- नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रका एक हजार किसानले अहिले करोडौँको स्ट्रबेरी बेच्छन् । यो खेतीले उनीहरूको जीवन बदलेको छ । रोजगारीका लागि विदेश र सहर झर्ने क्रमसमेत रोकेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका कट्नेबित्तिकै राता फल देख्न सकिन्छ । ककनी पुग्नेबित्तिकै अझ धेरै यस्ता दृश्य देख्न सकिन्छ । ठुलो खोलातिरै केही महिला यो फल बेच्न बसेको देख्न सकिन्छ । यो फल स्ट्रबेरी अर्थात् जापानिज ऐँसेलुको प्रजाति हो । यही फलले ककनी २ र ५ वडाका करिब एक हजार घरपरिवारलाई जीवन चलाउन सहज बनाएको छ । नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रका एक हजार किसानले अहिले करोडौँको स्ट्रबेरी बेच्छन् । यो खेतीले उनीहरूको जीवन बदलेको छ । रोजगारीका लागि विदेश र सहर झर्ने क्रमसमेत रोकेको छ । यस क्षेत्रका किसानलाई स्ट्रबेरी टिप्न भ्याइनभ्याइ छ । स्ट्रबेरीको गोडमेल, सिचाइँका लागि थप चटारो छ ।
यही चटारोमा मिसिएकी छिन्, सोममाया तामाङ । उनको यो भिरालो पाखोबारीमा पहिले मकै र कोदो फल्थ्यो । उनको परिवारलाई बल्लतल्ल खाना पुग्थ्यो । छोराछोरी पढाउन, चाडपर्व मनाउनका लागि मेलापात, ज्यामी काममा जानुपर्थ्यो । उनले यो पाखोबारीमा स्ट्रबेरी फला र लाखौँ रुपैयाँ कमाइ होला भन्ने सोचेकै थिइनन् । तर, यो खेती गर्न थालेपछि अहिले विगतका अभावमय दिनको अन्त्य भएको छ ।
एकपटक रोपेपछि ६ महिनासम्म टिप्न मिल्ने भएपछि ६ महिना ढुक्कले जीवन चल्छ । बाँकी ६ महिना पनि जसोतसो खानालाउन, घर चलाउन र छोराछोरीको शिक्षाका लागि स्ट्रबेरीले नै सहयोग पुर्याउँछ । अहिले यो क्षेत्रका सबैको आम्दानीको मुख्य स्रोत स्ट्रबेरी खेती नै भएको छ । ठिकठिकै उत्पादन भएका वेला उनलाई परिवार चलाउन पुग्छ । यदि स्ट्रबेरी खेती सप्रने भने राम्रै बचतसमेत हुन्छ । करिब १३ वर्षदेखि उनको परिवार यही खेतीमा आश्रित छ । ‘यसपालि अलि राम्रो भएन । होइन भने एकसिजनमा ६–७ लाखसम्मको बेच्छु । घर–व्यवहार चलाउन सजिलै भएको छ,’ उनले भनिन् । उनको बारीमा पहिले कात्तिकबाटै फल्न सुरु हुन्थ्यो । योपटक रोगले गाँजेका कारण राम्रो भएन । त्यसैले मंसिरबाट मात्र फल्न थाल्यो । त्यही पनि दुई महिनादेखि बेचिरहेकी छिन् । चैतसम्म फल टिप्न मिल्छ । त्यसपछि वैशाखमा फेरि बिरुवा थप्नुपर्छ ।
पाँच हजार बिरुवा हुँदै अहिले उनको बारीमा करिब १५ हजार बिरुवाले फल दिइरहेको छ । एकपटक रोपेपछि ६ महिनासम्म टिप्न मिल्छ । फल्न थालेपछि दिन बिराएर टिप्न सकिन्छ । ‘पहिले त जापानीले के बिरुवा ल्याएका होलान्जस्तो लाग्थ्यो । बिरुवा फल्न थालेपछि सबैले अलिअलि बेर्ना ल्यायो । सबै अलिअलि रोप्दा–रोप्दा धेरै भयो । एउटा बिरुवा १० रुपैयाँमा किनेर रोप्न सुरु गर्यौँ । सबैतिर राम्रै हुन थालेपछि मैले पनि रोपेँ,’ सोममायाले भनिन् ।
स्ट्रबेरीले उनको हुर्किएको दुई छोरालाई समेत नेपालमै बस्ने वातावरण बनाएको गरेको छ । काम गर्न सक्ने सबैलाई रोजगारी दिएको छ । उनका अनुसार यहाँको मान्छेलाई विदेश जानुपरेको छैन । ‘खेतबारी नै नभएको मान्छेलाई मात्र यहाँ गाह्रो हो । होइन भने एक टुक्रा बारी हुनेलाई जीवन चलाउन सहज भएको छ,’ उनले सुनाइन् ।
काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रले अहिले करोडौँको स्ट्रबेरी बेच्छ । भदौ महिनाको दोस्रो हप्ताभित्रमा रोपिसक्नुपर्ने बिरुवाले कात्तिक महिनाको अन्तिमबाटै फल दिने गर्दछ ।
७० वर्षे मस्तमायाको सहारा
उमेरले ७० वर्ष लागिसकेकी मस्तमाया तामाङको उमेर खेती गर्ने होइन । तैपनि उनले २६ वर्षअघिदेखि गर्दै आएको स्ट्रबेरी खेतीलाई चटक्क छोड्न सकेकी छैनन् । बुढेसकालमा आफ्ना लागि आवश्यक सामान आफैँ जुटाउँदै छिन् । मंगलबार स्ट्रबेरी बोकेर ठेकेदारलाई बिक्री गर्न आएकी उनलाई यो समयमा पनि स्ट्रबेरीले दु:ख हटाउन सहयोग गरेकोमा आनन्द लागेको छ । त्यसैले उनले एक क्रेट स्ट्रबेरी बोकेर ठमठम हिँड्न सकेकी छिन् ।
स्ट्रबेरी खेती गर्नुभन्दा अघि उनको परिवारले पशुपालन र मेलापातबाट गुजारा गथ्र्यो । अहिले मकै र कोदो मात्र फल्ने बारीमा उनले स्ट्रबेरी रोपेकी छिन् । चार–पाँच गरामा फलेको स्ट्रबेरी एकपटक टिप्दा १० देखि १५ केजीसम्म आउँछ । त्यसबापत दुईदेखि तीन हजारसम्म प्राप्त गर्छिन् ।
‘स्ट्रबेरी खेती गरेको धेरै भयो । यो खेतीबाट आफूलाई सामान जुटाउन, घरपरिवार चलाउन सजिलो भयो । अहिले त पहिलेजस्तो धेरै बस्तुभाउ पाल्नुपरेको छैन,’ मस्तमायाले भनिन् । उनले फलाएको स्ट्रबेरी भने गाउँमा ठेकेदारको रूपमा काम गर्ने पूर्ण तामाङलाई बेच्छिन् । पूर्णबाटै खेतीका लागि आवश्यक सामग्री लिन्छिन् । पूर्णले त्यो क्षेत्रमा कृषकलाई मल, बिउका लागि सहयोग गर्ने गर्छन् । त्यहाँ उत्पादन भएका फल निश्चित मूल्यमा बजारसम्म पुर्याउँछन् ।
मस्तमायाकै कान्छी बुहारी अकिता तामाङ पनि अहिले स्ट्रबेरी खेती नै गर्छिन् । तीन वर्षअघि मात्र यो ठाउँ आइपुगेको उनी यो खेतीमा आकर्षित भएकी छिन् । समयमै अलि मिहिनेत गर्न सक्ने हो भने यही खेतीले घर चलाउन सक्ने भएपछि उनले पनि स्ट्रबेरी खेती गर्न थालेकी हुन् । उनका अनुसार हिउँदमा गरिने यो खेतीले बर्खामासम्म घर चलाउन सहयोग गरेको छ । घरका अन्य सदस्यमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरेको छ । ‘स्ट्रबेरी खेतीले सिजनको वेला जीवन चलाउन सहज हुन्छ नै, बर्खामा केही नहुने वेलामा पनि घर चलाउन सहज भएको छ । आफूलाई चाहिने खर्च खेतीबाटै सजिलो भएको छ,’ उनले भनिन् ।
सरिताको स्थायी खेती
मस्तमायाजस्ता सयौँ परिवार र महिलाका लागि स्ट्रबेरी खेती जीवन चलाउने आधार भएको छ भने उनीजस्ता धेरै महिलालाई घर चलाउन कुनै पुरुषसँग हात थाप्नुपर्ने दिनको अन्त्य भएको छ । सरिता मोक्तानको परिवारै स्ट्रबेरी खेतीमा संलग्न छन् । उनको परिवार अहिले यही खेतीमा निर्भर छन् । उनको बुबाले सुरु गरेको यो खेतीलाई उनले पनि निरन्तरता दिएकी छिन् । २०७५ सालबाट उनी स्ट्रबेरी खेतीमा लागेकी हुन् । गाउँकै साना किसान सहकारीको प्रबन्धकसमेत रहेकी उनी आफूलाई स्ट्रबेरी खेती गर्ने कृषक नै भन्न रुचाउँछिन् । ‘प्रबन्धक त अस्थायी पेसा न हो । त्यसैले म आफूलाई कृषक नै भन्न रुचाउँछु,’ उनले भनिन् ।
सहकारीको जागिरे जीवनबाट फुर्सद निकालेर उनी स्ट्रबेरी खेती गर्छिन् । यही खेतीले उनको तीन छोराछोरीलाई पढाउन, घर–व्यवहार चलाउन थप सहज भएको छ । स्ट्रबेरी खेतीबाट उनको परिवारले मनग्य फाइदा लिएकै छ । त्योभन्दा धेरै यो खेती गाउँका युवा, एकल महिलाको सहारासमेत भएको छ । उनको परिवारले अहिले वार्षिक पाँचदेखि सातसम्म आम्दानी गर्छ । ‘यो खेतीबाट राम्रै आम्दानी हुन्छ । यही आम्दानीको कारण सहर पसेका धेरै कोरोनापछि गाउँ फर्केर खेती गर्न थालेका छन् । गाउँका युवालाई यही खेतीले नेपालमै रोकेको छ । एकल महिलाहरूलाई घर व्यवहार चलाउन, छोराछोरी पढाउनसमेत पुगेको छ,’ उनले भनिन् ।
उनका अनुसार ककनी गाउँपालिकाको वडा २ मा मात्रै करिब पाँच सय परिवार यो खेतीमा आश्रित छ । पछिल्लो समय खेती गर्ने कृषकको संख्या बढेसँगै यो खेतीमा लाग्ने रोग, किरामा धेरै लाग्ने गरेको छ । स्ट्रबेरी खेतीमा देखिएको रोग, किराको कारण खेतीमा ह्रास आउन थालेको उनले बताइन् । ‘स्ट्रबेरी खेती गर्ने मानिसको संख्या बढ्दै गएको छ । तर, एकै ठाउँमा एउटै खेती लामो समय गर्दा रोग, किराले उत्पादन घटेको छ,’ सरिताले भनिन् । स्ट्रबेरी खेतीको पकेट क्षेत्रको रूपमा रहेको ककनीको यी ठाउँ, खेतीको वृतिविकासमा भने खासै कसैको ध्यान पुग्न नसकेको उनले बताइन् । ‘स्थानीय सरकारको हातमा धेरै कुरा भएर पनि काम गर्नतर्फ ध्यान दिन सकेको छैन । स्ट्रबेरी उत्पादनमा वृद्धि, प्रशोधन, मार्केटिङलगायतका क्षेत्रमा राम्रो काम हुन सक्थ्यो । तर, त्यस्तो हुन सकेको छैन,’ उनले भनिन् ।