नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले पार्टी जोगाउन शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे।
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै नेता कोइरालाले आगामी निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी नभएको विषय प्रस्ट्याउँदै उनले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएको हो।’
विशेष महाधिवेशन पार्टीको एक प्रक्रिया मात्र भएको उल्लेख गर्दै उनले भने, ‘यो पार्टीको आन्तरिक प्रक्रिया हो। आज डा. डिला संग्रौला र म एकै ठाउँमा छौँ, निर्वाचनको दौडमा सँगै हिँडिरहेका छौँ। त्यसैले अब महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ।’
आफू सांसद रहँदा नीति निर्माण, सुशासन र जनताको जीवन सहज बनाउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै नेता कोइरालाले संसदभित्र र बाहिर भ्रष्टाचारविरुद्ध आवाज उठाएको बताए। ‘सांसदका रूपमा रहँदा म सधै सुशासन र भ्रष्टाचारविरुद्ध लडिरहेँ,’ उनले भने।
छलफलका क्रममा उनले सो क्षेत्रका जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको दाबी गर्दै पार्टी फुटाएर अघि बढ्नुभन्दा पार्टीलाई एकताबद्ध बनाएर निकास दिनु नै उत्तम विकल्प भएको बताए। पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व आफूहरूको रहेको भन्दै त्यसैअनुसार आफूले मध्यमार्गी बाटो समातेको उनको भनाइ थियो।
कार्यकर्ता भेटघाटमा नेता कोइरालाले विगतमा पार्टीभित्र भएका कमजोरी स्वीकार गर्दै अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। निर्वाचनले मुलुकलाई निकास दिने भएकाले यसपटक कांग्रेसलाई जिताउन सबै एकताबद्ध भएर भूमिका खेल्नुपर्ने उनले बताए।