पहिले चुनावी गीत सभा–समारोहमा गुन्जिन्थे, अहिले युट्युब, फेसबुक र टिकटकमा सुनिन्छन्
देश निर्वाचनको संघारमा छ । सभा–समारोह र घरदैलोमा उम्मेदवार व्यस्त छन् । उनीहरूसँग मतदातालाई रिझाउने प्रतिबद्धताका सूची मात्रै छैनन्, मतदातालाई आकर्षित गर्ने गीतसंगीत पनि सँगै घन्किरहेका छन् । उता उम्मेदवारलाई मतदाताको दैलोमा पुग्न भ्याइनभ्याइ छ । यता पार्टी निकटका कलाकारलाई पनि चुनावी गीत तयार पार्न भ्याइनभ्याइ छ ।
नेकपा एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघका सचिव तथा गायक अमृत खाती यतिवेला व्यस्त छन् । यसपटक एमालेको चुनाव प्रचारका लागि ४०–५० वटा गीत बनाउने तयारी रहेको उनको भनाइ छ । मतदाताको चेतनास्तर फेरिँदै गएकाले ‘सूर्यमा भोट हालौँ, एमाले जिन्दावाद’जस्ता शब्द कम प्रयोग गरेर गीत सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘जनताको मनोभावना, देशको परिस्थिति र समयलाई बुझेर गीत बनाउनुपर्नेछ । एमालेको आफ्ना एजेन्डा देशभर फैलाउने उद्देश्यले गीत–संगीतलाई माध्यम बनाउने योजना छ ।’
गायक विमलराज क्षेत्री नेपाली कांग्रेसको चुनावी प्रचारका लागि गीत सिर्जनामा व्यस्त छन् । ‘पार्टीका लागि विगतदेखि निरन्तर यही काम गर्दै आएको छु’, उनी भन्छन्, ‘यसपटक पार्टीका लागि गीत–संगीतको सिपाहीका रूपमा काम गर्छु ।’
नेकपानिकट गायक चेतन सापकोटा यसपटक पार्टीबाट चुनावी गीत गाउन कुनै प्रस्ताव नआएको बताउँछन् । ‘अघिल्ला चुनावमा भने पार्टीले बजेट छुट्याएर चुनावी गीत बनाउन लगाउने चलन थियो । अहिले भने स्वस्फूर्त रूपमा पार्टीका लागि काम गर्नेबाहेक आधिकारिक संरचना सक्रिय छैन । विगतमा धेरै चुनावी गीत गाएँ,’ सापकोटा भन्छन् ।
चुनावी गीत बने नेताको स्तूतिगान
२०४६ पछिका चुनावमा चुनावी गीत अत्यधिक प्रयोग भएको देखिन्छ । पञ्चायतविरुद्ध लड्ने वेला चुनावी गीतभन्दा प्रगतिशील, जनवादी गीत जनतामाझ चर्चित थिए । ‘गाउँगाउँबाट उठ...,’ ‘आमा दिदी–बहिनी हो...’जस्ता गीत आममानिसले चुनावताका मात्रै सुनेनन्, अघिपछि धेरै सुने । जनयुद्धका वेला जनवादी गीत अत्यधिक गाइयो । गणतन्त्रपछि चुनावी गीत र जनताका गीतबिचको फरकपन हराउँदै गयो । जनताका गीत गाउनेहरू ओझेल पर्दै गए । चुनावी गीत गाउनेहरू नेताका वरिपरि घुम्न थाले । ती वरिपरि घुम्नेहरूले जनताको गीत भन्दै पार्टीका गीत गाए, चुनावी गीत भन्दै नेताको स्तूति गाए ।
०७४ को निर्वाचनमा लोकगायक बद्री पंगेनीले गाए, ‘सै पनि एमाले, मैँ पनि एमाले ।’ पंगेनीले नै गाए, ‘अघिअघि प्रचण्ड, पछिपछि हामी नेपाली ।’ ०७९ को चुनावमा यो क्रम टुटेन । त्यसवेला गाएको चुनावी गीत यस्तो थियो :
झुपडी र महलमा ओली
ठाउँठाउँमा ओली
सूर्यको जित छ भोलि
आउँदै छन् केपी ओली ।’
२०७९को निर्वाचनमा प्रताप पौडेल र अमृत अधिकारीको शब्द, शिव हमालको संगीतमा कृष्ण रेउले र काव्य आचार्यको स्वरमा एउटा चुनावी गीत यस्तो थियो :
एउटा युगमा एउटा नेता एकपटक आउँछ
यो युगको हाम्रो नेता गगनजस्तो लाउँछ
यो युगको नेता जिताऊँ रुखमा भोट हाली
समुन्नत नेपाल सम्मानित नेपाली
आमाबुबा, दिदीबहिनी भन्छन् दाजुभाइ
गगन दाइ हाइहाई... गगन भाइ हाइहाई
२०७९कै निर्वाचनमा माओवादी समर्थित चेतन सापकोटा र स्मिता दाहालले गाएको गीत यस्तो थियो :
रोल्पाबाट प्रचण्डले गणतन्त्र ल्याए
गोर्खाबाट समृद्धिको यात्रा भयो तय
यिनैले हो समाजवादको सोझो मार्ग कोर्ने
प्रचण्डकै नेतृत्वमा आर्थिक क्रान्ति गर्ने
अरू कुरा था छैन
गठबन्धनलाई नजिताई भाछैन
प्रचण्डले सोचेजस्तो गर्नै पाछैन
२०७९ को चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल पनि चुनावी गीतको दौडबाट अलग रहेन । अध्यक्ष राजेन्द्र लिङ्देनको नाम जोडिएको गाइएको गीत यस्तो थियो :
‘पूर्णिमाको जुनजस्तै चम्क राजेन्द्र,
हामी तिम्रो पछि छौँ चम्क राजेन्द्र
नयाँ पार्टीहरूले पनि चुनावी गीतमा पुरानै मार्ग
पछ्याएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गीतले भन्छ :
जसरी नि हसाउनु छ नेपाल आमालाई
नेपाल आमा हसाउन आउनुस् रवि दाइ
हाइहाई रवि दाइ...
चुनाव नजिकिँदै गर्दा युट्युबमा ‘उज्यालो नेपाल पार्टी आयो’ भन्ने गीत पनि सार्वजनिक भइसकेको छ । चुनावी गीतहरू कुनै पार्टीको आधिकारिक च्यानलबाट आउँछन्, कुनै समर्थकको नाममा । अधिकांश गीतमा नेताहरूलाई ‘उद्धारकर्ता’, ‘देशको आशा’, ‘युगपुरुष’जस्ता शब्दले देवत्वकरण गरिएको देखिन्छ । चुनावी गीतमा जनताको मुद्दाभन्दा दलको स्वार्थ, नेताको महिमामण्डन, विचारभन्दा प्रचार, प्रश्नभन्दा प्रशंसा बढी गरिएको देखिन्छ ।
संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई व्यक्तिको देवत्वकरण गर्दै गाइने चुनावी गीत आफैँमा अर्थहीन रहेको टिप्पणी गर्छन् । ‘विचारमा आधारित पार्टीको गीत गाउँदा केही फरक पर्दैन । तर, अहिले व्यक्तिलक्षित गीत गाउने प्रवृत्ति बढ्दो छ, यो ठिक होइन,’ राई भन्छन् ।
संगीतकार श्यामश्वेत रसाइली चुनाव नजिकिँदै जाँदा स्टुडियोमा चुनावी गीत रेकर्ड गर्नेको संख्या बढेको बताउँछन् । ‘चुनाव कलाकारका लागि काम पाउने समय हो,’ उनी भन्छन्, ‘चुनावी गीतमा विचार, जनताका मुद्दा, सुशासनको भाव केही पनि हेरिन्न, ‘हिट’ हुन्छ कि हुन्न सबै यसैमा केन्द्रित छन् ।’
रसाइलीका अनुसार अधिकांश चुनावी गीतमा व्यक्तिको गुणगान पाइन्छ । उनी भन्छन्, ‘चुनावी गीतमा जनता जाग्ने, हक–अधिकारको कुरा गर्ने शब्द नै आउँदैन । दलित, महिला र उत्पीडित समुदायका विषय, उनीहरूको अधिकार र आवाज समेटिएका गीतमा संगीत गर्न पाइएको छैन ।’
गायक विमलराज क्षेत्री चुनावी गीतलाई पार्टीप्रतिको प्रतिबद्धताको अभिव्यक्ति मान्छन् । ‘चुनावी गीत भनेको सामान्य गीत होइन । यसले पार्टीको सन्देश बोकेको हुन्छ । गीत गाउने कलाकार प्रचारकजस्तै हुन्छ,’ उनी भन्छन्, ‘गीतले कति प्रभाव पार्योे भन्ने कुरा मापन गर्न गाह्रो छ । तर, चुनावी गीतले पार्टीलाई राम्रै गरेको हुन्छ ।’
चुनावी गीत जनताको मुद्दाभन्दा पनि मत बटुल्ने औजार बनेको देखिन्छ । संगीतकार बिबी अनुरागीका अनुसार चुनावी गीतमा हरेक समुदायको मुद्दालाई समेटिएकोजस्तो देखाइन्छ । ‘नेताहरू भाषणको बिच–बिचमा कलाकारलाई गीत गाउन लगाउँछन् । समुदायको प्रतिनिधित्व देखाउने नाममा पार्टीहरूले कलाकारलाई प्रयोग गर्दै आएका छन् । पार्टीलाई सहयोग गरेबापत अवसर पाउने आसमा धेरै कलाकार चुनावी गीतमा खटिने गर्छन्,’ उनी भन्छन् ।
अनुरागीका अनुसार पार्टीहरू चुनावको समयमा दलित, उत्पीडित र सीमान्तकृत समुदायप्रति सहानुभूति देखाएजस्तो गर्छन्, तर चुनाव सकिएपछि उनीहरू नै आरक्षणको विरोध गर्छन् । दलित शब्द हटाउनुपर्छ भन्दै कराउँछन् ।
गायक बद्री पंगेनी कुनै राजनीतिक दलको चुनावी गीत गाउनेबित्तिकै उसलाई ‘झोले’ भन्दै ट्याग लगाउनु दु:खद रहेको बताउँछन् । उनी भन्छन्, ‘लोकतन्त्रमा आफूले मन पराएको दल, विचार वा व्यक्तिलाई रोज्ने अधिकार हुनुपर्छ । मैले चुनावी गीत व्यक्तिगत फाइदाका लागि कहिल्यै गाएको छैन । कुनै नेता वा पार्टीले देशका लागि राम्रो गर्ला भन्ने विश्वासका आधारमा गाएको हुँ ।’
विगतका धेरै व्यक्ति र दलले जनताको अपेक्षाअनुसार काम नगरेको उनको गुनासो छ । यही कारण यसपटक चुनावी गीत नगाउने सोच बनाएको पंगेनीको भनाइ छ । ‘गीत गाउने प्रस्ताव आए पनि अहिलेसम्म गाउने उत्साह छैन,’ उनी भन्छन् ।
चुनावी गीतमा एआईको प्रयोग
यसपटक एआईद्वारा सिर्जित चुनावी गीत पनि बाक्लै देखिएका छन् । सामाजिक सञ्जालमा एआईले सिर्जना गरेका उम्मेदवारका प्रतिबद्धता र योजना पनि देख्न सकिन्छ । कतिपयले एआईको प्रयोग गरेर गीत बनाएका छन् । भिडियोसमेत एआईबाटै बनाएर युट्युबमा राखेका छन् । युट्युबमा राखिएको एउटा गीत यस्तो छ, ‘छोडौँ अब कांग्रेस र एमाले, देशैभरि घन्टी बजाऊँ सबैले ।’ स्वर, संगीत, भिडियो सबै एआईद्वारा सिर्जना गरिएका छन् । यस्ता भिडियो युट्युबमा छ्यासछ्यास्ती पाइन्छ । सबै भिडियो हजारौँले हेरेका छन् ।
संगीतकार अर्जुन पोखरेलका अनुसार यसपटकको चुनावी माहोल भने अघिल्ला चुनावभन्दा फरक देखिन थालेको छ । एआईको प्रवेशसँगै चुनावी गीतको स्वरूप, सिर्जना प्रक्रिया र प्रभावकारिता बदलिँदै गएको उनको बुझाइ छ । उनको अनुभवमा स्टुडियोमा ठुलो खर्च र समय लगाएर चुनावी गीत रेकर्ड गर्ने चलन कम भएको छ । ‘अब एआईबाटै चुनावी गीत बनाएर प्रयोग गर्ने सम्भावना बढ्दै गएको छ,’ उनी भन्छन्, ‘एआई प्रविधिबाट गीत बनाउँदा खर्च कम पर्छ, भन्न खोजेको कुरा छिटो र सजिलै प्रस्तुत गर्न सकिन्छ । एआईबाट एकै रातमा धेरै गीत बन्न सक्छन् । त्यसैले चुनावी प्रचारमा एआईको प्रयोग बढ्न थालेको छ ।’
गायक चेतन सापकोटाका अनुसार अघिल्लो र अहिलेको चुनावी गीतबिच ठुलो अन्तर छ । अहिले चुनावी गीत एआई प्रविधिबाट बन्न थालेको उनको भनाइ छ । ‘खर्चिलो प्रक्रिया भन्दा पनि प्रविधिको प्रयोगमार्फत सजिलै गीत बनाउने प्रवृत्ति बढेको छ । एआईले मागअनुसार गीत, अडियो र भिडियो तयार गरिदिने भएकाले मान्छेको संलग्नता घट्दै गएको छ,’ उनी भन्छन् । उनको अनुभवमा पहिले चुनावी गीत सभा–समारोहमा गुन्जिन्थे । अहिले युट्युब, फेसबुक र टिकटकमा गुन्जिन्छन् ।
चुनावी गीतको म्याद
चुनाव सकिएपछि ती गीत न सार्वजनिक कार्यक्रममा बज्छन्, न कलाकारले नै गाउँछन् । किनकि, ती गीत समयसँग बाँधिएका हुन्छन् । सन्दर्भ सकिएपछि गीतको अर्थ पनि सकिन्छ । संगीतकार बिबी अनुरागीका अनुसार चुनावी गीत प्रचार सामग्री भएकाले त्यसमा गहिरो राजनीतिक बहस अपेक्षा गर्नु गलत हो । चुनावी गीत भनेको नाराजस्तै हो । नारा छोटो हुन्छ ।
उनका अनुसार चुनावी गीत रेकर्ड हुनुको मुख्य उद्देश्य बढीभन्दा बढी प्रचार हो । कुन उद्देश्यले गीत बनाइएको छ भन्ने कुराले नै यसको अर्थ निर्धारण गर्छ । गीतमा आकर्षक शब्द र नारा राखिन्छन्, तर ती शब्दअनुसार व्यवहारमा काम नगर्नु बेइमानी हो । व्यवहारमा सम्भव नहुने आश्वासन गीतमा प्रस्तुत गर्ने प्रवृत्ति व्यापक छ, जसका कारण चुनाव सकिएसँगै ती गीतको आयु पनि सकिन्छ ।
संगीतकार अर्जुन पोखरेल चुनावी गीत पार्टीका शीर्ष नेतामाथि केन्द्रित भएर सिर्जना हुने प्रवृत्ति अझै बढ्दै गएको बताउँछन् । ‘उनी भन्छन्, ‘प्रचार–प्रसारका लागि बनाइने सबै कुरा सधैँ सही वा दीर्घकालीन हुँदैनन् । यी गीत क्षणिक समयका लागि बनाइन्छन् ।’
गायक विमलराज क्षेत्रीको बुझाइमा हरेक राजनीतिक पार्टीका आफ्नै सिद्धान्त र दर्शन हुन्छन् । त्यसैले, उनी चुनावी गीतलाई नेताको भाषणसँग तुलना गर्छन् । ‘चुनावी गीत आमसभामा गाइने गीतजस्तै हो, एउटा समयका लागि हुन्छ, तर पार्टीको सिद्धान्त, घोषणा–पत्र र जनताको मुद्दासँग जोडिएका गीत भने दीर्घकालीन हुन्छन् । प्रचारका लागि बनाइने गीत समयसँगै हराउन सक्छन्, तर विचार र सिद्धान्त बोकेका गीत भने लामो समयसम्म स्मरणमा रहन्छन् ।’
चुनावी गीतमा कलापक्ष कमजोर छ : श्रवण मुकारुङ, गीतकार
चुनावी गीत उद्देश्यमूलक गीत हो । यस्तो गीतले देश बनाउने कुरा गर्छ, समाज परिवर्तनको कुरा गर्छ । त्यसैले, चुनावी गीत आफैँमा नराम्रो होइन, यसलाई हल्का रूपमा हेर्नुहुँदैन । तर, गीत कस्तो बन्छ भन्ने कुरा त्यसलाई सिर्जना गर्ने स्रष्टाको क्षमतामा भर पर्छ । गीतमा कति कला भर्न सकियो ? कति गहिरो भाषा दिन सकियो ? सन्देशलाई कति प्रभावकारी बनाइयो ? यी सबै कुरा स्रष्टाले निर्धारण गर्छ ।
चुनावी गीत राजनीतिक र वैचारिक हुनुपर्छ । यो साधारण विषय भने होइन । गीतसंगीतले प्रेम–मायाको कुरा मात्र गर्दैन । देश विकास, ठाउँको विकास, जनताको समस्या, सुशासन र लोकतन्त्रको कुरा गर्छ । यसले सार्वजनिक र सामाजिक सन्देश बोकेको हुन्छ । तर, यसलाई चुनावको समयमै मात्र प्रयोग गरिन्छ । त्यसैले, हल्काजस्तो अनुभूति हुन्छ । स्रष्टाले पनि धेरैजसो निश्चित समयका लागि मात्रै गीत सिर्जना गर्छन् । त्यसैले, दीर्घकालीन प्रभाव पार्न सक्दैन ।
महत्वपूर्ण कुरा गीत कस्तो बन्यो भन्ने हो । नेपाली चुनावी गीत साँच्चै उत्कृष्ट बनेको धेरै सम्झना छैन । चुनावी गीतमा कलापक्ष कमजोर छ । यदि कला बलियो हुन्थ्यो भने ती गीतले लोकतन्त्रका पक्षमा बलियो पैरवी गर्न सक्थ्यो । चुनावको तीन–चार दिनअगाडि मात्रै गीत बनाउने चलन छ । त्यसरी बनाइएका गीत राम्रा हुँदैनन् । समय लिएर, सोचेर, तयारी गरेर बनाएको गीत भने सधैँका लागि पनि हुन सक्छ ।
चुनावी गीतको उद्देश्य प्रचार नै हो । प्रचार भनेको प्रभाव पार्नु हो । ‘समाजका लागि राम्रो गर्छु’ भनेर जनतालाई भन्न खोज्नु हो । तर, कसरी भन्यौँ ? कसरी प्रस्तुत गर्यौँ ? यही नै मुख्य कुरा हो । अहिलेका धेरै चुनावी गीतमा सीधै नारा लेखिन्छ । तर, उत्कृष्ट कला, भाषा र शैली प्रयोग गर्न सके चुनावी गीत साँच्चै उत्कृष्ट बन्छ ।
जनताको समस्या, सुशासन, लोकतन्त्रका विषय समेटिएका गीत बन्दा राम्रो हुन्थ्यो । तर, उम्मेदवारको ‘भजनकीर्तन’जस्ता चुनावी गीत बनेका छन् । त्यसमा कला हुँदैन । तत्काल गाउँ–टोलमा माइकमा बजाउन, बजारमा घन्काउनका लागि मात्रै बनाइएको देखिन्छ । कतिपय स्रष्टाले सत्तानजिक हुन, नेता रिझाउन पनि गीत बनाएको देखिन्छ ।
अहिले छोटो समयका लागि मात्रै गीत लेखिन्छ । तर, राम्रो गीत बन्यो भने अर्काे चुनावमा पनि चलाउन सकिन्छ । अहिले त उम्मेदवारको नामै लिएर गीत लेखिन्छ । हरेक चुनावमा उम्मेदवार फेरिन्छन्, गीत पनि फेरिन्छन् । तर, सिद्धान्त, विचार र जनताका मुद्दा बोकेको गीत भने सधैँ चल्न सक्छ ।
नेताहरूले भाषणभन्दा गीत–संगीतमार्फत कुरा राख्दा बढी प्रभाव पर्छ भन्ने बुझेका छन् । गीतमार्फत सन्देश बढी सम्प्रेषणीय हुन्छ । यही नै कलाको शक्ति हो । केही गीत राम्रा पनि बनेका छन् । चुनावी गीत सधैँका लागि पनि बन्न सक्छ । तर, त्यसका लागि कला पक्षमा गम्भीर ध्यान दिनुपर्छ । सर्वमान्य, दीर्घकालीन चुनावी गीत बनाउनु सजिलो छैन । यो आफैँमा चुनौतीपूर्ण काम हो । यसका लागि समय लाग्छ ।
– कुराकानीमा आधारित