वपाका कान्छा जेन–जी उम्मेदवार छन् । ७० मध्ये नौजना युवा महिलालाई रास्वपाले उम्मेदवार बनाएको छ । जसमध्ये हुम्लाकी २६ वर्षीया टासी ल्हान्जोम, झापा १ की २९ वर्षीया निशा डाँगी, २९ वर्षकै जुम्लामा विनिता कठायत, काठमाडौं १ मा ३० वर्षीया रञ्जु न्यौपाने, चितवन ३ मा ३० वर्षीया सोविता गौतम, मोरङ ६ मा ३१ वर्षीया रुविना आचार्य, ललितपुर ३ मा ३६ वर्षीया तोसिमा कार्की, धादिङ १ मा ३७ वर्षीया आशिका तामाङ छन् ।
राप्रपाबाट ३० जना उम्मेदवार युवा उमेर समूहका छन् । मोरङ ६ का सविन निरौला र सप्तरी २ का २७ वर्षीय अजयकुमार दास राप्रपाका सबैभन्दा कान्छा उम्मेदवार हुन् । स्वतन्त्र र अन्य पार्टीबाट पनि युवा उमेर समूहका उम्मेदवार छन् ।
४१ देखि ६० वर्षका १,९२५ उम्मेदवार, नेकपाबाट धेरै
४१ देखि ६० वर्षका १,९०७ जना उम्मेदवार छन् । कांग्रेसबाट यो उमेर समूहका १०६ जना छन् । एमालेबाट पनि १०७ जना नै यही उमेर समूहका छन् । नेकपाबाट १०८ जना छन् । रास्वपाबाट ९२ तथा राप्रपाबाट ९४ जना उम्मेदवार यो समूहबाट छन् । अन्य पार्टी र स्वतन्त्रका पनि यही समूहबाट बढी उम्मेदवार छन् ।
६१ देखि ७० उम्मेदवार ३५८ जना, रास्वपाबाट दुईजना
कांग्रेसबाट ४३ जना ६१ देखि ७० उमेर समूहका उम्मेदवार छन् । ७० वर्षका दुईजना छन् । त्यस्तै, एमालेबाट ४२ जना छन् । जसमा ६९ वर्षका एक जना छन् । नेकपाबाट ३२ जना छन्, तीमध्ये सातजना ७० वर्षका छन् । रास्वपाबाट यो उमेर समूहका दुईजना रहेकामा एकजना ६३ वर्षीय र अर्को ६५ वर्षीय छन् । राप्रपाबाट २७ जना छन् । तीमध्ये ७० वर्षका एकजना छन् ।
७१ देखि ८८ वर्षका ६६ जना उम्मेदवार, ८८ वर्षीय महिन्द्र राय यादव सबैभन्दा बुढो उम्मेदवार
७१ देखि ८८ वर्षसम्मका ६६ जना उम्मेदवार छन् । तीमध्ये ८० कटेका ६ जना छन् । जसमा ६ पुरुष र एक महिला छन् । सर्लाही २ बाट नेकपाका उम्मेदवार ८८ वर्षीय महिन्द्र राय यादव प्रत्यक्षतर्फका सबैभन्दा जेठा उम्मेदवार हुन् ।
त्यसपछि क्रमश: काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवार ८७ वर्षीय मदनदेव आचार्य, झापा १ मा ८३ वर्षीय हिरण्यप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवार छन् । महिलातर्फ काठमाडौं ९ मा स्वतन्त्र उम्मेदवारी दिएकी ८२ वर्षीया पञ्चकुमारी मानन्धर सबैभन्दा वृद्धा महिला उम्मेदवार हुन् ।
यो उमेर समूहमा कांग्रेसबाट सातजना उम्मेदवार छन् । चितवन ३ का ७७ वर्षीय टेकप्रसाद गुरुङ कांग्रेसबाट सबैभन्दा वृद्ध उम्मेदवार छन् ।
त्यस्तै, एमालेबाट तीनजना उम्मेदवार रहेकामा पर्सा ४ का ७८ वर्षीय जालिम मियाँ मन्सुरीसबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । यो समूहबाट नेकपाका चारजनाले उम्मेदवारी दिएकोमा सर्लाही २ का ८८ वर्षीय यादव सो पार्टीका ज्येष्ठ उम्मेदवार हुन् ।
रास्वपाबाट यो उमेर समूहका उम्मेदवार छैनन् । राप्रपाबाट नौजना यो उमेर समूहका उम्मेदवार छन् । सो पार्टीबाट ७७ वर्षीय नवलपरासी २ का ध्रुवबहादुर प्रधान सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् ।
जेन–जी अभियन्ता रक्षा बम भन्छिन्– अहिले पाँच प्रतिशतहाराहारी उम्मेदवारी स्वाभाविक मान्नुपर्छ, दुई वर्षपछि हुने स्थानीय चुनावमा सहभागिता बढ्छ
भ्रष्टाचारविरुद्ध सुशासन र तत्कालीन सरकारको तानासाहीविरुद्ध २३–२४ भदौको विद्रोहमा जेन–जी युथ स्वस्फूर्त सडकमा आए । भोलिको दिनमा राजनीति गर्छु, चुनावमा उठ्छु भनेर आएका होइनन् । २३ भदौ धेरै युवा मारिए, २४ भदौमा कल्पना नगरेको घटना भए । नयाँ परिस्थिति बन्यो, अन्तरिम सरकार गठन भयो र लोकतान्त्रिक निकासका रूपमा चुनाव घोषणा भयो । २३ र २४ गतेको छानबिन र २३ गतेको न्याय पाउनुपर्छ भन्ने हो । अर्काेतिर आन्दोलन संस्थागत गर्नुपर्छ, आफैँ सदनमा जानुपर्छ भन्ने सोचका साथीहरू पनि थिए । कलेज पढिरहेको, पिक करिअरमा काम गरेका वा भर्खर स्टार्टअप काम गर्दै गर्दा राजनीति नै मेरो करिअर हो भनेर सोच्न नसकेको अवस्था होला । इच्छा–आकांक्षा भएका साथीहरू उठिरहेका छन् । पाँच प्रतिशतहाराहारी उम्मेदवारी स्वाभाविक मान्नुपर्छ । मूल कुरा आन्दोलनको म्यान्डेट दलले पनि बोक्नुपर्छ । हामी नै संसद्मा पुग्नुपर्छ भन्दा पनि दलभित्र आन्तरिक लोकतान्त्रिक प्रणाली सुध्रिनुपर्छ । अबको दुई वर्षमा स्थानीय तह वा प्रदेश तहमा लड्न सक्छन् । त्यहाँ राम्रो सहभागिता हुन्छ । अझ पाँच वर्षमा यो उमेर समूह अझै परिपक्व हुन्छ र सहभागिता बढ्छ ।